Friday, January 24th, 2020
राजनीतिमा आज

राजनीतिमा आज

– संसदीय समिति अन्तरगत विकास तथा प्रविधि समितिले सिंहदरबारभित्र रहेको पुरानो संसद् भवन भत्काउने निर्देशन दिएको छ । पुनर्निर्माण प्राधिकरणको सचिवको उपस्थितिमा संसदीय समितिले मंगलबार सो निर्देशन दिएको हो । २०७२ सालको महाभूकम्पले उक्त भवनको अधिकांश भागमा क्षति पुगेको थियो । भवन भत्काएर कस्तो संरचना बनाउने भने टुंगो लागिसकेको छैन ।

– कांग्रेसमा पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदल निष्क्रिय बनेको छ । १४ औं महाधिवेशनको कार्यतालिकालाई केन्द्रीय समितिको एजेन्डा बनाउनुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बहिस्कार गरेपछि सहमति खोज्न कार्यदल बनाइएको थियो ।

– अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले निर्वाचन खर्च पुनरावलोकन गर्नुपर्नेमा जोड दिएको छ । खर्चिलो निर्वाचन प्रणाली नै भ्रष्टाचार र महँगीको कारक भएकाले यसमा पुनरावलोकन गर्नुपर्ने उसको सुझाव छ ।

– कर्णाली प्रदेश सरकारले माघ १ गते बुधबार कर्णालीमा सार्वजनिक विदा दिएको छ । माघे संक्रान्तिको अवसरमा सार्वजनिक विदा दिएको हो । माघी पर्व थारु समुदायको मुख्य पर्व हो । तर कर्णालीमा थारु समुदायको बाहुल्यता कम भएपनि सबै समुदायले माघी पर्व धुमधामका साथ मनाउन सार्वजनिक विदा दिएको हो।

– सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको बैठक सकिएको छ। एकतापछि बसेको पूर्वएमाले निकट अनेरास्ववियु र पूर्वमाओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)को एकता पछि केन्द्रीय कमिटीको पहिलो बैठक बसेको हो। बैठकले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा केन्द्रीत हुने निर्णय गरेको अनेरास्ववियूका नेताले जानकारी दिए।

– स्थानीय तहको भ्रष्टाचार अराजक ढंगले वृद्धि हुँदै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले नीतिगत भ्रष्टाचार सुशासन र समृद्धिको बाधकका रूपमा देखाएको छ। अख्तियार प्रमुख नवीनकुमार घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ०७५÷७६ को प्रतिवेदनमा मन्त्रिपरिषद् वा त्यसको कुनै समितिबाट भएका नीतिगत निर्णय अनुसन्धान तहकिकात नहुने कानुनी व्यवस्थाका कारण नीतिगत भ्रष्टाचार बढेको उल्लेख छ।

– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सुब्बा, खरिदार र कार्यालय सहयोगीको पदपुर्ति सम्बन्धी माग नगर्न गरेको निर्देशनबाट आफैँ पछि हटेको छ । गत पुस १६ गते सचिवस्तरीय निर्णय गरी मन्त्रालयले राजपत्र अनंकित (सुब्बा, खरिदार) तथा श्रेणीविहीन पदमा तत्काल कर्मचारीको पदपुर्ति सम्बन्धी माग नगर्न निर्देशन गरेको थियो ।

– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि भारत प्रस्थान गरेका छन् । सोमबार नेता पौडेल उपचारका लागि नयाँदिल्ली गएका हुन् । रक्तचापमा उतारचढाव देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली गएको बताइएको छ ।

– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बालबालिका सम्बन्धी राष्ट्रिय नीतिलाई छिट्टै परिमार्जन गर्ने बताएका छन् । मन्त्री गुरुङले बालबालिका सम्बन्धि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउने कामलाई अघि बढाइएको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि सरोकारवाला सबै निकायलाई आग्रह गरे ।

– उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले राजीनामा गर भनेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्देशन दिनु गलत भएको बताएकी छन् । तर नेकपाले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेकाले आफू राजीनामा दिन तयार रहेको बताइन् । राजनीतिक दलहले सभामुखको उम्मेदवार तय गरेपछि सभामुख निर्वाचन प्रक्रिया सुरु गर्नु केही मिनेट अगाडि जेष्ठ सदस्यलाई राजीनामा बुझाउने उनले बताइन् ।

Share This: