Wednesday, August 21st, 2019
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– बालुवा उत्खनन गर्दा परेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार १३ वर्षीया बिनीता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको छ ।

– वैदेशिक रोजगारीका क्रममा विगत १३ वर्षदेखि कतारमा कार्यरत साँगुरीगढी गाउँपालिका–३, धनकुटाका ललितबहादुर लिम्बूको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परेर ज्यान गएको छ ।

– प्रहरी हिरासतबाटै फरार भएका चोरी मुद्धाका २१ वर्षीय सुकुलाल वाइवालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

– सप्तरीको राजविराज नगरपालिका–८ का इतिहासविद् हरिकान्त लाल दासको ७८ वर्षको उमेरमा निधन भएको छ ।

– पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा भएको बस दुर्घटनामा परी बेपत्ता यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय, धादिङले छिमेकी चार जिल्लासँग आग्रह गरेको छ । बस दुर्घटनाको ५ दिनसम्म पनि बेपत्ता यात्रु नभेटिएपछि प्रशासनले अन्य ४ जिल्लासँग सहयोग मागेको हो ।

– त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार साँझ आगलागी भएको छ । सेन्टरको चौथो र पाँचौं तल्लामा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

– गोरखा नगरपालिका–१० टक्सारस्थित मनकामना आवासीय बहिरा माविका कार्यालय सहयोगी श्यामहरी घिमिरे मृत फेला परेका छन् ।

– तनहुँको बन्दीपुर गाउँपालिका–१, डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ ।

– पर्साको ठोरी नाकाबाट भारततर्फ लगिएका तीन नेपाली युवतीको सोमबार प्रहरीले उद्दार गरेको छ ।

– अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको नुवाकोटमा २७ वर्षीय चिरन घर्तीले खुकुरी प्रहार गर्दा श्रीमती, सासू र सालो घाइते भएका छन् ।

– पूर्वपश्चिम राजमार्गको चन्द्रपुर चोकमा रहेका व्यापारिक पसलमा चोरी गर्न गाडी ९स्कारपियो जीप० चढेर आएका भारतीय नागरिक ३० वर्षका लोकेशकुमार र ३४ वर्षका प्रेम शंकर यादवलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

– अवैद्यरुपमा ढुंगा, गिटी तथा वालुवा उत्खनन् गरी ढुवानी गर्ने दुई ओटा ट्रयाक्टरलाई मोरङ प्रहरीले मंगलवार नियन्त्रणमा लिएको छ ।

Share This: