Saturday, February 23rd, 2019
सबैभन्दा ठुलो धन (प्रेरक कथा)

सबैभन्दा ठुलो धन (प्रेरक कथा)

एक पटक एक जना शक्तिशाली राजा बाक्लो जङ्गलमा सिकार खेलिरहेका थिए । एक्कासि आकाश कालो बादलले ढाक्यो र मुसलधारे पानी पर्न थाल्यो । बिस्तारै साँझ पर्न थाल्यो । अँध्यारोमा राजा आफ्ना सिपाही सँग छुट्टिए र बाटो बिराउन पुगे । निकै समय पछि भोक र तिर्खाले थकित राजा जङ्गल नजिकैको एउटा चौतारामा पुगे । केही बेर पछि राजाले त्यहाँ ३ जना बालकहरुलाई देखे । ती तीन जना मिल्ने साथीहरु थिए र उनीहरु गाउँ तिर जादै थिए । राजाले तीनीहरुलाई बोलाए र भने ‘के तिमीहरु मलाई खाने पानी र केही खानेकुरा दिन सक्छौ । म बाटो बिराएर निकै थकित भएको छु ।’ ती बालकहरु हुन्छ भनी कुद्दै गाउँ तिर गए र केही बेरमा खानेकुरा र पानी लिएर आए । त्यो खाएर राजालाई केही सास आयो । ती बालकहरुको प्रेम र उत्साह देखेर राजा निकै खुसी भए । उनले ती बालकहरुलाई भने, ‘नानीहरु हो, तिमीहरु जीवनमा के गर्न चाहन्छौ, के म तिमीहरुको कुनै मद्धत गर्न सक्छु ?’

केही बेर सोचेपछि एउटा बालकले भन्यो, ‘मलाई थुप्रै धन सम्पति चाहिन्छ । मैले कहिल्यै दुईपटक खान पाएको छुइन, कहिल्यै राम्रो लुगा लगाएको छुइन त्यसैले मलाई थुप्रै धन चाहिन्छ ।’ राजाले हास्दै भने, ‘ठिक छ म तिमीलाई थुप्रै धन दिनेछु ।’ त्यो सुनेर दोस्रो बालकले उत्साहित हुँदै भन्यो, ‘के तपाईँ मलाई एउटा ठुलो महल र गाडी दिन सक्नुहुन्छ ?’ त्यसपछि राजाले भने ‘यदि तिमीलाई यी वस्तुहरू चाहिएको हो भने म अवश्य दिनेछु ।’ अब पालो तेस्रो बालकको थियो । राजाले तिमीलाई के चाहियो भनेर सोधे । तेस्रो बालकले भन्यो, ‘मलाई त न धन चाहिन्छ ,न महल न गाडी नै । मलाई त तपाईँ यस्तो आशिर्वाद दिनुहोस्, जसबाट म पढेलेखेर विद्धान् बन्न सँकु र देशको सेवा गर्न सँकु ।’ बालकको कुरा सुनेर राजा निकै प्रभावित भए । उनले त्यो बालकको उत्तम शिक्षाको प्रबन्ध मिलाइ दिए । बालक निकै परिश्रमी थियो । उसले निकै कडा मेहनत ग¥यो र ठुलो विद्धान् बन्न पुग्यो । उसको बुद्धिमताका कारण राजाले उसलाई आफ्नो मन्त्री बनाए । एकदिन राजालाई ती तीन जना बालक सँगको भेटघाट याद आयो । उनलाई ती तीनैजना सँग भेट्न मन लाग्यो । एक जना त उनी सँगै थियो ।,उनले अरू दुईलाई भेट्न निम्तो पठाए । अर्को दिन तीनै जना बालकहरु राजाका सामु थिए तर उनीहरु अब युवा भई सकेका थिए । राजाले खुसी हुँदै भने ‘तिमीहरु आज कहाँ के गर्दैछौ भनेर जान्न म निकै उत्सुक छु । एक जना त मेरो मन्त्री हो । बाँकी तिमीहरु के गर्दैछौ ?’

धन माग्ने बालकले रुन्चे अनुहार लगाउदै भन्यो, ‘महाराज, मैले त्यस दिन तपाई सँग धन मागेर गल्ती गरे । यति धेरै धन पाएर म अल्छि भए । मैले थुप्रै धन त्यसै खर्च गरे । थुपै्र धन चोरी पनि भयो र केही वर्षमै म पहिला कै अवस्थामा आई पुगे ।’ त्यसपछि दोस्रो बालकले भन्यो, ‘महाराज म निकै सानले महलमा बस्थे र गाडीमा घुम्थे । एक पटक भुइचालोले महल भत्कियो । केही समय पछि गाडी पनि बिग्रियो र म फेरि पहिलाकै अवस्थामा पुगे ।’ उनीहरुको कुरा सुनेर राजाले भने, ‘अब यो कुरा जीवनभर कहिल्यै नभुल्नु कि धन सम्पति सधैँ हामी सँग रहदैन तर ज्ञान जीवनभरी मानिसलाई काम लाग्छ र कसैले यो चोर्न पनि सक्दैन । शिक्षाले नै मानिसलाई विद्धान् र ठुलो मान्छे बनाउछ । त्यसैले सबैभन्दा ठुलो धन विद्या हो ।’

 

Share This: