Tuesday, November 19th, 2019
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– सप्तरीको तिरुहुत गाउँपालिका–३, पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको हो ।

– सरकारी अस्पतालमा उपचार गराउन आउने बिरामीलाई ललाई फकाई नीजि क्लिनिकमा लैजाने गरेको आरोपमा प्रहरीले दुई जना बिचौलियालाई जनकपुरधामबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वडा नम्बर ८ बस्ने २५ बर्षीय मन्नु सिंह भनिने निर्मल साह र सोही ठाउँका ४० बर्षीय राजेश यादव छन् ।

– आफ्नै घरको विद्युत्को तार सर्ट हुँदा बनाउने क्रममा बिहीबार दिउँसो झापाको अर्जुनधारा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा अर्जुनधारा–३ कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरी रहेको छ ।

– भरतपुर महानगरपालिका–५ स्थित पञ्चरत्न चोकमा स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

– बैतडी जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा शुक्रबार भेट्टिएका छन् । पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उनको शव शुक्रबार बिहान फेला परेकोले जानकारी दिएको छ ।

– प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । भारतीय मोटरसाइकलमा नेपाल आउँदै गरेका भारतीय नागरिक सुधीरकुमार, सहिद आलम र बिक्कीकुमार पक्राउलाई पक्राउ गरी १८ लाख अवैध नेपाली रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो । जहाजमा सामान्य क्षति भएको छ ।

– रौतहट काण्डमा मुछिएका शसस्त्र प्रहरी रौतहटका तत्कालीन एसपी रामकृष्ण लामा हङकङमा भेटिएका छन् । उनलाई इन्टरपोल मार्फत नेपाल ल्याउने तयारी भइरहेको प्रहरी प्रधान कार्यलयले बताएको छ । आलमको निर्देशनमा बम विष्फोटका घाइतेलाई एसपी लामाको गाडीले स्कटिङ गरेर इँटाभट्टासम्म पुर्याइएको खुलासा भएको छ ।

– सामूहिक बलात्कारको पीडा बेहोरेकी एक महिलाको पक्षमा चितवन जिल्ला अदालतले दुई वर्षपछि फैसला गरेको छ । बलात्कारमा संलग्न चार जनालाई अदालतले बुधबार ११ वर्ष कैद हुने सजाय सुनाएको हो । सजाय तोकिएकामा भरतपुर–१२ का निसान गुरुङ, सागर गौतम, भरतपुर बसपार्क चोकका विजय सुनार र भरतपुर–८ का सुजन पौडेल रहेका छन् ।

Share This: