Wednesday, January 23rd, 2019
चालु आर्थिक वर्षको अर्धवाषिर्क अवधिमा करिब १८ प्रतिशत मात्रै विकास खर्च

चालु आर्थिक वर्षको अर्धवाषिर्क अवधिमा करिब १८ प्रतिशत मात्रै विकास खर्च

सरकारले चालु आर्थिक वर्षको अर्धवाषिर्क अवधिमा करिब १८ प्रतिशत मात्रै विकास खर्च गर्‍यो । सरकारले ६ महिनाको अवधिमा कुल विकास बजेमध्ये ५५ अर्ब मात्रै खर्चिन सक्यो । यो वर्ष सरकारले ३ खर्ब ३५ अर्ब बजेट विकासमा खर्चिनुपर्ने छ ।

जेठमै बजेट ल्याए पनि सरकारले समयमै आयोजनाहरुको तयारी गरेर अघि नबढाउँदा अपेक्षित विकास खर्च गर्न नसकेको हो । १७.६८ प्रतिशत विकास खर्च गरेको सरकारलाई अबको ६ महिनामा झण्डै ३ खर्ब रुपैयाँ खर्च गर्न दबाव छ ।

गत वर्षको तुलनामा विकास बजेटको दर भने बढेको छ । गत वर्ष यस्तो अवधिमा मुस्किलले ४७ अर्ब खर्च भएको थियो । यो वर्ष त्यो भन्दा करिब ८ अर्ब बढी विकास बजेट खर्च भएको छ ।

नेपालमा आथिर्क वर्षको अन्तिमतिर नै विकास बजेट गर्ने रोग पुरानै हो । आर्थिक वर्षको मध्यसम्म पनि आयोजना अघि बढाउन तयारी सुरु नगर्ने र अन्तिमतिर ‘हिले’ विकास गर्ने जोखिम यो वर्ष पनि मौलाउने संकेत देखिएको छ ।

अर्थमन्त्रालयका एक अधिकारी यो वर्ष बजेट कार्यान्वयनामा समस्या नहोस् भनेर आवश्यक नीति र कार्यविधिहरु समयमै पारित गरिदिँदा पनि सम्बन्धित विकासे मन्त्रालयले खर्च गर्ने तत्परता नदेखाउँदा यस्तो अवस्था आएको बताउँछन् ।

उनका अनुसार प्रधानमन्त्रीले स्पष्ट निर्देशन दिँदा दिँदै पनि मन्त्रालयहरु विकास बजेट खर्चिन जिम्मेवार ढंगले लागेका छैनन् । आयोजनाहरु शिलान्यास गरेर काम नै सुरु नगर्ने प्रवृत्तिले गर्दा पनि बजेट खर्च हुन कठिन भएको उनको भनाइ छ ।

सरकारले गत पुस मसान्तसम्म २ खर्ब ९६ अर्ब चालु खर्च गर्‍यो । यो विनयोजित चालु खर्चको ३५.०८ प्रतिशत हो । सरकारले यो ६ माहिनाको अवधिमा कुल ३ खर्ब ७५ अर्ब खर्च गर्‍यो । जुन कुल बजेटको २८.५७ प्रतिशत हो । पुसम्म सरकारले वित्तीय खर्च २३ अर्ब अर्थात १५.२५ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

पुससम्म सरकारी ढुकुटीमा खर्च हुनुपर्ने १ खर्ब ४४ करोड बजेट त्यसै थन्किएको छ । विकास बजेटको खर्च निकै कमजोर भएपछि सरकारी ढुकुटीमा रकम थुपि्रएको हो ।

सरकारले ६ महिनाभित्रै ५ खर्ब २० अर्ब राजश्व उठाएको छ । जुन राजश्व लक्ष्यको ५४.९९ प्रतिशत हुन आउँछ । सरकारले संघीय सरकारको कर अधिकार भएको शीर्षमा २ खर्ब ४४ अर्ब राजश्व उठायो भने प्रदशे र स्थानीय सरकारको विभाज्य कोषमा जाने शीर्षकहरुमा २ खर्ब ७५ अर्ब असुली गरेको छ ।

Share This: