Wednesday, August 21st, 2019
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

– पूर्वपश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका— १९ नेवारपानीमा बस अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

– सिरहा नगरपालिका १८ तारापट्टी कुर्मी टोलका २५ वर्षीय मनोजकुमार रायलाई उनकै वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समूहले कुटपिट गरेका छन् ।

– अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पहिरोले ६ रोपनी खेत र स्वास्थ्य क्लिनिक भवन बगाएको छ ।

– धरान उपमहानगरपालिका–१५ पिण्डेश्वर चोकको एक घरमा जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जुवा खालबाट ३ लाख ४ हजार एक सय ५५ रुपैयासमेत बरामद गरेको छ ।

– रु ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्यायलाई पक्राउ गरेको छ ।

– पर्वतको महाशिला गाउँपालिका–४ पाखापानीमा विद्युत पोल गाड्ने क्रममा करेण्ट लागेर २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको ज्यान गएको छ ।

– झापाको शिवसताक्षी नगरपालिका–११, दूधेबाट प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी दिलबहादुर मगर, नरबहादुर मगर र ताराबहादुर कुँवर छन् ।

– गोरखाको पालुङटारबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

Share This: