Friday, January 24th, 2020
खेलकुद

खेलकुद

– स्पानिस क्लब बार्सिलोनाले प्रशिक्षक एर्नेस्टो भेलभर्डलाई बर्खास्त गरेको छ । उनको स्थानमा रियल बेटिसका पूर्वप्रशिक्षक क्विक सेटिनलाई नियुक्त गरेको छ । ५५ वर्षीय भेलभर्डले बार्सिलोनालाई लगातार दुई ला लिगाको उपाधि दिलाएका थिए । यस्तै यस सिजन पिन गोल अन्तरमा रियललाई पछि पार्दै बार्सिलोना ला लिगामा शीर्ष स्थानमा छ ।

– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार छैटौं चरणको एक मात्र खेल हुँदैछ । आर्मी र संकटा क्लबले दिउँसो ३ बजे प्रतिस्पर्धा गर्न लागेका हुन् ।

– सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समूह चरणको खेलहरु सकिएका छन् । सोमबार इनरुवा रंगशालामा सम्पन्न समूह ‘डी’अन्तर्गतको अन्तिम खेलमा मलेसिया एघारले गण्डकी प्रदेशलाई १९२ रनको अन्तरले पराजित गरेको हो । जित हात पारेता पनि मलेसिया सेमीफाइनल पुग्न भने असफल रह्यो।

– महिला फुटबलमा रौतहटको वर्चस्व रहँदै आएको छ । बाँकेको जनज्योति पब्लिक हाइस्कुलले केही हदसम्म त्यो वर्चस्वलाई तोडेको छ । जनज्योतिले रौतहटको दुर्गा माविलाई आइतबार फाइनलमा २–१ ले पराजित गरी क्विक्स अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिता जितेको छ ।

– नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा ११औँ स्थानमा उक्लिएका छन् । यसअघि १४औँ स्थानमा रहेका प्रिन्सले नयाँ वरीयतामा ३ स्थान सुधार गर्दै ११औँ स्थानमा उक्लिएका हुन् । काठमाण्डौमा केही दिनअघि भएको प्रेसिडेन्ट कप जुनियर इन्टरनेशनल सिरिजमा उपविजेता भएका प्रिन्स ११औँ स्थानमा उक्लेका हुन् ।

– नेपाली फुटबलका दुई चर्चित क्लब मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लब लिगमा माघ ४ गते खेल्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार सार्वजनिक गरेको ए डिभिजन लिगको सातौं र आठौं चरणका खेल तालिकाअनुसार मनाङ र थ्री स्टार सातौं चरण अन्तर्गत माघ ४ गते खेल्ने भएका हुन् ।

– सोमबार न्यूरोड टिमविरुद्धको खेलपछि पुलिसका प्रशिक्षक अनन्त थापा निराश देखिए । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौं चरणको खेलमा पुलिस एनआरटीसंग १-० ले पराजित भएपछि पुलिसका प्रशिक्षक थापाले यो लिगकै खराब खेल भएको प्रतिक्रिया दिए । उनले पुलिसले आफ्नो क्षमताअनुसार खेल्न नसकेको स्वीकारे ।

Share This: