Tuesday, October 15th, 2019
संक्रामक रोग र डेंगु ज्वरो

संक्रामक रोग र डेंगु ज्वरो

मानिस चेतनशिल प्राणी हो र चेतनाका कारण नै ऊ सधैँ अरू प्राणी भन्दा अगाडी रहेको छ । आफू र आफ्नो परिवारका लागि सुरक्षित घर बनाउने देखि सरसफाइ गर्ने एउटा मात्र प्राणी हो मानिस । हुन त मानिस सचेत प्राणी भए पनि, सफा सुग्घर गरे पनि अन्य जनावरको तुलनामा उसको संक्रामक रोगसँग लड्ने क्षमता कम हुने गर्छ । त्यसैले विभिन्न समयमा देखिपरेका रुढीहरुबाट मानिस नै प्रभावित भएको पाइन्छ । सयौँ हजारौँ मानिस यस्ता संक्रामक रोगबाट मरिरहेका तथ्यांक हामी दैनिकजसो सुनिरहेका छौँ वा पढिरहेका छौँ । संक्रामक रोगको कारण भनेकै फोहोर वातावरण हो, फोहोर खानेकुरा हो, प्रदुषित पानी हो र, संक्रामक परजीवीलाई हाम्रै वातावरणमा हुर्कने र रोग फैलाउन दिने अनुकूल वातावरण तयार पारिदिनु हो ।

ज्यानमारा रोग डेंगु

हरेक वर्ष जसो बर्खा सकिने वित्तकै डेंगु जस्तो ज्यानमारा रोग फैलाउने लामखुट्टे हरेक सहर र गाउँमा फैलिने गरेको छ । हामी दमक बासीले गतसाल पनि धेरै डर त्रास र केहीको ज्यान नै गुमाएका छौ । यो वर्ष पनि डेंगु देखा परीरहेको छ र अझ पनि देखा पर्न सक्छ । यो ज्यानमारा संक्रामक रोगबाट बच्ने एउटै उपाय सरसफाइ हो भनेर धेरैलाई जानकारी भए पनि हामीले हाम्रो वरपर सफा राख्न सकिरहेका छैनौँ । हामी हरेकले आफ्नो घर आँगन र वरपर सफा राख्ने हो भने, नबुझेकालाई बुझाउने हो भने, सचेतना सम्बन्धी कार्यक्रमहरू गर्ने हो भने, पुराना टायर, पानी जम्ने ठाउँ, खाल्डा खुल्डी पुर्ने हो भने र सफा पानी जम्ने स्थान अनि घरमा नै रहेका फ्रिज या अन्य सामाग्रीमा लामो समयसम्म पानी नजम्ने वातावरणको व्यवस्था मिलाउने हो ,चर्पी व्यवस्थित बनाउने हो भने पनि हामी धेरै संक्रामक रोगबाट बच्न सक्छौ । बेलाबेलामा गाउँ या नगरपालिकाले लामखुट्टे र अन्य परजीवी मार्ने विषादी छर्किएमा धेरैखाले यस्ता संक्रमक या महामारी मच्चाउने रोगबाट बच्न सकिन्छ ।

डेंगु एउटा कडा खाले भाइरसबाट लाग्ने रोग हो । यो रोग एड्स एजिप्थाई नामको फिमेल लामखुट्टेले टोक्दा लाग्छ । यो लामखुट्टे भाइरस बाट संक्रमित हुन्छ र स्वस्थ मानिसमा टोकेमा यो रोग सर्ने सम्भावना धेरै हुन्छ । यसमा पनि यदि सम्बन्धित मानिसमा त्यो भाइरससँग लड्ने रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थामा रोगका लक्षणहरू देखा पर्छन् भने यदि रोग प्रतिरोधात्मक क्षमता
बलियो छ भने पनि भाइरस शरीरमा रहिरहन्छ र त्यो मानिसलाई माथि भनिएको लामखुट्टेले टोकेमा र अर्को मानिसलाई टोकेमा भाइरस सर्ने र रोगका लक्षण सर्ने हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै सबै भन्दा बुद्धिमानी हुन्छ र लामखुट्टे नै फैलिन नदिनु र भएकालाई पनि नष्ट गर्ने उपाय अवलम्बन गर्नु सबैभन्दा राम्रो कार्य हो ।

नेपालमा मात्र नभएर छिमेकी देशमा पनि डेंगु रोगले धेरैको ज्यान लिइसकेको हुँदा यो रोगका लक्षण र बचावका उपायहरूको जानकारी हुनु आवश्यक छ । यो एक ज्यानलेवा संक्रामक रोग हो । यसले शरीरका मांसपेशी मात्र नभएर हड्डीसम्म असहय हुने गरी दुख्ने हुँदा यस रोगलाई हड्डितोड ज्वरो पनि भनिन्छ । यो मुख्य गरेर दुई प्रकारको हुन्छ । हेमोरेजिक अर्थात् मुख र अन्य शरीरका भागबाट रत्तनसा फुटेर रगत बग्ने र अर्को ज्वरो आउने अनि जीउ, टाउको अनि शरीरका हड्डीसम्म दुख्ने । यसका लक्षणहरू यति कडा हुन्छन् की औषधीले नियन्त्रण गर्न निक्कै कठिन हुन्छ र समयमा नै उपचार नपाएमा बिरामीको मृत्यु पनि हुनसक्छ । त्यसैले यो रोगका बारेमा बेलैमा बच्ने जानकारी, रोकथाम र उपचारका बारेमा जनीराख्नु राम्रो हुन्छ ।

अन्त्यमा हामी मानिस प्राणी मध्येका बुद्धि र विवेक भएका हौ । कुनै कुराको समस्या छ भने त्यसको समाधान पनि हुन्छ । समाधान पनि हामीसँगै छ । खाली हामी सचेत र जागरुक हुनुपर्छ । यस्ताखाले रोगबाट बच्न हामीले आफ्नो घर, आँगन, टोल अनि गाउँ या नगर सफा राख्नु पर्छ । सफा या फोहोर पानी जमेको भए या खाल्डा खुल्डी भए पुर्न‘ पर्छ । विशेष गरेर यो रोग फैलाउने लामखुट्टे सफा जमेको पानीमा फुल पार्ने हुँदा त्यस्तो पानी जमेको ठाउँलाई पानी नजम्ने बनाउनु पर्छ । सम्भव नभए केमिकल या मट्टितेल छर्कनु पर्छ । घर वरपर रहेका टायर र अन्य पानी जम्ने बस्तु भए हटाउनु पर्छ । राती या दिउसो सुत्दा झुल अनिवार्य लगाउनु पर्छ । घर बाहिर हिँड्दा या घरमै या अफिसमा बस्दा पुरा बाउला भएका लुगा लगाउनु पर्छ । ओडोमस जस्ता लोशन लगाएर हिँड्नु या सुत्नु पर्छ । घरमा फ्रिज भए पछाडि जम्ने पानीलाई सफा गरिरहनु पर्छ ।

संक्रमण हुने सम्भावना रहेमा या ज्वरोसँगै जिउ दुख्ने लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य केन्द्र या चिकित्सक सँग सम्पर्कमा रहनु पर्छ । यो रोगको या यो रोग निम्त्याउने भाइरसको औषधी उपलब्ध हुन नसकेका कारण उपचार पनि अझै जटिल रूपमा नै रहेको हुँदा बिरामीको लक्षण अनुसार अस्पतालमा राखेर उपचार गरिने गरिन्छ । होमियोप्याथिक चिकित्सा प्रणालीमा भने हरेकखाले रोगको लक्षण चिन्हका आधारमा उपचार गरिने हुँदा डेंगु जस्ता संक्रामक रोगको उपचार यो चिकित्सा विज्ञानमा रहेको कुरा पनि यो पङ्क्तिकार सम्पूर्ण नागरिकमा जानकारी गराउन चाहन्छ ।

Share This: