Friday, January 24th, 2020
राजनीतिमा आज

राजनीतिमा आज

– प्रदेश २ मा सोमबार डाकिएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले अर्को सूचना नहुञ्जेलसम्म बैठक स्थगन गरिएको जनाएको छ। पछिल्लो दुई महिनामा चौथो पटक बैठक स्थगित गरिएको हो।

– जननिर्वाचित प्रतिनिधिहरूको एकमात्र वैधानिक थलो संसद् सत्तारूढ प्रमुख दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको गुटबन्दीको बन्धक बनेको छ । आवरणमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएको भनी कारण देखाउन खोजिए पनि अन्तर्यमा दुई अध्यक्षबीचको शक्तिसंघर्षको छाया प्रतिनिधिसभामा प्रकट भएको हो ।

– धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा बालुवा, गिट्टी उत्खनन् गरेको विरोध गर्दा हत्या गरिएका दिलीप महतोको परिवारलाई प्रदेश सरकारले पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

– राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरुले दिएको निर्देशन सरकारका मन्त्री र कर्मचारीहरुले पालना नगरेको भन्दै सांसदहरुले स्पष्टिकरण लिन माग गरेका छन् । विभिन्न चरणमा बजार अनुगमन पछि राष्ट्रियसभा अन्तर्गतले सरकारलाई दिएका निर्देशन पालना नभएको भन्दै सांसदहरुले यस्तो माग गरेका हुन् ।

– जाजरकोटको जुनीचाँदे गाउँपालिकाको सबै प्रशासनिक कामकाज सदरमुकाम खलंगाबाटै हुन थालेको छ। पालिकाको केन्द्र विवादका कारण गाउँपालिकाका स्थानीय सदरमुकाम धाउन बाध्य भएका हुन्। केन्द्र विवाद सर्वोच्च अदालतसम्म पुगेको छ। तर, अझै फैसला नहुँदा जुनीचाँदेको गाउँको सिंहदरबार सदरमुकाममै अड्किएको हो।

– न्यायालयले गरेका आदेश कार्यान्वयनमा जटिलता आएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले आइतबार मन्त्रालयका सचिवहरूलाई सर्वोच्च अदालतमा डाकेर ध्यानाकर्षण गराएका छन्। अदालतका निर्देशनात्मक आदेश कार्यान्वयनमा विलम्ब गरेको भन्दै उनले सरकारका निकायको कार्यशैलीमा असन्तुष्टि जनाएका छन्। सरकारका नाममा हुने आदेश अक्षरशः कार्यान्वयन गर्न राणाले उनीहरूलाई निर्देशन पनि दिए।

– स्नातक तह (एलएलबी) मा विद्यार्थी भर्नामा उत्पन्न विवादले नेपाल ल क्याम्पसको पढाइ एक शैक्षिक सत्र पर धकेलिएको छ। विवाद साम्य हुने संकेत नदेखिएपछि स्नातक तहमा अबदेखि तीन वर्षे एलएलबीको पढाइ सञ्चालन गर्ने–नगर्ने विषयमा क्याम्पस र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबीच छलफल सुरु भएको छ।

– कांग्रेसभित्रको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले पहल थालेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग पार्टीभित्रको आन्तरिक विवाद मिलाउन आइतबार उनले छलफल गरेका हुन्। पार्टीको विवाद समाधानका लागि शीर्ष तहमै संवाद गर्नुपर्ने दबाब बढेपछि उनले छलफलका लागि पौडेल र सिटौलालाई बोलाएका हुन्।

– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन वन अधिकृत (डीएफओ)सहित १३ जनाविरुद्ध डेढ करोड रुपैयाँ भ्रष्टाचारको मुद्दा दायर गरेको छ। उनीहरूविरुद्ध १० वर्षसम्मको कैद माग गरिएको छ। सरकारी सम्पत्ति हिनामिना र हानिनोक्सानी अभियोगमा उनीहरूमाथि मुद्दा चलाइएको हो। सबैबाट भ्रष्टाचारको बिगो असुलउपर गरी जेल सजाय माग गरिएको हो।

– काठमाडौं महानगरपालिकाले आगामी बुधबारदेखि खुलामञ्चमा सवारी साधन पार्किङ निषेध गर्ने भएको छ । खुलामञ्चलाई सधैंका लागि खुला बनाउने योजनाअनुसार महानगरले १ माघदेखि लागू हुने गरी सवारी साधन पार्किङ निषेध गरिएको हो । टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै गत कात्तिकदेखि शुरु भएको अकुपाई टुँडिखेलका अभियन्ताहरुले खुलामञ्चलाई खाली गराउन जोड दिँदै आएका थिए ।

Share This: