Tuesday, October 15th, 2019
राजनीतिमा आज

राजनीतिमा आज

– पूर्वएमालेबाट सुवास नेम्वाङ र शिवमाया तुम्बाहाङ्फे तथा पूर्वमाओवादीबाट ओनसरी घर्ती, अग्नि सापकोटा, पम्फा भुसाल र देव गुरुङ चर्चामा निवर्तमान सभामुख कृष्णबहादुर महराले मंगलबारको राजीनामामा उल्लेखित ‘सर्त’ सहितको भाषा सच्याएर बुधबार अर्को राजीनामा पत्र पठाएका छन् । उनले स्वकीय सचिव सागर केसीमार्फत बुधबार पुनः राजीनामा पठाएका हुन् ।

– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गान्धीले देखाएको अहिंसाको बाटोबाटै अघि बढेर मुलुकलाई अघि बढाउन सकिने पनि स्पष्ट पारे ।

– निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाले आफू ‘डिप्रेसन’को विरामी भएको भन्दै प्रहरीमा निवेदन दिएकी छन् । यससँगै महरामाथि प्रहरी छानविन रोकिने भएको छ । संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

– कैदीबन्दीलाई पनि प्रजननको अधिकार हुने गरी कानुन संशोधन हुने भएको छ । गृह मन्त्रालयले यससम्बन्धी प्रावधान राखेर कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा पुर्याएको छ ।

– उपभामुख डा. शिवमाया तुम्वाहाङफेले संविधानको प्रावधान अनुसार आफू उपसभामुख पदमा हुँदाहुँदै नेकपाले सभामुखमा उम्मेदवारी दिन नसक्ने बताएकी छिन् । तर, नेकपाले ‘प्रक्रिया मिलाएर गर्न सक्ने’ तुम्वाहाङफेको भनाइ छ ।

– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङघ्घको ७४औँ महासभा बैठकमा सहभागी भई बुधबार राति स्वदेश फर्कनुभयो । विश्वका १२३ भन्दा बढी राष्ट्र र सरकार प्रमुखहरु र अन्य देशबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत गरी १९२ देशबाट प्रतिनिधित्व भएको थियो ।

– यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयले वेबसाइटबाट हटाएको छ । उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिए सँगै संघीय संसदको प्रतिनिधिको वेबसाइटबाट महराको नाम बुधबार दिउँसोबाट हटाइएको हो ।

– उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले कसैले पनि कसैको आस्था र विश्वासमा प्रहार गर्ने काम गर्न नहुने बताए ।

– नेपाली कांग्रेसको अनुशासन समितिले तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई स्पष्टीकरण सोधेको छ । तरुण दलमा अध्यक्ष जितजंग बस्नेत र महासचिव शाहीविरुद्धको विवाद उत्कृर्षमा पुगेको छ । दुबैले एकअर्कालाई निस्कासन गरेको भन्दै वक्तव्य समेत जारी गरेका थिए ।

– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गरिबी र अशिक्षाका कारण कुपोषण बढ्दै गएको बताएका छन् । उनले कुपोषण अन्त्यका लागि चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्तिले गर्ने गल्तीको दोष पार्टीले नबोक्ने तर्क गरेका छन् । यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको नाम उच्चारण नगरी उनले व्यक्तिको गल्तीहरु पार्टीमा ल्याएर जोड्न नहुने बताए ।

Share This: