Friday, January 24th, 2020
विदेशमा आज

विदेशमा आज

– इराकस्थित अमेरिकी सैन्य अड्डामा ६ दिनको अवधिमा तेस्रो पटक हमला भएको छ । पछिल्लो पटक आइतबार अल(बलादस्थित एयरबेसमा चार वटा रकेटबाट आक्रमण भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो आक्रमणबाट चार जना घाइते भएको बताइएको छ । अल बलाद एयरबेसमा अमेरिकी सेना बसेका थिए । तर इरान र अमेरिकाबीच तनाब बढेपछि यो एयरबेस अमेरिकी सेनाले छाडिसकेका थिए ।

– दक्षिणी अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ। अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण आएका छन्। आँधीका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा दशौँ हजार मानिस प्रभावित भएका छन्। केही घरहरू ध्वस्त भएका छन् भने कतिपय सडक डुबानमा परेका छन्।

– दक्षिण–पूर्वी अस्ट्रेलियाको आकाशको रङ्ग पूर्णरुपमा रातो देखिएको छ । आगलागीका कारण अस्ट्रेलियामा नयाँ वर्षको सुरुवात चिन्ताबाट सुरु भएको छ । यद्यपि यहाँको झाडीनुमा जङ्गलमा गएको वर्षको सेप्टेम्बरमा आगो लागेको थियो तर अहिलेसम्म पनि आगोले रोकिने सङ्केत देखाएको छैन । आगलागीबाट अहिलेसम्म २८ जनाले ज्यान गुमाइसकेका छन् । कम्तीमा दुई हजार घर जलेर नष्ट भएका छन्, झण्डै ५० करोड जनावर र पशुपंक्षी जलिसके । अवस्था अझै नाजुक हुनसक्ने आशङ्का व्यक्त गरिएको छ ।तापक्रमले सबै रेकर्ड तोडेको छ, सुख्खा जङ्गल र तीव्र गतिको हावाको कारण आगो झन् भयावह भएको छ । यो महिना सिड्नीको तापक्रम ४९ डिग्रीसम्म पुगेको थियो ।

– इरानी सेनाले युक्रेनी विमान भुलवश खसालेको स्वीकार गरेपछि तेहरानमा आइतबार पनि सरकारविरुद्ध प्रदर्शन भएको छ । अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाव बढिरहेको छ । तेहरानमा भएको विमान दुर्घटनामा एक सय ७६ जनाको ज्यान गएको विषयमा सरकारले झुट बोलेको भन्दै प्रदर्शन सुरु भएको हो ।

– विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको भन्दै इरानका लागि बेलायती राजदूत पक्राउ परेका छन् । कार्यक्रममा जम्मा भएका इरानी नागरिक नै सरकार विरोधी प्रदर्शनमा सहभागी बनेपछि इरानले राजदूतलाई केही समय सुरक्षा नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरेको पुष्टि गरेको छ। राजदूतलाई करिब तीन घण्टापछि छोडिएको थियो।

– भारतीय गोर्खाका मुद्दाको स्थायी राजनीतिक समाधानबारे कुराकानी गर्न भारतको केन्द्र सरकारले पश्चिम बंगाल सरकारलाई पत्राचार गरेको छ । दार्जिलिङका भाजपा सांसद राजु विष्टले पश्चिम बंगाल सरकारबाट पत्राचारको जवाफ नआएकाले कुराकानीको प्रक्रिया अघि बढ्न नसकेको खुलाएका छन् ।

– जापानी अर्बपति युसाका मेजावा चन्द्रमामा जान महिला साथी खोजिरहेका छन् । ‘स्पेस एक्सु कम्पनी मार्फत उनी चन्द्रमामा जान लागेका हुन् । ५ दशकपछि चन्द्रमा जाने ४४ वर्षीय व्यवसायी पहिलो पर्यटक हुनेछन् । तर मेजावाले आफूसँगै चन्द्रमा जानका लागि महिला साथीको खोजी गरेका हुन् । सार्वजनिक रुपमै उनले आवेदन दिन आग्रह गरेका छन् । यस अभियानलाई प्रवद्र्धन गर्न उनले आफ्नो वेबसाइट मार्फत जानकारी दिने गरेका छन् ।

– मुस्लिम धर्मावलम्वीका प्रभावशाली अगुवा जकिर नायकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानको धारा ३७० को विरोध नगरेको खण्डमा भारतमा सुरक्षित आवतजावत गर्न दिने प्रस्ताव गरेको दावी गरेका छन् । प्रधानमन्त्री मोदी र भाजपाका नेता अमित शाहले गत सेप्टेम्बरमा एक प्रतिनिधि मार्फत यस्तो प्रस्ताव पठाएको उनले जनाएका हुन् । २०१६ देखि मलेसियामा आश्रय लिँदैआएका नायकले भारत सरकारले कश्मीर विरोधी अभियानमा साथ दिन प्रलोभन दिएको भिडियो मार्फत बताएका हुन् ।

Share This: