Tuesday, October 15th, 2019
माता दुर्गाको ९ रुपको महत्व

माता दुर्गाको ९ रुपको महत्व

माता दुर्गाको पूजा आराधानाको महापर्व नवरात्री तथा दसैँ हाम्रो घरआँगनमा आई पुगेको छ । दसैमा नौ दिन सम्म माता दुर्गाको ९ वटा रुपको पूजा आराधाना गरिन्छ । महाकाली महालक्ष्मी र महासरस्वती यी तीन देवीहरु क्रमशः महादेव, विष्णु र ब्रम्हाका शक्तिका रुपमा मानिन्छन् । यी तीन देवीहरुको पनि तीन तीन वटा स्वरुप छ । दशैको नवरात्रीमा दुर्गाका यिनै स्वरुपको पूजा अर्चना गन्छि । आज माता दुर्गाका यिनै ९ वटा रुपहरुको महत्वका बारेमा जानी राखौ ।

शैलपुत्री

शैलपुत्री माता दुर्गाको पहिलो रुप हो । नवरात्रीको पहिलो दिन यिनैको पूजा गरिन्छ । पर्वतराज हिमालय कहाँ जन्मिएकाले उनलाई शैलपुत्री भनिन्छ । माता शैलपुत्री आफ्ना भक्तहरुलाई अन्न–धनले भरिपूर्ण गरी दिन्छिन् । यस दिन मातालाई गाईको घिउ चढाउनुपर्छ । यसबाट आरोग्यको प्राप्ति हुनेछ ।

ब्रम्हचारिणी

माता दुर्गाको दोस्रो रुप ब्रम्हचारिणी हो । नवरात्रीको दोस्रो दिन माता दुर्गाको यस रुपको पूजा गरिन्छ । यिनको उपसनाले संयम र वैराग्यको भावना पुष्ट हुन्छ । यस दिन प्रसादको रुपमा चिनी चढाउदा आयु वृद्धि हुन्छ भन्ने मान्यता रहेको छ ।

चन्द्रघण्टा

माताको तेस्रो रुप चन्द्रघण्टा हो । यिनको आराधना तृतियाको दिन गरिन्छ । माताले भक्तलाई सबै पापबाट मुक्त गराउछिन् । यिनको पूजा गर्दा बलमा वृद्धि हुन्छ । स्वरमा दिव्य अलौकिक मधुरता आउँछ । यस दिन गाईको दूध प्रसादको रुपमा चढाउनु उतम हुन्छ । यसबाट दुःखबाट मुक्ति मिल्छ ।

कुष्माण्डा

माताको चौथौ रुप कुष्माण्डा हो । नवरात्रीको चौथौ दिन माता कुष्माण्डाको आराधना गरिन्छ । यिनको उपसनाले भक्तहरुलाई सिद्धि प्राप्त हुन्छ । मानिसहरु निरोगी हुन्छन् र आयु तथा यशमा वृद्धि
हुन्छ ।

स्कंदमाता

नवरात्रीको पाँचौ दिन माता दुर्गाको पाँचौ रुप स्कंदमाताको पूजा आराधना गरिन्छ । माताले भक्तहरुको सबै इच्छा पुरा गर्छिन् र मोक्ष दिलाउछिन् । यस दिन मातालाई प्रसादको रुपमा केरा चढाउदा शरीर स्वस्थ रहन्छ भन्ने मान्यता रहेको छ ।

कात्यायनी

नवरात्रीको छैठौ दिन माताको छैठो रुप कात्यायनीको पूजा गरिन्छ । यिनको पूजा गर्दा शरीरमा अद्भुत शक्तिको सञ्चार हुन्छ । देवी कात्यायनीले आफ्ना भक्तहरुलाई शत्रुको संहार गर्न सक्षम बनाउछिन् ।
यस दिन मह चढाउदा आकर्षण प्राप्त हुन्छ ।

कालरात्रि

सातौ दिन देवी कालरात्रिको पूजा आराधना गरिन्छ । यिनको पूजा गर्दा सबै पापहरुबाट मुक्ति मिल्छ र शत्रुको नाश हुन्छ । यस दिन गुड चढाउदा शोकबाट मुक्ति मिल्छ ।

महागौरी

आठौ दिन देवीको आठौ रुप महागौरीको पूजा गरिन्छ । उनलाई महाकाली पनि भन्ने गरिन्छ । यस दिन देवीको पूजा गर्दा समस्त पाप नाश हुनुका साथै कान्ति बढ्छ, सुखमा वृद्धि हुन्छ । अष्टमीका दिन नरिवल चढाउदा सन्तानको कामना पुरा हुन्छ ।

सिद्धिदात्री

नवौ दिन माता सिद्धिदात्रीको पूजा गरिन्छ । यिनको पूजा गर्दा भक्तहरुले हरेक प्रकारको सिद्धि प्राप्त गर्न सक्छन् । नवमीका दिन कालो तिल चढाउनु पर्छ । यसबाट भक्तलाई मृत्युको भयले सताउदैन ।

समग्रमा भन्नु पर्दा महाकालीको रुपमा माता दुर्गाको आराधनाले समस्त कष्ट तथा पापबाट मुक्ति दिलाउछ । महालक्ष्मीको रुपमा दुर्गाको आराधनाले धन, ऐश्वर्य र कीर्ति प्रदान गर्छ भने महासरस्वतीको रुपमा माता दुर्गाको आराधनाले भक्ति, ज्ञान र मुक्ति प्रदान गर्छ । दसैमा माता दुर्गाको प्रतिमा द्धारा माताले महिषासुरको वद्य गरिरहेको देखाइन्छ । यो प्रतिकात्मक रहेको छ । दसैले नारी शक्तिको आभास
दिन्छ ।त्यसै गरी शत्रुमाथि विजय प्राप्त गर्नुको अर्थ मानिसको शरीर तथा मनमा काम, क्रोध, लोभ, मोह जस्ता विभिन्न शत्रुको वास हुन्छ र हामीले आफूभित्रको शत्रुको नाश गर्नुपर्छ । नवरात्रीमा साना केटीहरुको पूजा गरी नारी शक्तिको सम्मान पनि गरिन्छ ।

Share This: