Friday, December 13th, 2019
राजनीतिमा आज

राजनीतिमा आज

– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि नेकपाको सचिवालय बैठक बसेको पहिलो पटक हो । यही मंसिर ४ गते नेकपाले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको थियो ।

– ९ दिनदेखि अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको प्रधानमन्त्री निकटस्थ स्रोतले जनाए पनि अस्पतालले भने चिकित्सकीय अवलोकनमा राखिएको जनाएको छ । एपेण्डिसाइटिसको अपरेशनपछि अस्पताललमै आराम गरिरहेका ओलीले बालुवाटारमै आराम गर्ने मनसाय बनाएपछि अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको हो ।

– प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपचुनाव सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको चुनावको तयारीमा जुटेको छ । राष्ट्रिय सभा सदस्य चुनावका लागि संसदबाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ताले जानकारी दिनुभयो । उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ ।

– मालपोत र नापी कार्यालय साँखुले अदालतलाई गलत विवरण दिएको पाइएको छ। फैसला प्रभावित गर्न खोजेपछि काठमाडौं जिल्ला अदालतले अख्तियार दुरुपयोग अनसुन्धान आयोगलाई छानबिन गर्न भनेको छ। कागेश्वरी-मनोहरा नगरपालिका-२ आलापोटको कित्ता नम्बर १८६ को १२ आना जग्गा विवादमा मालपोत र नापीले हुँदै नभएको विवरण पेस गरेपछि विवाद भएको हो।

– सर्वोच्च अदालतका नायब सुब्बा सुधीरकुमार खड्काविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तरगत आरोप–पत्र दायर गरेको हो । खड्काले देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनेर २ लाख ५० हजार रुपैयाँ मागेका थिए ।

– गृह मन्त्रालयले पाँच प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ६ जनाको सरुवा गरेको छ । सरूवा हुनेहरूमा नारायण प्रसाद भट्टराई, नारायण प्रसाद भट्ट, जितेन्द्र बस्नेत, हुमकला पाण्डे, डिजन भट्टराई र लक्ष्मण बहादुर खड्का रहेका छन् ।

– भारतीय नक्सामा नेपाली भूमि समेटिएको विषयमा कुरा गर्न विशेष दूत बनेर दिल्ली जान लागेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भ्रमण तत्कालका लागि रोकिएको छ। भारतीय पक्षले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि समय नदिएपछि तत्कालका लागि उनको भारत भ्रमण रोकिएको हो।

– कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले उपनिर्वाचनमा विजय हासिल गरेर पार्टी र आफ्ना श्रीमान् स्वर्गीय रवीन्द्र अधिकारीको समेत विरासत जोगाउनुभएको छ । आफ्नो कर्मघर अर्थात श्रीमान् स्व. रवीन्द्र अधिकारीको जन्मघर समेत रहेको यस निर्वाचन क्षेत्रमा २४ हजार ३ सय ९४ मतले प्रतिस्पर्धी नेपाली कांग्रेसलाई पराजित गर्दै जितेर उहाँ सांसद बन्नुभएको छ ।

– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष(२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदूतलाई आग्रह गरेका छन्। बुधबार मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले यस्तो आग्रह गरेका हुन्। सँगै मन्त्री भट्टराईले पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखसमेत भ्रमण वर्ष सफल पार्न सहयोग गर्न आग्रह गरे।

– अहिले महिला हिंसाविरुद्धको अभियान चलिरहेको छ। २५ नोभेम्बरदेखि ८ डेसेम्बरसम्म चल्ने अभियानमा विभिन्न संघ संस्थाले कार्यक्रम गरिरहेका छन्। तर, महिलाकै क्षेत्रमा काम गर्ने संघीय संसद्को महिला तथा सामाजिक समिति यही बेला निस्क्रिय छ।

– अभियानमा सरकारसँग समन्वय गरेर महिला हिंस अन्त्यका क्षेत्रममा काम गर्नुपर्ने समितिको दसैंअघिबाटै बैठक समेत बस्न सकेको छैन।

– धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि उनले धरान १६ स्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए । त्यसैगरी धरान १९ स्थित हरियाली सामुदायिक वन समूह हाताभित्र रहेको स्वर्गीय मेयर तारा सुब्बाको शालिकमा पनि माल्यार्पण गरेका थिए ।

Share This: