Tuesday, October 15th, 2019
विजयको प्रतिक विजया दशमी

विजयको प्रतिक विजया दशमी

दशै एउटा चाड मात्र होइन, यो विभिन्न कुराहरुको प्रतिकको रुपमा पनि रहेको छ । सत्य, साहस, मानवता, धर्म, पाप, निःस्वार्थ सहायता, मित्रता, वीरता र सबैभन्दा ठूलो अंहकार जस्तो बेग्ला बेग्लै तत्वहरुको प्रतीक हो । यस संसारमा सँधै नै नराम्रा प्रतीकहरु माथि राम्रो प्रतिकहरुको विजय हुँदै आएको छ । हरेक युग तथा शताब्दीमा यस्ता कथाहरुलाई उपदेशका रुपमा लिइने गरिन्छ । दशै असत्य माथि सत्यको विजयको रुपमा मनाइने चाडका रुपमा लिइन्छ । प्रतिभाशाली हुँदा हुँदै पनि अंहकारमा डुबेका र नराम्रो बाटोमा लागेका राक्षसको नाश गरेको कारणले देवी नवदुर्गाको पूजा अर्चना गरिन्छ । यसबाहेक दशैलाई सामाजिक रुपमा मेल मिलाप तथा विजयको खुशीयाली मनाउने चाडको रुपमा पनि मानिन्छ । त्यसैगरी युद्धका कारण दशैमा शस्त्रहरुको पनि पूजा गर्ने चलन छ ।

दशै हामी नेपालीहरुको सबैभन्दा ठूलो चाड हो । त्यसैले यसलाई बडादशै पनि भन्ने चलन छ । घटस्थापना देखि माता काली र माता दुर्गाका नौ रुपहरुको नौ दिन सम्म पूजा अर्चना गर्ने गरिन्छ । नवमी पछि विजया दशमी मनाईन्छ । विजयका लागि ज्ञान , घन र शक्ति जस्ता ३ कुराहरुको आवश्यकता पर्छ र नवमी सम्मका नौ रातमा नै यी तीन गुणहरु प्राप्त गरिन्छ । जीवनमा सफलता पाउनका लागि ज्ञान, अर्थ र शक्ति तीन वटै वस्तुहरु महत्वपूर्ण हुन्छन् । घटस्थापना देखिको पहिलो तीन रातलाई ज्ञानरात्री अर्थात अज्ञानको नाश गरी ज्ञानमा वृद्धि गर्ने रात मानिन्छ । यी दिनहरुमा आत्मशक्तिको अनुभव गरिन्छ । त्यस पछिको तीन रातलाई अर्थ रात्रि अर्थात् धनसम्पति र सुखमा वृद्धि हुने रात मानिन्छ । यस अवधिमा देवी लक्ष्मीको उपासना गरिन्छ । अन्तिम तीन रातलाई शक्ति रात्रि मानिन्छ । सप्तमी, अष्टमी र नवमीलाई मोक्ष रात्रि पनि भनिन्छ । जसमा क्षमता, सामथ्र्य र शक्तिको वृद्धि हुन्छ । यसपछि दशमी आउँछ । दशमीको अर्थ हाम्रो पाँच ज्ञानेन्द्रीय र ५ कर्मेन्द्रीय हुन् । यी इन्द्रियहरुमा माथि जीत प्राप्त गरी हामी आफ्नो शक्ति र क्षमतालाई मूल्यांकन गरी विजय प्राप्त गर्न सक्छौ ।

विजया दशमीको अर्थ आफू माथि नियन्त्रण गर्नु पनि हो । दशैमा हामी विशेष रुपमा देवी नव दुर्गाको पूजा आराधना गर्छौ । वास्तवमा भगवान शिवकी अर्धागिनी देवी पार्वतीलाई नै शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघंटा, कुष्मांडा, स्कंदमाता, कात्यायिनी कालरात्रि, महागौरी सिद्धिदात्री आदि नामले चिनिन्छ । यस बाहेक पनि माताका विभिन्न नामहरु छन् । जस्तै दुर्गा, जगदम्बा, अम्बे, सिंहवाहिनी आदि । सत्य युगमा दक्षप्रजापतिको छोरी सतीलाई देह त्याग गरी हिमालयको पुत्रीको रुपमा देवी पार्वतीको रुपमा पुनः जन्म भयो र माता नव दुर्गालाई वहाँकै अवतार मानिन्छ ।

देशविदेशमा दशै

नेपाल बाहेक मरीशसमा पनि दशैलाई नवरात्रिको अन्तिम दिनका रुपमा सबैभन्दा ठूलो र सबैभन्दा लोकप्रिय हिन्दु चाडको रुपमा मनाइन्छ । यसबाहेक भारत, इडोनेशिया, मलेशिया, श्रीलंका, चीन र थाईल्याण्ड तथा अन्य थुप्रै देशहरुमा दशै मनाइन्छ । भारतमा कतै रामायणलाई आधार मानेर दशै मनाईन्छ भने कतै देवी नवदुर्गालाई स्थापना गरी दशै मनाइन्छ । तर हाम्रो नेपालमा मात्र विजय दशमी देखी देवीको आर्शिवादका रुपमा आफ्ना मान्यजनहरुबाट टिका लगाई आर्शिवाद लिने चलन छ । यस चाडले हाम्रा मान्यजनहरुलाई आदर तथा सत्कार गर्न सिकाउँछ साथै सानालाई माया तथा आर्शिवाद दिन सिकाउँछ । त्यसैले पनि यो चाड हाम्रो महान् चाडको रुपमा रहेको छ ।

Share This: