Wednesday, January 23rd, 2019
ग्यास बचत गर्ने सजिलो तरिका (किचन टिप्स)

ग्यास बचत गर्ने सजिलो तरिका (किचन टिप्स)

खाना पकाउने ग्यास बेगर आज मानिसहरुलाई खाना पकाउन निकै कठिन हुन्छ । बढ्दो महँगी, त्यस माथि खाना पकाउने ग्यास सर्टेज भइरहन्छ । यसले सबैलाई समस्यामा पारेको छ । खाना पकाउने, ग्यास त हामी हाल उत्पादन गर्न सक्दैनौ तर यो चलाउने तरिकामा सुधार गरी यसलाई अझै धेरै दिन सम्म टिकाउन सकिन्छ । त्यसैले ग्याँसलाई कसरी खेर जानबाट बचाउने ध्यान निम्न उपायहरु जानी राखौं ।

– खाना पकाउनका लागि धातुको भाडा विशेष गरी स्टेनलेस स्टीलको भाडा नै प्रयोग गर्नुहोस् । धातुको भाडा राम्रो परिचालक हुन्छ जसले बढी ग्यास खपत गर्दैन । जबकि माटोको भाडा आदिले बढी ग्याँस खपत गर्छ ।

– यदि ग्यास स्टोभको बर्नरबाट पहेँलो ज्वाला निस्की रहेको छ भने बर्नरले पूर्ण रुपमा ग्यास प्रयोग गर्न पाएको छैन भन्ने बुझ्नु पर्छ । यदि बर्नर मिलाउँदा पनि त्यस्तै रही रहन्छ भने मेकानिकलाई देखाउनु पर्छ । ग्यासबाट पहेँलो ज्वाला निस्किनुको अर्थ ग्यास खेर गइरहेको छ । निलो रंग वा रंगविहिन ज्वालाले ग्यास सही तरिकाले उपयोग हुँदैछ भन्ने कुरा बुझाउँछ ।

– ग्यासमा खाना पकाउँदा प्रायः पिँध चौडा भएको भाडामा खाना पकाउनु पर्छ । यसबाट खाना पकाउन कम समय लाग्छ । चौडा भाडाले ग्यासको ज्वालालाई राम्रो सँग छोप्छ र ग्यास सही रुपमा खपत हुन्छ । साथै अझ बिर्को लगाएर पकाउने हो भने अझै ग्यास बचाउन सकिन्छ ।

– फ्रिजमा राखेको खानेकुरा वा बजारबाट ल्याएको चिसो खानेकुरा सिधै ग्यासमा पकाउन थाल्नु हुँदैन । त्यस्तो खाद्यपदार्थलाई सामान्य तापक्रममा आउन दिनु पर्छ । नत्र त्यसलाई पकाउन बढी ग्यास खपत हुन्छ ।

– यदि ग्यासमा पानी वा दूध तताउदै हुनुहुन्छ भने उम्लिन थाले पछि ग्यासको आँच कम गर्नुहोस् । यस्तो अरु खाना पकाउदा पनि गर्न सकिन्छ । केही व्यक्तिहरु कम समयमा खाना पकाउनका लागि ठुलो आँच पार्ने गर्छन् । यसले ग्यास खेर जानुका साथै भाडालाई पनि नोक्सान गर्छ ।

– ग्यासमा खाना पकाउनु अघि नै तरकारी काटेर मसला पनि ठिक्क पार्नुहोस् अनि पकाउन थाल्नुहोस् । यसबाट ग्यास कम खपत हुन्छ ।

– ग्यसमा खाना पकाउन सुख्खा भाडा प्रयोग गर्नुहोस् । यसबाट पानी सुक्न लाग्ने ग्यास बचत हुन्छ ।

– खाना पकाउदा बढी पानी नहाल्नुहोस् । बढी पानी सुक्न बढी ग्यास खपत हुन्छ ।

– भाडा वा तावा तातिन सुरुमा फुल मोडमा राख्नुहोस् र एकपटक भाडा तातिए पछि आँच कम गनुहोस् । भाडा तातिन जति ग्यास चाहिन्छ, पकाउन त्यति धेरै लाग्दैन ।

– दाल पकाउनु अघि नुन र बेसार हालेर एकछिन भिजाउनुहोस् अनि मात्र पकाउनुहोस् । यसबाट कम समयमै दाल पाक्छ ।

– खाना पकाउन प्रायः कुकर प्रयोग गर्नुहोस् वा खाना छोपेर पकाउनु होस् ।

Share This: