Wednesday, August 21st, 2019
विदेशमा आज

विदेशमा आज

– सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा गरिएको प्रदर्शनका कारण हङकङ अस्तव्यस्त भएको छ । प्रदर्शनकारीहरुको उपस्थिती धेरै भएपछि सोमबार अपरान्हदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान रद्द गरिएको छ ।

– कानुनी रूपमा अमेरिका बस्दै आएका आप्रवासीहरूको भिसा अवधि बढाउन र स्थायी नागरिकता अर्थात् ग्रिन कार्ड पाउने प्रक्रियालाई ट्रम्प प्रशासनले अझै कठोर बनाउने भएको छ । नयाँ नियम अनुसार त्यस्ता आप्रवासीहरुको आवेदन स्वीकार गरिने छैन जो भविष्यमा अमेरिकी सरकारको सेवा र योजनामा आश्रित हुन सक्छन् । यस बदलावबाट सरकारी सुविधामा एक वर्षभन्दा बढी समयसम्म आश्रित रहने आप्रवासीहरु प्रभावित हुनेछन् ।

– अस्ट्रेलियाले आफ्नो आन्तरिक सुरक्षालाई मजबुत बनाउने उद्देश्यले आप्रवासी नीति कडा पार्ने तयारी गरेको छ । आप्रवासी नियममा पछिल्लो समय कडाइ गर्दै आएको सरकारले विदेशी नागरिकले आफ्नो देशमा कुनै अपराध गरेको खण्डमा उनीहरूको देशमा फिर्ता पठाउने नियममा परिमार्जन गर्न लागेको हो ।

– हङ्कङ प्रहरीले आफ्ना केही अधिकारीलाई आइतवार भएका सरकारविरोधी प्रदर्शनमा प्रदर्शनकारीको भेषमा खटाइएको स्वीकार गरेको छ। ज्यादै हिंसक प्रदर्शनकारीहरूलाई निसानामा पार्न त्यसो गरिएको उसले बताएको छ। प्रहरी प्रवक्ताका अनुसार केही अधिकारीले विभिन्न भेष बदलेर हिंसक प्रदर्शनकारीहरूलाई निसानामा पारेका थिए।

– भारतीय रिलायन्स इन्ड्रस्ट्रीका प्रमुख मुकेश अम्बानीले साउदी अरामको कम्पनीको शेयर खरिद गरेको घोषणा गरेका छन् । साउदी अरबमा रहेको ख्याति प्राप्त कम्पनी साउदी अरामको ओटीसी (ओयल–टु–केमिकल) मा ७५ अर्ब डलर बराबरको शेयर खरिद गरेको घोषणा उनले गरेका हुन् ।

Share This: