Friday, January 24th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– दिलीप महतोको हत्या आरोपमा पक्राउ गरिएका चार जनाविरुद्ध मुद्दा अघि बढाउन प्रहरीले धनुषा जिल्ला अदालतबाट आइतबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद लिएको छ । धनुषाको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न खोज्दा स्थानीय २४ वर्षीय महतोको गत शुक्रबार बिहान हत्या भएको थियो ।

– धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित एक गेष्ट हाउसबाट आपत्तिजनक अवस्थामा एक जोडीसहित तीन जनालाई पक्राउ परेका छन् । साथै उक्त गेष्ट हाउसका संचालक क्षिरेश्वरनाथ नगरपालिका ६ सुखवा बस्ने रीता चौधरीलाई समेत नियन्त्रणमा लिइएको छ । चौधरीले महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने गरेको प्रहरीले बताएको छ ।

– कैलाली प्रहरीले चोरीका गहना र नगदसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज उपमहानगरपालिका घर भएका ४० वर्षीय रन्जु मुसहर, ७० वर्षीय कलमी मुसहर, १८ वर्षीय उषा मुसहर, ६० वर्षीय जोगिन्द्र मुसहर, ३० वर्षीय जितेन्द्र मुसहर र २० वर्षीय वविना मुसहर रहेका छन् ।

– रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतबार एकान्तकुनाबाट पक्राउ गरेको हो ।

– सर्वोच्च अदालतले अपहरण, मानव बेचविखन अनि डकैतीको मुद्दामा आरोपितलाई धरौटीमा छाड्ने उच्च अदालतको नेपालगञ्ज इजलाससँग ‘कैफियत प्रतिवेदन’ मगाएको छ । उच्च अदालतको नेपालगञ्ज इजलासले गत पुस १० गते आरोपितहरुलाई एकरएक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

– रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरिया आएका एक नेपालीले आत्महत्या गरेका छन् । २१ महिनाअघि कोरिया आएका पाँचथर लालीखर्कका विवेक राईले शनिबार राति आत्महत्या गरेका हुन् ।

– सप्तरीको सुरुङ्गा नगरपालिका-१ का अध्यक्ष मुक्ति कार्कीको आइतबार राति मृत्यु भएको छ । ५५ वर्षीय कार्की केही समयदेखि अस्वस्थ्य थिए । घरमा सुतिरहेकै बेला उनको निधन भएको नगरपालिकाले जनाएको छ ।

– म्याग्दीको भकुण्डेबाट थ्री नट थ्री राइफलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेनी नगरपालिका-२ भकुण्डेका ३० वर्षीय रेशम सापकोटा रहेका छन् । प्रहरीले सापकोटाको घरमा छापा मारेर थ्री नट थ्री भी ८९४० नम्बरको राइफल १ नाल, सोको म्याग्जिनमा लोड भएको गोली ७ राउण्ड, लोड गरी राखिएको भरुवा बन्दुक १ थान र उक्त बन्दुकमा प्रयोग हुने ३ डब्बा बारुद छर्रा बरामद गरेको हो ।

– मकवानपुरको मनहरीबाट रुद्राक्ष र बुद्धचित्तको माला तथा दानासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार बस्ने ३२ वर्षीय मुन्ना यादव, काभ्रे जिल्लाको साविक तिमाल गाविस-२ का ४२ वर्षीय जगत लामा तामाङ र तेमाल-६ का ४८ वर्षीय सूर्यमान तामाङ रहेका छन् ।

– रौतहटमा रहेको जिल्ला कारागार गौरबाट आइतबार राति एक जना कैदी फरार भएका छन् । कारागार प्रशासनका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा थुनामा रहेका अशोक यादव फरार भएका हुन् । तीन वर्षअघि जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा उनलाई कारागार पठाएको थियो ।

– जग्गा नापजाँच गर्दा घुस नापी कार्यालय बेलबारीका अमिन ९सर्वेक्षक० दिनेशकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेका स्थानीयको जग्गा नापी गरी सीमाङ्कन गर्न साहले सात हजार रुपैयाँ घुस मागेका थिए ।

– शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका थिए । तर, विदेश नपठाएको भन्दै महाशाखामा ४ जना शिष्यले उनीविरुद्ध उजुरी दिएका छन् ।

Share This: