Wednesday, December 12th, 2018
टाउको दुख्ने समस्या (स्वास्थ्य)

टाउको दुख्ने समस्या (स्वास्थ्य)

टाउको दुख्ने समस्या हरेक उमेरका महिला या पुरुषलाई लाग्ने पिडादायी रोग मध्येको एउटा हो । झट्ट सुन्दा टाउको दुख्नु सामान्य लक्षण जस्तो लागे पनि हजारौ मानिस यो रोगबाट पिडित छन् । लक्षण सामान्य लागे पनि यो रोग निकै प्रकारका हुन्छन् । त्यसमा पनि माइग्रेन नामको टाउको दुख्ने समस्या त झनै पिडादायी हुन्छ । आजको अंकमा टाउको दुख्ने रोग र उपचार बारे चर्चा गर्नेछु ।

हाम्रो शरीरको मुख्य अंग मस्तिष्कलाई सुरक्षित राख्न मस्तिष्कको बाहिर वरिपरि कडा हाडहरुको समूह मिलेर बनेको हुन्छ । यो हाडहरुको समूहलाई स्कल भनिन्छ । स्कलले हाम्रो कोमल मस्तिष्कलाई सुरक्षित मात्र राख्दैन, हरेक मानिस या जनावरको टाउको र अनुहारको पनि निर्माण गर्दछ । यिनै टाउका र अनुहारमा रहेका हाडहरुको बनावटबाट नै हाम्रो अनुहार र टाउकाको आकार कस्तो भन्ने निर्धारण हुन्छ । टाउकामा रहेका हाडहरुलाई छोप्ने र सुरक्षित राख्ने मांसपेशी र छालाको तह एक आपसमा मिलेर बसेको हुन्छ । टाउकाको भाग कपाल सहितको छालाले ढाकेको हुन्छ भने अनुहारको भाग नरम मांसपेशी र छालाले । विभिन्न रक्त नसा, आँखा, मुख, नाक र नसाहरुको समूहले सुसन्जित हाम्रो शरीरको प्रमुख भाग हो टाउको र अनुहार ।

टाउको दुख्नु भनेको यिनै माथि भनिएका विभिन्न अंगहरुलाई विभिन्न प्रकारका बाहिरी या भित्री कारणहरुले अनावश्यक रुपमा रगतको प्रवाहलाई असर गर्दा होस या नसाहरुमा उत्तेजना उत्पन्न हुँदा होस अथवा मस्तिष्कमा नै कुनै प्रकारको संक्रमण जन्य रोगबाट ग्रसित भएको अवस्था या मानसिक रुपमा देखा परेका विभिन्न खाले कारणहरुले होस टाउको दुख्न सक्छ । त्यसैले टाउको दुख्यो भनेर बस्नु या नदुख्ने दबाइको सेवन गर्नु भन्दा के कारणले टाउको दुखेको हो भन्ने कारण पत्ता लगाउनु जरुरी हुन्छ । विभिन्न कारणबाट टाउको दुख्ने मध्ये एउटा हो पिनास अर्को माइग्रेन अथवा केही दिन या हप्ताको फरकमा ठाउँ फेरी फेरी या सोही ठाउँमा अत्यन्तै कडा टाउको दुख्नु । यसरी नै उच्च रक्तचापका कारण निधारमा या पछाडि दुख्ने टाउको , तनावका कारण दुख्ने टाउको या मानसिक समस्याका कारण दुख्ने मन्द खालको टाउको दुखाई अथवा मस्तिष्कको कुनै भागमा टियूमर पलाएका कारण या अन्य बिरामीका कारणबाट दुख्ने टाउको जस्तै मस्तिष्क ज्वरो, टायफाइड या अन्य कुनै विरामका कारण टाउको दुख्न सक्छ । यसरी नै पेटको समस्या जस्तै गाउँले भाषामा भन्दा ग्याष्ट्रिकका कारण या आँखामा आएको समस्याका कारण पनि टाउको दुख्ने हुँदा सचेत हुनु जरुरी हुन्छ ।

मानिसको टाउको दुख्ने विभिन्न कारणहरु हुन सक्छन् । सर्वप्रथम त कारण पत्ता लगाउनु जरुरी हुन्छ र उपचार पनि सहज हुन्छ । माथि भनिएका विभिन्न प्रकारका टाउको दुखाइका आ–आफ्नै कारणहरु हुन्छन् तर यकिन कारण पत्ता लाग्न नसकेका कारण उपचार पनि अधुरो रहेको मध्ये माइग्रेन एउटा हो । माइग्रेन बाहेकका अन्य टाउको दुख्ने समस्याको भने उपचार राम्रो देखिन्छ । यसको अर्थ माइग्रेनको भने उपचार नै छैन भन्ने होइन । विशेष प्रकारका औषधीबाट माइग्रेनको उपचार हुने गरेको छ तर पनि कति बिरामीहरु आज पनि पिडा सहेर बाँच्न बाध्य छन् । यसरी नै पिनासका कारण टाउको दुखेको हो भने यसको सही उपचारबाट ठिक हुन्छ ।

तनावका कारण या उच्च रक्तचापका कारण दुखेको हो भने कारण अनुसारको औषधी सेवन गर्नु पर्छ । अन्य बिरामीका कारण दुखेको भएमा सोही अनुसारको उपचार हुन्छ । टाउको धेरै प्रकारले दुख्ने गर्छ । टाउको दुखाइको तरिका र समय अनि कुन भागमा दुखेको हो त्यसका आधारमा रोग पत्ता लगाउन सकिने हुँदा हरेक बिरामीले आपmनो पिडा कसरी, कतिबेला, कुन पाटामा धेरै, कुन मौसममा धेरै अनि टाउको दुखाइसँग के के अन्य लक्षणहरु देखा पर्छन् ध्यान दिएर सम्झनु पर्छ । यसले चिकित्सकलाई रोग के हो र के कारणले भएको हो भन्ने कुरा पत्ता लगाउन सहज हुन्छ । बिरामीको सम्पूर्ण जाँचबाट पनि कारण पत्ता लाग्न सकेन भने टाउकाको सिटी स्क्यान र अन्य जाँचका साँथै पारिवारिक, समाजिक र आर्थिक कारण पनि हुन सक्छन् । त्यसको पनि राम्रो पहिचान हुनु जरुरी छ ।

उपचार

टाउको दुख्ने लक्षण धेरै मानिसमा भए पनि यसलाई सामान्य रूपमा लिएर दैनिकी चलिरहेको हुन्छ । दुखेका बेलामा दुखाई कम गर्ने औषधी सेवन गरेर धेरैको दैनिकी चलिरहेको हुन्छ । दुखाई कम गर्ने औषधीको सेवनले गर्ने नकारात्मक असरबाट पेटको समस्या देखापर्ने, आन्द्रामा घाउ हुने, अम्लपित्त बढ्ने, निन्द्रा नलाग्ने, मृगौलामा समस्या आउने जस्ता लक्षणहरु पनि टाउको दुखाई सँगै देखापर्न थाल्छन । त्यसैले पहिलो कुरा त टाउको दुख्यो भनेर जतासुकैबाट विना चिकित्सकको सल्लाह दुखाइ कम गर्ने औषधी सेवन गर्नु हुँदैन । एक पटक चिकित्सकको परामर्शमा मात्र कुन औषधी र कुन अवस्थामा सेवन गर्ने हो सो को जानकारी लिनु उचित हुन्छ । एक पटक चिकित्सकलाई देखाए पछि के कारणले टाउको दुखेको हो र कस्तो परहेज अनि कस्तो कस्तो औषधीको सेवन गर्नु पर्छ या के के जाँच गर्नु गराउनु पर्छ थाहा हुन्छ जस्तै आँखाको समस्या भए आँखाको चिकित्सक कहाँ जान सुझाव दिन्छन् । कान या घाटीका समस्या भए सम्बन्धित चिकित्सक या अन्य मानसिक समस्या भए मनोचिकित्सक सँग जाने सल्लाह पाइने हुँदा हरेक टाउको दुखिरहने बिरामीले एक पटक जचाँउन जानु जरुरी हुन्छ । यसको मुख्य फाइदा भनेको अनावश्यक दुखाइ कम गर्ने औषधीको साइड इफेक्टबाट बच्नु हो ।

Share This: