Tuesday, October 15th, 2019
विदेशमा आज

विदेशमा आज

– फ्रान्सको राजधानी पेरिसस्थित प्रहरी मुख्यालय भित्र एक व्यक्तिले चक्कु प्रहार गरी चार प्रहरीको हत्या गरेका छन् । प्रहरीले आक्रमणकारीलाई पनि मारेको छ । फ्रान्सका मिडियाका अनुसार करिब २० वर्षदेखि पेरिस पुलिस फोर्सको प्रशासनिक पदमा कार्यरत आक्रमणकारीको उमेर करिब ४५ थियो । उनले जासुसी विभागमा काम गर्दथे ।

– भारत र पाकिस्तानबीच यदि परमाणु युद्ध भयो भने एक हप्ताभित्र कम्तीमा ५० लाखदेखि १२ करोड ५० लाख मानिसको ज्यान जान सक्छ । एक अध्ययनमा यो कुरा बताइएको हो । अध्ययनका अनुसार भारत–पाकिस्तान परमाणु युद्धको स्थितिमा ज्यान गुमाउने मानिसको संख्या दोस्रो विश्व युद्धमा ज्यान गुमाउने भन्दा धेरै हुनेछ ।

– अफगानिस्तानस्थित तालिवान लडाकुको एक टोलीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग भेटवार्ता गरेको छ । तालिवान लडाकुका शीर्ष कमाण्डर मुल्ला अब्दुल गनी बरादर नेतृत्वको ११ सदस्यीय अफगान तालिवानको टोलीले प्रधानमन्त्री खानसँग भेटवार्ता गरेको हो ।

– अमेरिकी प्रतिबन्धका कारण इन्धनको अभाव झेल्नु परेको क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिगेजले इन्धनको बदलामा मुलुकको स्वाभिमानको सौदाबाजी गर्न नसक्ने बताउनुभएको छ । विदेश मन्त्री रोड्रिगेजले क्युबामाथि आर्थिक, व्यापारिक र वित्तीय प्रतिबन्ध लगाउने अमेरिकी प्रशासनको रबैयाको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्नुभयो ।

– भारतको राजधानी नयाँ दिल्लीमा नवरात्र र रामलीला पर्वको उत्सव चलिरहँदा आतंकवादी संगठन जैश–ए–मोहम्मदका तीन–चार जना लडाकु घुसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो खबरपछि नयाँ दिल्ली र राष्ट्रिय राजधानी क्षेत्र ९एनआरसी० मा सुरक्षा व्यवस्था थप बलियो बनाइएको छ ।

– भारतको ‘दूरदर्शन’ टीभीका सहायक निर्देशकलाई प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण प्रत्यक्ष प्रसारण नगरेका कारण निलम्बन गरिएको छ । गएको सेप्टेम्बर ३० मा प्रधानमन्त्री मोदीले चेन्नईको आईआईटी मद्रासको अनुसन्धान केन्द्रमा आयोजित ‘सिंगापुर–इण्डिया ह्याकाथन’ २०१९ मा भाषण गरेका थिए । दूरदर्शनका सहायक निर्देशक आर. वासुमतिले त्यो कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गर्न नसकेको आरोप छ ।

– यमनमा द्वन्द्वरत विद्रोही हुथी समूहले शान्तिका लागि देखाएको संकेतसँगै संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्स यमन भ्रमण गरेका छन् । उनी मंगलबार सानामा पुगेका थिए । साना र रियादलाई विश्वासमा लिएर यमनी शान्तिवार्तालाई स्कटहोम सहमतिअनुरूप अघि बढाउन तत्काल उनले पहल थाल्ने बताइएको छ ।

Share This: