Monday, September 23rd, 2019
भगवान हनुमानबाट सफलताको मन्त्र सिक्नुहोस्

भगवान हनुमानबाट सफलताको मन्त्र सिक्नुहोस्

भगवान् हनुमानलाई हिन्दु धर्ममा एक आदर्श व्यक्तित्व मानिन्छ । रामायणको कथामा वर्णन गरे अनुसार रामले रावणसँग जित्नुमा हनुमानको ठुलो हात थियो भन्ने प्रमाणित हुन्छ । हनुमानको व्यक्तित्व एउटा कथामा मात्र सीमित नरही यदि उनको गुणलाई आफूमा सार्ने प्रयास गर्ने हो भने मानिसको जीवन पनि सफल हुनेछ । हनुमानको जीवनको गहन अध्ययन गर्ने हो भने उनको जीवनबाट थुप्रै प्रेरणा लिन सकिन्छ ।

ध्येय प्रति अटुट निष्ठा

स्वामी विवेकानन्द र माहात्मा गान्धी देखि लिएर लगभग संसारका सबै महान् व्यक्तिले ध्येय प्रतिको अटुट निष्ठालाई सफलताको अनिवार्य सर्त मानेका छन् । यदि तपाईको लक्ष्य स्पष्ट छैन भने त्यसप्रति दृढ निष्ठा उत्पन्न हुनु असम्भव छ । यस अवस्थामा सफलता प्राप्तिमा शङ्का उत्पन्न हुन्छ । स्वेट मार्डेनका अनुसार ९९ प्रतिशत असफल मानिसहरूको असफलताको कारण यही नै हो । हनुमानले आफ्नो जीवनको लक्ष्य मात्र श्रीरामको इच्छापूर्ति बनाएका थिए । उनी चौबिसै घण्टा रामको भलोका लागि काम गरी रहन्थे । यसबाट उनको लक्ष्य प्रतिको दृढता थाहा हुन्छ ।

अटुट आत्मविश्वास

चिनियाँ दार्शनिक लाओत्सेले आत्मविश्वासलाई सबैभन्दा ठुलो साथी भनेका छन् । आत्मविश्वास नै त्यस्तो वस्तु हो ,जसले मुटु टुक्रा पार्ने असफलताको प्रतिघातबाट तपाईँको रक्षा गर्छ । हनुमानलाई आफ्नो क्षमता माथि अटुट विश्वास थियो । सूर्यदेवलाई निल्ने कोसिस गर्नु उनको आत्मविश्वासको एउटा उदाहरण हो ।

विनम्रता

टाल्सटायका अनुसार जहाँ सरलता छैन, त्यहाँ कुनै महानता छैन । व्यक्तित्वमा विनम्रताका कारण नै सरलता आउँछ । गुणी र विनम्र व्यक्तिले समाजमा बढी सम्मान पाउँछन् । तर शक्ति सम्पन्न हुँदाहुँदै पनि विनम्रता धारण गर्नुु झन् दुर्लभ हुन्छ किनकि प्रायः शक्ति सम्पन्न व्यक्ति घमण्डमा चुर हुने गर्छन् । भगवान् हनुमान यति विनम्र थिए कि उनी आफ्नो सबै कार्यको श्रेय श्रीरामलाई नै दिने गर्थे । उनको विचारमा उनले जे गरे श्रीरामको कृपा पाएर नै गरेका थिए ।

जोस

राल्फ वाल्डो एमर्सन उत्साहलाई सबै महान् कार्यको प्रथम आवश्यकता मान्छन् । सफलता प्राप्त गर्नका लागि जोसको महत्वलाई कसैले नकार्न सक्दैन । हनुमानजी प्रचण्ड जोसको उदाहरण हुन् । उनी जस्तो जोसिलो व्यक्ति आज सम्म कोही पनिजन्मेको छैन । उनी जति खेर पनि जे गर्न पनि तयार रहन्थे । श्रीरामले एक भन्दा उनी सितालाई खोज्न लंका गए । उनी कहिल्यै कुनै कामका लागि पछि सरेनन् ।

धैर्यता

धैर्यवान् व्यक्तिले हरेक अप्ठ्याराहरूको सामना गर्न सक्छन् । जहिले पनि जीवनमा अप्ठ्याराहरू आई लाग्दैन । तर जब यसको तीव्रता चरम स्तरमा हुन्छ तब व्यक्ति जीवन देखि निराश हुन थाल्छ । हनुमानजीमा अपार धैर्य थियो । लक्ष्मण मुच्र्छित भएको बेला नआतिइकन संजिवनी बुटी ल्याउने हनुमान नै थिए । हनुमानले चाहेको भए एकै दिनमा रावणको लंका जलाई दिने थिए । तर उनले धैर्य गरी सही समयको प्रतीक्षा गरे ।

नेतृत्व क्षमता

एउटा सच्चा मार्गदर्शकले सधैजित्ने दृष्टिकोण प्रदर्शित गर्छ । जोन डी रकफेलरका अनुसार राम्रो नेतृत्वको अर्थ सामान्य मानिसलाई यो देखाउनु हो कि कसरी उत्कृष्ट व्यक्तिको काम गर्नुपर्छ । हनुमानजीको नेतृत्व क्षमता कुशल थियो । जसरी बाँदरको सेनाले रावणसँगको युद्ध लडे त्यो उदाहरणीय थियो । त्यसको नेतृत्व हनुमानले नै गरेका थिए । यदि बाँदरको सेनाले रामलाई नसघाएको भए रामले युद्ध जित्न गा¥हो हुने थियो ।

साहस

स्यामुअल जोन्सनका अनुसार साहस सबै गुणहरूमा उत्कृष्ट हो किनकि यदि तपाईमा साहस छैन भने तपाईले अरूको गुणको उपयोग गर्न सक्नुहुन्न । भगवान् हनुमानको साहस अदम्य छ । उनी एक्लै रावणको लंकामा पुगेर लंकामा आगो लगाई दिएर आए । जसबाट राक्षसहरु निकै त्रस्त भएका थिए ।

बफादारी

हनुमानजीको बफादारीको वर्णन जति गरे पनि कम हुन्छ । उनी यति सम्म बफादार थिए कि उनी जति खेर पनि श्रीरामको नाम जाप गर्थे । जतिबेला पनि श्रीरामलाई खुसी राख्ने प्रयास गर्थे । यस्तो स्वामीभक्ति आज सम्म कसैले गरेको छैन ।

Share This: