Friday, January 24th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– एक वर्षअघि सामाजिक सञ्जालमा भाइरल भएको ‘बस काण्ड’ प्रकरणलाई लिएर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार साँझ चितवनबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो । यद्यपि, पक्राउ पर्नेको नाम खुलाइएको छैन । उनलाई राति नै काठमाडौंतर्फ ल्याइएको छ ।

– प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक जना पाष्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशी छन् ।

– राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो । आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।

– प्राकृतिक स्रोत साधन दोहन गरेको गरेको आरोपमा नेत्र विक्रम चन्द समूहको जिल्ला जनपरिषद् पाल्पाले चुनढुंगा खानीको एक स्काभेटरमा बम राखेको छ । पाल्पाको रैनादेवी गाउँपालिका–१, सिद्देश्वरमा रहेको सर्वोत्तम सिमेन्टको चुनढुंगा खानीको माथिल्ला भागको एउटा स्काभेटरमा खतरा लेखेर टाँसेको देखिएपछि खानी उत्खनन रोकिएको वडाध्यक्षले जानकारी दिए ।

– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

– जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । ५ सय १० मिलीग्राम ब्राउन सुगर सहित धनगढीउपमहानगरपालिका १० घर भई वडा नम्बर ८ को बुद्धचोकमा डेरा गरी बस्ने २० वर्षका उमेश धामी, २० वर्षीया उमा चौधरी र १९ वर्षीया असरानी चौधरीलाई पक्राउ गरिएको हो ।

– झापामा प्रहरी हौं भन्दै नगद असुली गर्ने दुई जना पक्राउ परेका छन् । बाह्रदर्शी गाउँपालिका-३ राजगढ बजारमा स्थानीय व्यापारीसँग रकम असुल्ने गौरीगञ्ज गाउँपालिका-१ का २८ वर्षीय पर्शुराम महतो र वडानम्बर ३ का २० वर्षीय जीवन दासलाई प्रहरीले पक्राउ गरेको हो ।

Share This: