Friday, January 24th, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक गरिएको छ । यो चलचित्र आउँदो बर्षको वैशाख १२ गतेबाट रिलिज हुँदैछ । चलचित्रको टिजरमा एक्सनलाई नै बढी स्थान दिइएको छ । चलचित्रका मुख्य कलाकारको गेटअप, एक्सनमा ठूलो क्यानभास देखिन्छ । ३ सय मिलियन डरलको चलखेलको कथामा यो चलचित्र बनेको छ । चलचित्रको टिजरमा मुख्य कलाकारहरु शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, नविन मानन्ध्र, एन्जल श्रेष्ठ लगायतलाई देख्न सकिन्छ ।

– दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा भएको हिंसाको विरोधमा उत्रिएका विद्यार्थीहरुको समर्थन गर्न पुगेकी नायिका दीपिका पादुकोणमाथि भारतको केन्द्रिय मन्त्री स्मृती इरानी खनिएकी छिन् । चेन्नाइमा आयोजना भएको एक कार्यक्रममा मन्त्री इरानीले दीपिकाले सन् २०११ देखि नै कांग्रेस पार्टीलाई समर्थन गर्ने बताएकी छिन् । सामाजिक संजालमा भाइरल भएको एक भिडियोमा दीपिकाले राहुल गान्धी प्रधानमन्त्री बनेको हेर्न चाहेको बताएकी थिइन् ।

– बलिउडकी अदाकारा शिल्पा सेट्टी छिट्टै ‘हंगामा– २’ मा देखिँदैछिन्। फिल्ममा शिल्पाको साथमा परेश रावल, जावेद जाफरीका छोरा मिजान जाफरी र प्रनिता सुभास मुख्य भूमिकामा छन्। यो फिल्मको सुटिङ सुरु भइसकेको छ। फिल्मको सेटबाट शिल्पाले आफ्नो सोसल मिडिया अकाउन्टमा हंगामाको सेटबाट भिडियो सेयर गरेकी छन्। भिडियोमा शिल्पाले फिल्मको बारेमा बोलेकी छन्। शिल्पाले भनिन्, ‘नयाँ फिल्म र नयाँ साल। नयाँ उमंगसँग हंगामा– २ को सुटिङ गर्दै गरेको बताएकी छिन् ।

– नायक सलमान खानका चलचित्र हरेक बर्षको इदमा रिलिज हुन्छन् । बलिउडमा इद भन्ने वित्तिकै सलमानको हो भन्ने समेत भइसकेको छ । यो बर्ष पनि सलमानको नयाँ चलचित्र ‘राधे’ इदको अवसर पारेर रिलिज हुँदैछ । यो चलचित्रमा सलमान एक्सन अवतारमा देखिदैछन् । उनै, सलमानको सन् २०२१ को इदमा रिलिज हुनेगरि नयाँ चलचित्र घोषणा गरिएको छ । उनको नयाँ चलचित्रको नाम ‘कभी ईद कभी दिवाली’ राखिएको छ । सलमान खान र निर्माता साजिद नाडियाडवाले यो चलचित्रमा सहकार्य गर्न लागेका हुन् । यो चलचित्रलाई फरहदा साम्जीले निर्देशन गर्ने भएका छन् ।

– गतबर्ष चलचित्र ‘कविर सिंह’बाट बलिउडमा तारिफ कमाएका नायक साहिद कपुर यतिबेला नयाँ चलचित्र ‘जर्सी’को छायांकन गरिरहेका छन् । साहिद, चलचित्रको छायांकनका क्रममा घाइते भएका छन् । मोहालीमा क्रिकेट खेलिरहेको दृश्यको छायांकनका क्रममा साहिदको अनुहारमा गम्भिर चोट लागेको छ । उनको अनुहारमा १२ टाँका लगाइएको भारतीय मिडियाले बताएका छन् । साहिद चलचित्रको छायांकन छाडेर केही दिन आराम गर्न मुम्बई फर्किएका छन् ।

– अनलाइन सपिङ अमेजनका संस्थापक जेफ बेजोस भारत भ्रमणमा आउने भएका छन् । जनवरी १५ बाट उनले ३ दिनसम्म भारत भ्रमण गर्नेछन् । सो समयमा उनी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविच पनि भेटवार्ता हुने भारतीय मिडियाले उल्लेख गरेका छन् । तर, भारत भ्रमणका क्रममा जेफले बलिउडका चर्चित नायक साहरुख खानसँग पनि भेट गर्नेछन् । विश्वकै धनाढ्यको सूचीमा रहेका जेफले भारत भ्रमणका क्रममा आफ्नो व्यापार विस्तारका लागि भारतीय व्यापारीहरुसँग छलफल गर्नेछन् ।

– निर्देशक सौरभ चौधरीलाई ‘पर्खी बसेँ २’ उत्कृष्ट बनाउनुपर्ने चुनौती छ । किनकी, करिब एक दशकअघि रिलिज भएको चलचित्र ‘पर्खी बसेँ’ले व्यापारिक रुपमा राम्रो कमाई गर्यो । चलचित्रको निर्माणपक्षले भने नायिकाको रुपमा पूजा शर्मालाई अफर गरेको छ । नायिका पूजा शर्माले पनि चलचित्रको अफर आफूलाई आएको स्विकार गरिन् । चलचित्रमा २ नायक र एक नायिका हुनेछन् । सांगीतिक प्रेमकथामा नै यो चलचित्र बन्नेछ । पूजासँगै चलचित्रको अफर नायक आकाश श्रेष्ठलाई पनि गएको छ । अर्का एक जना नायकको बिषयमा भने निर्माणपक्षले कसैलाई पनि अफर गरेको छैन । चलचित्रको छायांकन आउँदो बर्षबाट मात्र सुरु हुनेछ ।

– बक्स अफिसमा शुक्रबारदेखि रिलिजमा आएका दुई बलिउड चलचित्रले सुखद व्यापार गरेका छन् । नायक अजय देवगणको ऐतिहासिक कथामा बनेको चलचित्र ‘तान्हाजी’ले २ दिनमा ३५ करोडको व्यापार गरेको छ । शुक्रबार १५.१० करोडको व्यापार गरेको चलचित्रले शनिबार २०.५७ करोडको व्यापार गर्यो । यस्तै, शुक्रबार नै रिलिजमा आएको चलचित्र ‘छपाक’को व्यापार पनि सुखद छ । यो चलचित्रले शुक्रबार ४.७७ करोडको व्यापार गर्यो । शनिबार चलचित्रको व्यापार ६.९० करोडको छ । दुई दिनमा चलचित्रले ११.६७ करोडको व्यापार गरेको छ । मेग्ना गुल्जारको निर्देशनमा बनेको यो चलचित्रमा नायिका दीपिका पादुकोणको मुख्य भूमिका छ ।

Share This: