Wednesday, January 23rd, 2019
अहिले नै हलिउड फिल्म नगर्ने सोचमा टाइगर

अहिले नै हलिउड फिल्म नगर्ने सोचमा टाइगर

बलिउड फिल्म उद्योगका एक्सन र डान्सका कारण दर्शकको मन जित्न सफल अभिनेता टाइगर श्राफले २०१८ मा ‘बागी २’ जस्तो सुपरहिट फिल्ममा अभिनय गरे ।

साथै २०१९ मा उनी ‘स्टुडेन्ट अफ द इयर २’ र अभिनेता ऋतिक रोशनसँगको फिल्ममार्फत दर्शक माझ आउँदैछन । यी फिल्महरुको अहिलेदेखि नै चर्चा भइरहेको छ । टाइगर श्राफको चर्चा बलिउडमा मात्रै नभइ हलिउडमा समेत भइरहेको छ । उनलाई हलिउडबाट एकपछि अर्को गर्दै अफरहरु आइरहेका छन् ।

खबरहरुका अनुसार टाइगरले पनि उनलाई प्रस्ताव गरिएका अफरहरु स्वीकार गर्दै हलिउड जाने मन बनाइसकेका थिए । तर अहिले भने उनले हलिउड जाने सोच बदलेका छन् । टाइगर श्राफले २०१९ मा हलिउडका कुनै पनि प्रोेजेक्टका अफरहरुलाई स्वीकार गर्ने छैनन् ।

किनकि टाइगरलाई उनका पिता ज्याकी श्राफले अहिले नै हलिउड जान हतार गरिहाल्न नहुने सल्लाह दिएका छन् । ज्याकीले बलिउडमै अझै सफलता हासिल गरेर धेरैभन्दा धेरै दर्शकको मन जितेपछि मात्रै हलिउड जाने सल्लाह दिएका छन् ।

टाइगरले आफू अहिले नै हलिउड जाँदा उनका बलिउडका सहकर्मी अभिनेताहरु उनीभन्दा निकै अघि बढ्नसक्ने कुरा बुझिसकेका छन् । तसर्थ टाइगरले बुवाको सल्लाहलाई मनन् गर्दै बलिउडमा आफ्नो बलियो पकड बनाइसकेपछि मात्रै हलिउडमा आफ्नो करियरको सुरुवात गर्ने सोच बनाएका छन् ।

Share This: