Monday, September 23rd, 2019
औषधी सेवन गर्ने उपयुक्त समय

औषधी सेवन गर्ने उपयुक्त समय

हामी मध्ये धेरै जसो मानिसहरू कुनै न कुनै औषधी सेवन गर्ने गर्छन् ,तर धेरै कम मानिसहरू औषधी सेवन गर्ने सही समयमा ध्यान दिन्छन् । वास्तवमा कुनै पनि रोग ठिक पार्न र औषधीले राम्रो तरिकाले काम गर्नका लागि औषधी सेवन गर्ने समय महत्वपूर्ण हुन्छ । हाम्रा शरीरका बेग्ला बेग्लै अंगहरु बेग्ला बेग्लै समयमा सक्रिय हुन्छन् । त्यसैले दिनमा एक पटक औषधी सेवन गर्नुपर्ने व्यक्तिले सही समयमा औषधी सेवन गर्नु अनिवार्य हुन्छ । हालै गरिएको विभिन्न अध्ययनहरू अनुसार गलत समयमा औषधी सेवन गर्दा त्यसको असर अपेक्षा गरे भन्दा कम हुन्छ । त्यसैले औषधी सेवन गर्ने बारेमा निम्न कुराहरूमा ध्यान दिनुहोस् ।

उच्च रक्तचापको औषधी

जब हामी सुत्छौ त्यस बेला हाम्रो रक्तचाप १० देखि २० प्रतिशत कम हुन्छ । तर प्रायः उच्च रक्तचबाप र ५५ वर्ष भन्दा माथि आयु भएकाहरुको रक्तचाप भने कम हुँदैन । जसले गर्दा सुतेको बेला स्ट्रोक वा हार्ट एट्याक आउने सम्भावना बढेर जान्छ । हालै स्पेनमा भएको एक अध्ययन अनुसार जो व्यक्ति राति सुत्नेबेलामा रक्तचापको औषधी खान्छन् उनीहरूलाई हार्ट एट्याक र स्ट्रोक हुने खतरा ३३ प्रतिशत कम हुन्छ । अनुसन्धानकर्ताहरुका अनुसार राति प्रेसरको औषधी सेवन गर्दा हाम्रो धमनीलाई आराम मिल्छ । त्यसैले रक्तचापको औषधी राती सुत्नु अघि सेवन गर्नुहोस् ।

उच्च कोलेस्ट्रोलको औषधी

लिवरमा कोलेस्ट्रोलको उत्पादन दिउसो भन्दा राती बढी हुन्छ । त्यस कारण कोलेस्ट्रोलको औषधी राती सेवन गर्दा बढी फाइदा हुन्छ ।

छाती पोलेको औषधी

राती १० बजे देखि लिएर २ बजे सम्म हाम्रो पेटले सबैभन्दा बढी एसिड उत्पादन गर्छ । यदि तपाईँ एसिड कम गर्ने ग्यास्टिकको औषधी सेवन गर्नुहुन्छ भने खाना खानु ३० मिनेट अघि सेवन गर्नुहोस् । यसो गर्दा राति बनिने एसिड नियन्त्रित रहनेछ ।

आस्टियो आर्थराइटिस्को औषधी

यो रोग लाग्दा व्यक्ति पिच्छे बेग्ला बेग्लै समयमा दुख्ने, सुन्निने आदि समस्या हुन्छ । फ्रान्सका अनुसन्धानकर्ताहरुका अनुसार आस्टियो आर्थराइटीस्मा लिइने औषधी दुखाई सुरु हुनु ६ घण्टा अघि नै सेवन गर्नुपर्छ । त्यसैले यदि तपाईलाई दिउँसो दुख्छ भने बिहान औषधी सेवन गर्नुहोस् । त्यस्तै यदि राति दुख्छ भने दिउँसो औषधी सेवन गर्नुहोस् ।

एलर्जीको औषधी

एलर्जीको औषधीले निन्द्रा लगाउने हुन्छ । जसले गर्दा यस्तो औषधीले दिउसो काम गर्न समस्या हुन्छ । त्यसैले यस्तो औषधी राति सेवन गर्नुहोस् ।

अल्सरको औषधी

एन्टी अल्सर औषधी राति १० बजे तिर सेवन गर्नुपर्छ । दिउँसो तिर पेटमा एसिडको मात्रा तल माथि हुने गर्छ । अल्सरको लक्षण बिहानको समयमा बढी देखा पर्छ त्यसैले यसको औषधी राति सेवन गर्नु उपयुक्त हुन्छ ।

Share This: