Friday, December 13th, 2019
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– डोटी जिल्लाको जोरायल गाउँपालिका–१, घण्टेश्वर खारमा मंगलबार दिउँसो डीपीटी पेण्टा, एफआईपिभी खोप र पोलियो थोपा खुवाइएका पुष्कर मल्लको खोपकै कारण ज्यान गएको उनको परिवारले दाबी गरेका छन् । तर, स्वास्थ्यचौकीले भने खोपका कारण बालकको मृत्यु भएको परिवारको दाबीको खण्डन गरेको छ । खोपका कारण भए त खोप लगाएको आधा घण्टाभित्रै कुनै न कुनै समस्या देखिन्छ, बालकमा त्यस्तो भएको नदेखिएको बताएको छ ।

– सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको आश्रममा रिपोर्टिङका लागि पुगेका पत्रकारलाई ब्रोसरभित्र लुकाएर पैसा दिने सिद्धबाबाका साहयोगीमाथि कारबाहीको माग गर्दै सुनसरी जिल्ला प्रहरी कार्यालयमा निवदेन दर्ता भएको छ । सिद्धबाबाका अनुयायी भनिने बुद्ध शाक्यले झुक्याएर दिएको तीन हजार रुपैयाँ र ब्रोसरसहित मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा निवदेन दर्ता भएको हो ।

– पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको माईस्थानमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा डेढ दर्जन व्यक्ति घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेहरुमा धनुषाको धनुषाधाम नगरपालिका २ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतीय नागरिक ६५ वर्षीया बर्तनीया देवी महतो छन् ।

– अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् । नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले परीक्षा बहिस्कार गरेका हुन् ।

– बागलुङको बडिगाड गाउँपालिका-७, भिमगिठेको घोकर्नामा मंगलबार भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । जीप मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ सडक खण्डको छेउबाट झण्डै ३ सय मिटर तल बडिगाड खोलामा खस्दा बेपत्ता भएका इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्कीको बुधबार शव फेला परेको छ ।

– दमक–६ मा रहेको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक फरार भएका छन् । सहकारीको कार्यालय बिहीबार देखि बन्द छ । सोही सहकारीमा ७ वर्षदेखि बजार प्रतिनिधिको काम गर्दै आएकी विन्दादेवी रिजालका अनुसार करिब डेढ करोड रुपैयाँ हिनामिना गरेर व्यवस्थापन समूह नै सम्पर्क बाहिर छ ।

Share This: