Tuesday, October 15th, 2019
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य चुनावका लागि बैतडीको नेपाल–भारत सीमा झुलाघाट नाका बिहीबारदेखि तीन दिनका लागि बन्द गरिने भएको छ ।

– दसैंतिहार एवं पर्यटकीय मौसम सुरु भएसँगै नेपाल वायुसेवा निगमको काठमाडौं–ओसाका उडानमा यात्रु बढेका छन् । दसैंतिहार पर्ने असोज–कात्तिकमा दुईतर्फी टिकट बिक्री ‘फुल’ हुन थालेको निगमका जापान प्रतिनिधि सन्तोष पाण्डेले जानकारी दिए ।

– बिहीबार कुवेती दिनार र ओमानी रियालको भाउ केही बढेको छ भने कोरियन वन घटेको छ । अरु विदेशी मुद्रा भने स्थिर छ । बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा तोकेको छ ।

– वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले आर्थिक सहायताका लागि सम्बन्धित पालिकाबाटै निवेदन दिन सकिने भएको छ । आर्थिक सहायताका लागि काठमाण्डौ नै धाउनु पर्ने अवस्थाको अन्त्य गर्दै पालिकाबाटै निवेदन दिन सकिने व्यवस्था गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

– नेपालमा लगानी गर्ने सम्भावनाहरूको खोजी गर्ने आयोजना गरिएको पहिलो जर्मन बिजनेस फोरममा सहभागी हुन २८ लगानीकर्ता आएका छन् । जर्मनी दूतावासको आयोजनामा ‘पहिलो जर्मन बिजनेस फोरम’ मा राउन्ड टेबलको बुधबार आयोजना भएको थियो ।

– पुनर्निर्माण प्राधिकरण र नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड अफिस फर प्रोजेक्ट सर्भिसेस (यूएनओपीएस) बीच २४ विद्यालय पुनर्निर्माणका लागि बुधबार सम्झौता भएको छ । नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय बन्नेछन् ।

– निर्वाचन क्षेत्रमा छुट्याइएको ६ करोड बजेट सांसदले मनलाग्दी खर्च गर्न ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि’ संशोधन गरी लचिलो बनाइएको छ । २०७५ मा जारी गरिएको कार्यविधिका धेरै बुँदा परिवर्तन गरी ‘मनलाग्दी खर्च गर्न’ सहज बनाइएको हो ।

– विद्युत् नियमन आयोगको बुधबारको बैठकले विद्युत् खरिद–बिक्री तथा अनुमति प्राप्त व्यक्तिले पालना गर्नुपर्ने सर्तहरूसम्बन्धी विनियमावली जारी गरेको छ । विनियमावलीले विद्युत् खरिद–बिक्रीका लागि हाल चलेकै दरलाई निरन्तरता दिएको आयोगका सदस्य एवं प्रवक्ताले जानकारी दिए ।

– अर्थमन्त्री डा. युवराज खतिवडा भारत प्रस्थान गरेका छन् । भारतमा असोज १६ र १७ गते हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

– स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालले सरकारले आफ्ना माग पुरा नगरिदिएमा जलविद्युत आयोजनाको साँचो बुझाउने चेतावनी दिएको छ । इप्पानले रुग्ण जलविद्युत आयोजनाहरुको समस्या र तिनको समाधानका लागि विभिन्न निकाय समक्ष पटक पटक धाउँदा पनि माग पूरा नभएकाले चाबी बुझाउने अवस्थामा पुगेको जनाएको हो ।

– शरद ऋतुमा सगरमाथा आरोहणका लागि यस वर्ष दुई समूहका १० जनाले अनुमति लिएका छन् । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा ९ र अर्कोमा १ जना गरी १० जना रहेका छन् ।

– एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहँदा सुलभ दरमा डेटा रोमिङ सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्रा।लि।ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहीबारदेखि कतार, संयुक्त अरब इमिरेट्स र अमेरिकापनि समावेश गरेकोे छ ।

– क्यान्सर रोगमा चलाइने अत्यावश्यक औषधि ‘फाइबएफयू’ देशभर अभाव देखिएको छ । बिरामीका आफन्त अहिले सीमावर्ती भारतीय बजारसम्म पुगेर औषधि किन्न बाध्य छन् । भारतलगायत तेस्रो मुलुकबाट ल्याइँदै गरेको औषधि पछिल्ला दिन आएको छैन ।

– डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका ९ जना सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू वितरण गरेको छ । महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष २०७६–७७ बाट सुत्केरी महिलाका लागि यो सुविधा दिन सुरु गरेको वडा नम्बर ६ का वडाध्यक्षले बताउनुभयो ।

Share This: