Wednesday, January 23rd, 2019
भाउजु (कथा)

भाउजु (कथा)

गाडी तीव्र गतिमा हुइकिदै थियो । रातको अन्धकारमा बाहिरका वस्तुहरु सबै छायाँ जस्तो मात्र देखिन्थ्यो । गाडी भित्रको लाइट पनि अफ थियो । मात्र ड्राइभरको क्याविन भित्रको एउटा लाइट बलीरहेको थियो । प्रायः सबै यात्रुहरु मस्त निन्द्रामा थिए तर विजयाको आँखामा भने निन्द्रा थिएन । उसको मनमा बारम्बार एउटै कुरा आइरहेको थियो कि कसै गरी पनि दमक जान नपाए हुन्थ्यो । उसको मन डढी रहेको थियो । अगाडि सिटमा सुरेश जेठा छोरा सन्देश सँग मस्त निन्द्रामा थिए । विजया सानो छोरा सौरभलाई लिएर पछाडिको सीटमा बसेकी थिई । सौरभ पनि मस्त निन्द्रामा थियो । यसपटकको दशैं विदामा उनीहरु सपरिवार काठमाण्डौबाट दमकको घर ,जहाँ उसकी सासु, जेठाजु, जेठानी तथा नानीहरु थिए, कहाँ जादै थिए । विजया कि सासू बिरामी भई रहन्थीन् । त्यसैले यसपटक सबैले सँगै मिलेर दशैं मनाउने भनी सासूले बारम्बार फोन गरेर बोलाए पछि सुरेश तुरुन्त घर जान तयार भए ।

घर जाने नाम सुन्ना साथ विजयालाई भने काँडाले घोचे जस्तै भयो । उ नजाने बहाना खोज्न थाली तर नानीहरु पनि घर जाने भने पछि फुरुङ्ग भए । विजयाले आफ्नो धेरै छुट्टी नभएको बहाना बनाई । त्यसपछि सुरेशले नानीहरुलाई भने आफू सँगै लिएर जाने कुरा ग¥यो । त्यो सुनेर विजया झसङ्ग भई । उसले घर नगई सुखै पाइन । उसलाई बारम्बार पहिला पहिलाको कुराहरु याद आइरहेको थियो । उ बैंकमा जागीरे थिई । सुरेश र उसको दाजु रमेश जम्मा दुई भाइ थिए । विजया बिहे भएर जब घरमा आई, त्यसबेला सर्वत्र सुरेशकी भाउजु रविनाको गुनगान हुन्थ्यो । सुरु सुरुमा विजयाले सबै कुरा सामान्य रुपमा लिई । तर समय बित्दै जादा उसको मनमा रविना प्रति इष्र्या उत्पन्न हुुँदै गयो र क्रमशः
बढ्दै गयो ।

विजया जागीरे थिई भने रविना पूर्ण रुपमा गृहिणी । उसले घरको जिम्मेवारी राम्रो सँग पूरा गरेकी थिई । हरेक सदस्य उ सँग सन्तुष्ट थियो, मात्र विजया असन्तुष्ट थिई । सुरेश त रविनालाई आमा भन्दा बढी मान्थे । विजयाकी सासू समेत रविना सँग सल्लाह लिने गर्थिन् । सबैको मुखबाट रविनाको प्रशंसा विजयाका लागि असह्य हुँदै गयो । उसलाई रविना सबैका अगाडि प्यारो हुन देखावटी गरी रहेकी छे जस्तो लाग्थ्यो जबकी रबिनाले उसलाई आफ्नी बहिनी जस्तै प्यारो गरेकी थिई । बिहानको छ बजी सकेको थियो र गाडी आफ्नो गन्तब्यमा आई पुगेको थियो । सुरेशले विजयालाई झक्झकाउदै हिंड्ने ईशारा ग¥यो र सामान बोक्न थाल्यो । उनीहरुले एउटा रिक्सा लिए र घर तिर लागे । बाटोमा फेरि विजयाको मनमा पहिलाको कुरा खेल्न थाल्यो । एक पल्ट सुरेशलाई निमोनिया भएर हस्पिटल भर्ना गर्नुुप¥यो । त्यसबेला रविना निकै चिन्तित थिई । ऊ दिनरात सुरेशको स्याहार गर्न थाली । विजयाले विरोध जनाउदा म छदैछु नि तिमी अफिस जाउ भनी । पछि सबैले रविनाकै गुनगान गरे तर यस घटनाले विजयाको मनमा शंकाको बिउ रोप्यो । उसलाई देवर भाउजुको सम्बन्धमा शंका लाग्न थाल्यो । विजयाका दिदि भेना काठमाण्डौमा थिए । त्यसैले उसले गोप्य रुपमा भेनालाई भनेर आफ्नो सरुवा काठमाण्डौ गर्न लगाई । त्यसबेला उ सन्देशकी आमा भई सकेकी थिई । सुरेश क्याम्पसमा प्रोफेसर थियो । ऊ काठमाण्डौ आउन हतपत तयार थिएन । तर श्रीमती र छोराको लागि उ काठमाण्डौ मै आई काम गर्न थाल्यो । यसरी घरबाट टाढिन विजयाले निकै मेहनत गरेकी थिई । विगत ४ वर्षमा ऊ घर फर्केर गएकी थिईन । यसबिच उ दोस्रो छोरा सौरभको पनि आमा बनी सकेकी थिई । उसले मेहनत गरेर केही लोन तथा दुईको कमाईले सानो घर पनि बनाई । जसले गर्दा उसले घर नजाने राम्रो बहाना पाएकी थिई । तर यसपटक भने सासु बिरामी भएकाले ऊ घर आउन कर लाग्यो ।

रिक्सा घर अगाडि रोकिई सकेको थियो । बाहिर हल्ला सुनेर रमेश, रविना तथा नानीहरु कुदेर बाहिर आए र सामान बोकेर भित्र लग्न मद्धत गरे । सबैको अनुहारमा खुसीयाली थियो । तर विजयाको अनुहार मलिन थियो । रविनाले ‘तिमीलाई सन्चो छैन कि क्या हो ?’ भनेर सोधी । उसले ‘अँ’ भनी रविनाले उसलाई आराम गर्न भनी र चिया पकाउन थाली । रविना जति खेर पनि विजयाकै छेउमा आउथी तर विजया उसलाई वास्तै गर्दिनथी । बोलाउदा मात्र बोल्थी । उसको यस्तो व्यवाहारले रविना निकै क्षुब्ध थिई । अर्को दिन राति सबै जना सुति सकेका थिए । विजयालाई तिर्खा लागेर उ भान्सामा पानी पिउन गई । रविनाको कोठाबाट आफ्नो नाम लिदै कुरा गरेको सुन्दा उ ठिङ्ग उभिएर कुरा सुन्न थाली । रमेशले भन्दै थियो, ‘मैले तिमीलाई कति पटक भनी सके, विजया तिमी जस्ती छैन । ऊ तिमीलाई पटक्कै मन पराउदिन, मलाई लाग्छ, उ तिमीलाई र सुरेशलाई शंका गर्छे ।’ त्यो सुनेर रविनाले रुदै भनी, ‘जसले जे सुकै भनोस् मलाई थाहा छ, म सुरेशलाई आफ्नो जेठो छोरा जस्तै ठान्छु । मेरो माइतीमा दाजु भाइ, दिदिबहिनी कोही भएनन् । सँधै म ठुलो परिवार चाहन्थे । बिहे गरेर आउदा सुरेश १५ वर्षका थिए । मलाई सुरेशको छोराछोरी जस्तै माया लाग्छ । मैले कसैको केही बिगारेको छैन । जसले त्यस्तो सोच्छ, उसलाई पाप लाग्नेछ । विजयालाई सँधै मैले मेरी बहिनीको रुपमा हेरे । मैले त उसले जस्तो प्रगति गर्न सकिन, तर उसको प्रगतिको बाटोमा कुनै बाधा नआवोस् भनेर मैले उसलाई घरको कर्तव्यबाट सँधै टाढै राखे । तर उसले मलाई कहिल्यै दिदि सम्झीन ।’ कोठा भित्रको कुराकानी सुनेर विजयाको मन निकै खिन्न भयो । उ कति गलत रहिछ भन्ने महसुस भयो । उसलाई रातभरि निन्द्रा लागेन । उसको कानमा एउटै आवाज गुन्जियो छोरा जस्तै । उसले कसरी देवर भाउजुको सम्बन्धलाई गलत ठह¥याई ? देवर भाउजुको सम्बन्ध आमा र छोरा जतिकै पवित्र पनि त हुन्छ । उसको मनबाट शंकाको जालो हटी सकेको थियो । उ बिहान सबैभन्दा छिटो उठी र विजयाको कोठा तिर लागी एउटा नयाँ सुरुवात् गर्नका लागि ।

Share This: