Tuesday, October 15th, 2019
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– बाराको फेटा गाउँपालिका–४ बतरास्थित मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु भएको छ । मदिरा भट्टी सञ्चालक करिब ४० वर्षीय जोगा मुखिया बिन, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, उनका भाइ ३५ वर्षीय महेन्द्र मुखिया, महेन्द्रकी पत्नी ३० वर्षीया लालमुनी देवी र ५० वर्षीय एक भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

– बाराको फेटा गाउँपालिका–४ मा ५ जनाको शव भेटिएको छ । बताराको खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएका हुन् । शवको सनाखत भएको छैन ।

– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुससहित लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा. लि. काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरीलाई नियन्त्रणमा लिएको छ ।

– निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलत्कारको आरोप लगाउने संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीको घरबार बिग्रिएको छ । उनका श्रीमान चित्रजंग शाहीले आफूहरु अलग्गिने निर्णय लिएको लिखित सहमतिपत्र फेसबुकमा सार्वजनिक गरेका छन् ।

– लागूऔषधसहित बुधबार साँझ प्रहरीले म्याग्दीको बेनी नगरपालिका–२ का ३२ वर्षीय श्रीराम कार्की, भिरकोट नगरपालिका–१, स्याङ्जाका २१ वर्षीय भरत गुरुङ र सोही स्थानका २० वर्षीय सहितविन मियाँलाई पक्राउ गरेको छ ।

– १० हजार घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ ।

– ललितपुरमा बुधबार बिहान भएको सवारी दुर्घटनामा ७० वर्षीया रुकु कार्कीको मृत्यु भएको छ ।

– गोरखाको आरुघाट गाउँपालिका–९ बगैचामा करेन्ट लागेर बुधबार विहान ३६ वर्षीय धन बहादुर गुरुङको मृत्यु भएको छ ।

– धनकुटाको चौबिसे गाउँपालिका-३ गढिगाउँका १७ बर्षीय लक्ष्मण तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

– मङ्गलबार राती १० बजे आफ्नै घर अगाडी नालीमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक चिप्लिएर पानीमा लडी करेन्ट लाग्दा झापाको दमक नगरपालिका-५ संगम टोलका ४० बर्षीय चिन्टु माझीको मृत्यु भएको छ ।

– सुनसरीमा पछिल्लो ५ महिनाको अवधिमा १ सय ३५ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आत्महत्या गर्नेमा महिलाको सङ्ख्या बढी छ ।

– चाडपर्वको समयमा झापाका विभिन्न नाकाबाट भइरहेको तस्करीमा जिल्ला प्रहरीले एकैदिनमा साढे २२ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । सुरुङ्गा,हल्दीबारी र गरामनी क्षेत्रबाट प्रहरीले वुधबार दिउँसो सामान सहित तस्करीमा सम्लग्न २ वटा गाडि र २ मोटरसाइल बरामद गरेको छ भने तीनजना कारोबारीलाइ समेत नियन्त्रणमा लिएको छ ।

– दसैंका लागि मुस्ताङबाट ल्याइएका भेडा-च्याङ्ग्रा कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेमा चितुवाले आक्रमण गरी मारेको छ। रातको समयमा चितुवाले आक्रमण गरी ७ वटा भेडा र ८ वटा च्याङ्ग्रा मारेको हो ।

– महोत्तरीको गौशालामा सुस्त मनस्थितिकी गौशाला नगरपालिका-१० निवासी २२ वर्षीया शर्मिला दनुवारको शव मरहा नदी किनारमा बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

– रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ९ जना विरामी भएका छन् । घरनजिकै रहेको बाँसघारीमा उम्रेको च्याउ खाँदा उनीहरु विरामी भएका हुन ।

– कपिलवस्तुको यसोधरा गाउँपालिका-८ शिवपुरमा नन्दलाल तेलीको गोठमा बिहीबार विहान आगलागी हुँदा करिब साढे ४ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

– वीरगंज महानगरपालिका–१३ स्थित राधेमाईचोकबाट लागूऔषध मुद्दाका फरार ३६ वर्षीय सोनालाल प्रसाद कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ ।

Share This: