Tuesday, November 12th, 2019
राजनीतिमा आज

राजनीतिमा आज

– भारतले एकतर्फी रुपमा नेपालको भूमि आफ्नो दाबी गर्दै निकालेको नयाँ राजनैतिक नक्साप्रति नेताहरुले विरोध जनाउँदै तत्काल सम्वादमार्फत सीमा समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । भारतले एक साताअघि सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई राखेपछि त्यसको देशव्यापी रुपमा विरोध भइरहेको छ ।

– प्रदेश २ मा कार्यरत्त निजामती कर्मचारीहरुले अब आन्तरिक पर्यटनमा जाँदा एक महिनाको थप तलब सुविधा पाउने भएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यले प्रदेश २ सरकारले यस्तो कानुन बनाएको हो ।

– बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आगामी मंगलबार नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा हमिद तीन दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल बसाईका क्रममा उनले राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, परराष्ट्रमन्त्री र प्रमुख दलका शीर्ष नेताहरुलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

– भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरुले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको समिति सचिवालयले जनाएको छ ।

– निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएकाहरूको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्वाचनका लागि आयोगले कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ रिक्त स्थानका लागि ६५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

– आमरण अनसनरत डा।गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ । डा। केसी अनसन बसेको सातदिन बितिसक्दासमेत सरकारले कुनै सुनुवाई नगरेको भन्दै समर्थकले सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् ।

– जिल्ला सुरक्षा समिति दाङले आउँदो मंसिर १४ गते हुने उपचुनावका लागि आवश्यक सुरक्षा रणनीति तयार पारेको छ । समितिले भूगोल, सञ्चार तथा दूरीका हिसाबले सुरक्षा संवेदनशीलताको वर्गीकरण गरेको छ । उपनिर्वाचनका लागि ६ वटा मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रुपमा पहिचान गरिएको छ । त्यसैगरी २६ मतदानस्थललाई संवेदनशील र २ वटा मतदान स्थललाई सामान्यको सूचीमा राखेको छ ।

Share This: