Friday, January 24th, 2020
खेलकुद

खेलकुद

– इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने घोषणा गरेकी छन् । २१ वर्षीया किमियाले सामाजिक सन्जालमा लेखेर आफ्नो निर्णय सार्वजनिक गरेकी हुन् । उनले सन् २०१६ मा रियो ओलम्पिकमा ताइक्वान्दोमा कास्य पदक जित्दै इरानका लागि इतिहास रचेकी थिइन् । इरानमा प्रताडित लाखौं महिलाहरुमध्ये आफू पनि एक भएको बताउँदै उनले आफू पाखण्ड, झूठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न नचाहने बताएकी छिन् ।

– स्पानिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । मड्रिड डर्बी फाइनलमा रियलले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ट्रफी उचालेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । जसमा रियल ४–१ ले विजयी भयो ।

– इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ६–१ गोल अन्तरले हराएको छ । सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गरे भने रियाद मेहरेजले दुई गोल गरे । अर्को एक गोल ग्याब्रियल जेससले गरे । खेलको इन्ज्युरी समयमा एस्टन भिल्लाका अनवर एल घाजीले पेनाल्टीमार्फत सान्त्वना गोल गरे ।

– इटालियन ुसिरी एु मा युभेन्टसले महत्वपूर्ण जित निकालेको छ । चौथो स्थानको रोमामाथि २–१ को जित हात पार्दै युभेन्टसले दोस्रो स्थानको इन्टरमिलानमाथि दुई अङ्कको अग्रता लिएको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र मेरिह डेमिरलले एक–एक गोल गरे ।

– रोहित शर्मा न्युजिल्याण्डविरुद्धको टी–२० सिरिजका लागि भारतीय टिममा फर्किएका छन् । साथै तीव्र गतिका बलर मोहम्मद शमी पनि टिममा फर्किएका छन् । यी दुई खेलाडीलाई श्रीलङ्काविरुद्धको टी–२० सिरिजमा आराम दिइएको थियो । टी–२० सिरिज भारतले दुई शून्यले आफ्नो पक्षमा पार्दा पहिलो टी–२० वर्षाका कारण रद्द भएको थियो ।

– तेस्रो संस्करणको होङ्गान्जी न्यु डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । आयोजक टोली न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा हराएर एपीएफले लगातार दोस्रो उपाधि जितेको हो ।

– फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको पछिल्ला तीन खेलमा अपराजित रह्यो । डिफेन्डिङ च्याम्प्यिन मनाङ–मर्स्याङदीविरुद्ध १–१ खेलेपछि हिमालयन शेर्पासँग पनि अंक बाँडेको फ्रेन्ड्सले ‘ललितपुर डर्बी’मा आइतबार थ्रीस्टारलाई १–० ले हरायो ।

– जाभीले आफू तत्काल प्रशिक्षक बन्न नसक्ने जवाफ दिएपछि सोमबार बार्सिलोनाको प्रशिक्षण सत्र अर्नेस्टो भाल्भर्डेले नै सञ्चालन गर्ने निश्चित भएको छ । कतारी क्लब अल सादमा प्रशिक्षणरत जाभीले बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर एरिक अविडाल र मुख्य कार्यकारी ओस्कार ग्राउसँग शुक्रबार र शनिबार कुराकानी गरेका थिए ।

– अष्ट्रेलियामा जारी बिग बास लिगमा मेलवर्न स्टार्सका मार्कुस स्टोनिसले आइतबार कीर्तिमानी प्रदर्शन गरेका छन्। मेलवर्न स्टार्स नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध टोली हो। ७९ बलमा १४७ बनाएका स्टोनिसले विगबासमा एक इनिङमा सबैभन्दा बढी रन बनाउने कीर्तिमानी बनाएका छन्। ३० वर्षीय अलराउण्डर स्टोनिसको बिग बासमा यो पहिलो शतक पनि हो। बिगबास यस सिजनमा उनले ८ खेलमा ४ अर्शशतक र १ शतकका साथ ४७८ रन बनाएका छन्। धेरै रन बनाउनेको सूचीमा शीर्ष स्थानमा छन्।

– न्यु डायमन्ड खुला महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ। आइतबार भएको फाइनलमा आयोजक न्यु डायमन्ड एकेडेमीलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो।

– पूर्व युवा खेलाडी कर्फ्यु रसाइलीको स्मृतिमा आयोजित फुटसल प्रतियोगिता बीवाईसीले जितेको छ । बीवाईसीले शनिबार फाइनलमा एमवाईसीलाई ३–२ गोलले पराजित गर्यो । २० टोली सहभागी फुटसल विजेताले ६० र उपविजेताले ३० हजार रुपैयाँ पाए ।

– गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग जुटाउन आउँदो माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन क्रममा छ । महायज्ञबाट ५० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेको बताइएको छ ।

 

Share This: