Saturday, February 23rd, 2019
चिकित्सकहरुले देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार

चिकित्सकहरुले देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार

आन्दोलनरत सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन ।

स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दवाव दिँदै आएका सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् । उनीहरुले शुक्रबार बिहान झण्डै १० बजेतिर वीर अस्पतालको टिकट काउन्टरमै तालाबन्दी गरेर आफ्नो सेवा बहिष्कार गरेका थिए ।

स्थानीय तहको मातहत रहने तथा आफूहरुको वृत्ति विकास समेत नहुने गरी ल्याइएको ऐन सच्याउन सरकारलाई बाध्य पार्न एक दिन अस्पतालका सेवाहरु बहिष्कार गर्नुपरेको सरकारी चिकित्सक संघले जानकारी दिएको छ ।

सरकारी चिकित्सकहरुले आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन विगत १ महिनायता विरोध प्रर्दशन र धर्नासहितको कार्यक्रम गर्दै आएको थियो । सरकारले शान्तिपूर्ण आन्दोलन गरिरहेका आफूहरुको माग सुनुवाइ नगरेपछि अस्पतालको सेवा नै बहिष्कार गर्नेलगायत आन्दोलनका कडा कार्यक्रम सुरु गर्नुपरेको संघले बतायो ।

सरकारी चिकित्सकहरुले अस्पतालको सेवा बहिष्कार गर्दा पनि आफ्नाे माग सम्बोधन गर्न सरकार तयार नभए सामूहिक राजीनामा दिने चेतावनी समेत दिँदै आएका छन् । यसैबीच, शुक्रबार वीर अस्पताल पुगेका विरामीहरुले आफूहरुलाई बिचल्लीमा पारेको भन्दै सरकारी चिकित्सकहरुप्रति आक्रोश व्यक्त गरेका थिए ।

Share This: