Tuesday, October 15th, 2019
उपदेशको सही मर्म

उपदेशको सही मर्म

कुरो त्यसबेलाको हो, जब कौरव र पाण्डव गुरु द्रोणाचार्यको आश्रममा शिक्षा प्राप्त गरी रहेका थिए । एक दिन गुरु द्रोणले आफ्ना सबै शिष्यहरुलाई ‘सत्यम वद’ अर्थात् साँचो बोल भन्ने पाठ राम्रो सँग याद गर्न भने र भोलि सोध्ने कुरा बताए । अध्यापन समय सकिए पछि सबै जना शिष्य आ–आफ्नो कोठामा गई पाठ याद गर्न थाले । भोलि पल्ट सबै शिष्यहरु उपस्थित भए पछि गुरु द्रोणले सबैलाई पालैपालो उभिएर पाठ सुनाउन भने । सबैले गुरुलाई एक दिन अगाडिको शब्द दोहो¥याई दिए तर युधिष्ठीर भने चुप लागी रहे । गुरुले युधिष्ठीरलाई सोध्दा उनले आफूले पाठ याद गर्न नसकेको कुरा बताए । यसै गरी १५ दिन बित्यो, तर युधिष्ठीरले पाठ याद गर्न सकेनन् । सो¥ह्रौ दिनमा उनले गुरु द्रोणलाई पाठ सुनाउन अनुमति मागे । गुरु द्रोणको आज्ञा पाएर उनले सत्यम वद बोलेर सुनाई दिए । गुरुले भने, युधिष्ठीर पाठ त जम्मा दुई शब्दको मात्र थियो तर यति याद गर्न तिमीलाई यत्रो दिन किन लाग्यो ? युधिष्ठीरले भने, ‘गुरुदेव यस पाठको दुई शब्द याद गरेर सुनाउन कठीन थिएन, तर जब सम्म स्वयम आचरणमा यसलाई धारण गरिदैन तब सम्म कसरी भन्नु कि मलाई पाठ याद भयो ।’ वास्तवमा उपदेशको मर्म त्यसैले बुझ्छ, जसले त्यसलाई व्यवाहारमा अपनाउछ । बोली सँगै आचरणको अंग बनिने ज्ञान नै सच्चा ज्ञान हो र त्यसलाई धारण गर्ने सच्चा ज्ञानी हो ।

Share This: