Tuesday, October 15th, 2019
राजनीतिमा आज

राजनीतिमा आज

– विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आफ्नै प्रतिवद्धता विपरीत विदेश भ्रमण भत्ता बुझ्ने गरेको पाइएको छ । पराजुलीले विदेश भ्रमण गर्दा महानगरको एक रुपैयाँ पनि खर्च नगर्ने बताउँदै आएका थिए । तर अमेरिका, मलेसिया र चीन भ्रमणमा जाँदा महानगरको कोषबाट १३ सय ७५ अमेरिकी डलर बुझेको पाइएको छ ।

– निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिँदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् ।महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी खटिएका थिए ।

– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न भ्रमणमा के-के माग्ने भनेर नेपालले सूची नबनाएको दाबी गरेका छन् । उनले सी विचारधारा नेपालमा उपयुक्त नभएको पनि बताएका छन् ।

– प्रदेश सरकारले बजेट कार्यान्वयन कार्यविधि समयमै नपठाउँदा प्रदेश नम्बर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका कार्यालयहरु कामविहीन बनेका छन् । आर्थिक वर्ष सुरु भएको तीन महिना पुग्नै लाग्दासमेत कार्यविधि नहुँदा बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या भएको छ ।

– नेपाली कांग्रेसका जिल्ला सचिव प्रेमबहादुर सिंह रायमाझी सहित जिल्लाका ३३ जना कांग्रेस नेता तथा कार्यकर्तासँग चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको र पार्टीको हित विपरीत काम गरेको भन्दै अनुशासन समितिले स्पष्टीकरण मागेको छ ।

– सत्तारुढ दल नेकपाकी नेतृ पम्फा भुसालले ललितपुरमा ‘पर्यटकीय सूचना केन्द्र’ स्थापना गर्ने घोषणा गर्नु भएको छ । भुसालले ललितपुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ त्यहाँका मंगलबजारलगायतका पर्यटकीय स्थलहरु पर्यटकीय सूचना केन्द्र स्थापना गर्न लागिएको बताउनु भएको हो ।

– निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणासँगै धरानमा मेयरका आकाङ्क्षीहरुले नाम सार्वजनिक गरिरहेका बेला नेकपाबाट अर्का एक नेताले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेकपा र काङ्ग्रेसका आकाङ्क्षीको नाम सार्वजनिक भइरहेकै बेला नेकपाको जिल्ला तहका एक नेताले पनि मेयरमा बुधबार पत्रकार सम्मेलन गर्दैै आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङघ्घको ७४औँ महासभा बैठकमा सहभागी भई बुधबार राति स्वदेश फर्कनुभयो । महासभा बैठकमा भाग लिने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलका नेता ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्मेलन, सबैका लागि स्वास्थ्य र विकासका लागि आर्थिक स्रोतको व्यवस्था विषयक बेग्लाबेग्लै बैठकमा भाग लिनुभएको थियो ।

– चिनियाँ राष्ट्रपति सी चिनफिङ अर्को साता एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदै छन् । विमानस्थलस्थित स्रोतका अनुसार उक्त विशेष विमान एक रात काठमाडौं विमानस्थलमै पार्किङ गरिनेछ ।

– गाडी अन्य पार्टीका नेताहरूले चढिरहेका छन्। तर सत्तारूढ नेकपाले ती सबै गाडी आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ। नेकपाले प्रतिबन्धित नेकपा महासचिव विप्लव, पूर्वप्र्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत ११ नेताको गाडी सम्पत्ति विवरणमा राखेको हो।

Share This: