Friday, January 24th, 2020
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– सहरी क्षेत्रका आवासीय भवनमा १५ मिटरभन्दा अग्लो टावर निर्माण गर्न नपाइने व्यवस्थासहित नेपाल दूरसञ्चार प्राधिकरणले टावर निर्माण तथा सञ्चालनसम्बन्धी विनियमावली जारी गरेको छ । विनियमावलीले कुनै घरमाथि टावर बनाउँदा उक्त घरको भारबहन क्षमता पनि विज्ञ स्ट्रक्चरल इन्जिनियरबाट अध्ययन गराउनुपर्ने प्रावधान राखेको छ ।

– सहरी फोहोरबाट ऊर्जा उत्पादनको लागि संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई १ करोड अमेरिकी डलर (करिब १ अर्ब १३ करोड रुपैयाँ) सहुलियतपूर्ण कर्जा दिने भएको छ । अबुधाबीमा जारी विश्व नवीकरणीय ऊर्जा संघ (इरिना) को वार्षिक साधारणसभाको अवसरमा अबुधावी फण्ड फर डेभलपमेन्ट अन्तर्गत उक्त रकम दिने घोषणा गरिएको हो ।नेपाली टोलीको नेतृत्व गर्दै सभामा सहभागी ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले उक्त ऋण सहयोग स्वीकार्दै विभिन्न नगरपालिकामा फोहोरबाट ऊर्जा उत्पादनको लागि उक्त रकम प्रयोग गर्ने घोषणा गरेका मन्त्रीको सचिवालयद्वारा
जारी विज्ञप्तीमा जनाइएको छ ।

– सरकारले स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न अनुदान उपलब्ध गराउने भएको छ । स्थानीय सरकारबाटै पूर्वाधार विकास गर्ने गरी पहिलो चरणमा घोषणा भएका ३२ औद्योगिक ग्रामका लागि हरेक स्थानीय तहलाई ९२ लाख रुपैयाँ अनुदान दिने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । आगामी १५ दिन भित्र ३२ वटा औद्योगिक ग्राममा पूर्वाधार विकास गर्न स्थानीय तहलाई यस्तो अनुदान उपलब्ध गराईंदैछ ।

– एक–डेढ महिनायता भैरहवा क्षेत्रमा भारतीय मुद्रा (भारु) को माग घटेको छ । यही कारण यहाँस्थित नेपाल राष्ट्र बैंक र मुद्रा सटही काउन्टरमा भारु साट्नेको भीड लाग्न छाडेको छ । यसअघि माग उच्च भएकाले भारु अभाव थियो । बैंक र सटही काउन्टरले मागअनुरूप भारु उपलब्ध गराउन सकेका थिएनन् । सर्वसाधारणलाई निर्धारित विनिमय दरभन्दा धेरै मूल्यमा भारु किन्नुपर्ने बाध्यता थियो ।

– अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटकको संख्याभन्दा पनि व्यवसाय बढाउन व्यवसायीलाई आग्रह गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको व्याफार सहजीकरणसम्बन्धी अन्तर्त्रियामा उनले व्यवसायको गुणस्तर सुधार्नुपर्नेमा जोड दिएका हुन् ।

– प्रदेश २ सरकारले मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योगहरु बन्द गराउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई पत्राचार गरेर अवैध क्रसर उद्योगहरु बन्द गर्न निर्देशन दिन लागेको हो ।

– भारतले जोगवनी–फारवीसगञ्ज सडक खण्डमा पर्ने मीरगञ्ज पुल मर्मत सुरु गरेपछि प्रदेश १ मा इन्धन आपूर्तिमा समस्या भएको छ। पुस २४ गतेबाट पुल मर्मत गर्न सुरु गरेपछि जोगवनी नाकाबाट इन्धन आपूर्ति पनि रोकिएपछि इन्धन संकट सुरु भएको हो। भारतीय पक्षले अति आवश्यक इन्धन आयातमा वैकल्पिक सडक प्रयोग गर्न अनुमति नदिएपछि जोगवनी नाका हुँदै विराटनगरबाट प्रवेश गर्ने इन्धन बोकेका ट्यांकर मीरगञ्जपुर पारी रोकिएका छन्।

– मदिरा तथा मदिराजन्य वस्तुबाट असुल हुने अन्तःशुल्कको संकलनमा आएको कमीबारे सरकारले अनुसन्धान गर्ने भएको छ। अर्थमन्त्री डा। युवराज खतिवडाले यसको कारण पहिचान गर्न अनुसन्धान गर्न आन्तरिक राजस्व विभाग र मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका पदाधिकारीलाई निर्देशन दिएका छन्।

– सरकारले औद्योगिक र लगानीसम्बन्धी कानुन वर्षदिन नबित्दै संशोधन सुरु गरेको छ। लगानीमैत्री बनाउन विशेष आर्थिक क्षेत्र ऐन, कम्पनी ऐनलगायतमा संशोधन गर्न लागिएको हो। उद्योग दर्ता, सञ्चालन र फिर्तामा सरलीकृत गर्न तत्काल ऐन संशोधनका र कानुन कार्यान्वयन गर्न नियमावली बनाउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए।

– सरकारले भारतमा पाम आयल निकासी गर्न अनौपचारिक रूपमा छलफल सुरु गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पूर्ववत् रूपमा पाम आयल निकासीका लागि आवश्यक पहल सुरु गरेको हो। मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो।

Share This: