Friday, January 24th, 2020
खण्डहरको शहर (प्रेरक कथा)

खण्डहरको शहर (प्रेरक कथा)

एकपटक दुष्ट आत्माहरुले भगवान सँग गुनासो गरे कि ‘हे भगवान हामीलाई चाहि किन यस्तो दुव्र्यवहार गरिन्छ, सज्जन आत्माहरु चाहि यति राम्रो महलमा बस्छन् र हामी चाहि भत्केको घरमा बस्छौ । हामीलाई चाहि किन यति भेदभाव ? हामी पनि त हजुरकै सन्तान हौ ।’ भगवानले सम्झाउँदै भन्नुभयो ‘मैले त सबैको सृष्टी एकैनासले गरेको थिए तर तिमीहरु आफ्नै कर्मले गर्दा दुष्ट आत्मा बन्न पुग्यौ ।’ तर पनि दुष्ट आत्माहरु आफूलाई भेदभाव गरेको भन्दै गुनासो गरी रहे । त्यसपछि भगवानले केहि कुरा सोचेर सबै दुष्ट तथा सज्जन आत्माहरुलाई बोलाए र भने ‘आज देखि तिमीहरु बसेको घर नष्ट हुनेछ र तिमीहरुले आ–आफ्नो लागि अलग अलग शहरको निर्माण गर्नुपर्नेछ ।’ त्यो सुनी एउटा आत्माले सोध्यो‘ तर हामी ईटा चाँहि कहाँबाट ल्याउनु ?’ भगवानले भने जब कुनै मानिसले साँचो वा झुटो बोल्नेछ, त्यसको बदलामा इटा बनिने छ । सबै इटाहरु उतिकै बलियो हुनेछ । अब तिमीहरु नै छनोट गर कि तिमीहरु कुन इटा लिनेछौ । दुष्ट आत्माहरुले सोचे पृथ्वीमा झुटो बोल्ने मानिसहरु बढि छन् । त्यसैले झुटोको इटाहरु धेरै हुनेछ र विशाल सहर चाँडै नै निर्माण गर्न सकिनेछ । त्यस्तो सोची उनीहरुले झुटोको इटा मागे । दुवै शहरहरु एकै साथ सुरु भयो । केहि दिनमै दुष्ट आत्माहरुको शहर विशाल महलहरुले शोभायमान भयो तर सज्जन आत्माहरुको भवन निर्माणको काम ढिलो भयो किनकी सत्य बोल्ने मान्छे कम थिए । एकदिन अचानक दुष्ट आत्माहरुको भवनबाट इटाहरु गायब हुन थाल्यो । त्यसरी इटाहरु गायब हुन थाले पछि ठूला भवनहरु खण्डहर बन्न पुगे । दुष्ट आत्माहरु दिक्क भई पुनः भगवान निर गए र भने ,‘हे भगवान हाम्रो महल त फेरि खण्डहर मै परिणत भयो ।’ भगवानले मुस्कुराउँदै भने ‘इटा गायब भयो अरे । ए थाहा पाए जसले झुटो बोलेको थियो । उसको झुटो कुरा मान्छेले पक्रे । त्यसपछि त्यस बाट बनेको इटा पनि गायब भयो ।’ यस कथाबाट के थाहा हुन्छ भने असत्यको आयु छोटो हुन्छ । यो आज नत्र भोली सामु आउँछ नै । असत्य र बेइमानीको बाटोमा हिडेर सफलता सजिलै प्राप्त भए पनि अन्त्यमा उ असफल बन्न पुग्छ । सत्य बोल्ने मान्छे बिस्तारै अघि बढ्छ तर उसको सफलता स्थायी हुन्छ ।

Share This: