Friday, January 24th, 2020
धनी र गरीबको मानसिकतालाई प्रष्ट पार्ने प्रसिद्ध लेखक ‘रोबर्ट कियोसाकी’

धनी र गरीबको मानसिकतालाई प्रष्ट पार्ने प्रसिद्ध लेखक ‘रोबर्ट कियोसाकी’

रोबर्ट कियोसाकी एक प्रसिद्ध उद्यमी, लगानीकर्ता तथा लेखक हुन् । उनको पुस्तक रिच ड्याड पुअर ड्याड संसारका प्रसिद्ध पुस्तकहरुमध्ये एक हो । उक्त पुस्तक विश्वका ५१ भन्दा बढी भाषाहरुमा अनुवाद गरिएको छ । रोबर्टको जन्म सन् १९४७ अप्रिल ८ मा हिलो, हवाईमा भएको थियो । सन् १९६५ मा स्नातक डिग्री पास गरे पछि उनी नेवीमा गए । उनले न्यूयोर्कमा यूनाइटेड स्टेटस मर्चेन्ट मरीन एकेडमी ज्वाइन गरे र त्यहाँबाट डेक अफिसरको रुपमा बाहिर आए । न्यूयोर्कमा ग्रेजुएशन पुरा गरेपछि उनले आफ्नो करियरको सुरुवात् स्ट्याण्डर्ड ओइल ट्यांकरबाट गरे । त्यहाँ ६ महिना काम गरे पछि रोबर्टले राजिनामा दिए र मरीन कप्र्समा आवद्ध भए । सन् १९७४ मा उनले मरीन कप्र्सलाई पनि छोडे र जेरोक्स कर्पोरेशनमा सेल्समेनको रुपमा काम गर्न थाले । उनले त्यहाँ लगभग २ वर्ष काम गरे र त्यस पछि आफ्नै काम सुरु गरे । त्यसपछि उनको जीवनमा निकै उतार चढावहरु आए । यसले गर्दा नै रोबर्ट एक कुशल प्रेरक वक्ता, सफल लगानीकर्ता, महान लेखक र फाइनान्सीयल ज्ञान भएका व्यक्ति बन्न पुगे ।

रोबर्टले संसारलाई आर्थिक, स्वतन्त्रताको नयाँ सोच दिए । उनका अनुसार, ‘संसारमा ९० प्रतिशत मानिसहरुको जीवन मुसा दौडमा अल्झेर रहयो । यो एउटा यस्तो जालो हो, जसमा व्यक्तिले जति कमाउछ, त्यति नै खर्च पनि गर्छ । हरेक व्यक्ति कमाउने र खर्च गर्ने जालमा फसेको छ र उ चाहेर पनि त्यहाँबाट बाहिर आउन सक्दैन ।’ रोबर्टले आजको स्थानमा आई पुग्न थुप्रै असफलताका घुम्तीहरु पार गरेका छन् । १९७७ मा ३० वर्षको उमेरमा उनले वालेट उत्पादन गर्ने कम्पनी स्थापना गरे ।

बजारको प्रतिस्पर्धा तथा विभिन्न कारणहरुले गर्दा उनको कम्पनी घाटामा गयो र उनी लगभग कंगाल भए । त्यसपछि ३३ वर्षको उमेरमा उनले टिसर्ट, टोपी बेच्ने कम्पनी स्थापना गरे । तर त्यो कम्पनी पनि चल्न सकेन । ३८ वर्षको उमेरमा सन् १९८५ मा उनले अर्थ सम्बन्धी शिक्षा दिने कम्पनी खोले । तर ४७ वर्षको उमेरमा उनले त्यो कम्पनी बेचे र लेखन तथा लगानीको क्षेत्रमा काम गर्न थाले । ५० वर्षको उमेरमा उनले ‘रिच ड्याड पुअर ड्याड’ किताब लेखे, जसले उनलाई विश्व प्रसिद्ध बनायो । रोबर्टको रिच ड्याड नामको कम्पनी पनि छ, जसले सानो देखि ठुलो उमेर सम्मका लाई अर्थ सम्बन्धी कुरा सिकाउछ ।

रोबर्ट कियोसाकीको पुस्तक रिच ड्याड पुअर ड्याड उनको आफ्नै अनुभव थियो । रोबर्टले आफ्नो बाल्यकालमा दुई बुबाहरुबाट शिक्षा लिएका थिए । रोबर्टका बुबा पढेलेखेका र विश्वविद्यालयका प्रोफेसर थिए । तर उनी आफ्नो आम्दानीलाई राम्रो सँग प्रबंधन गर्न सकी रहेका थिएनन् भने अर्को तिर उनका साथी माइकका बुबा कम पढेलेखेका भए पनि उनको गिन्ती हवाई राज्यका धनीहरुमा हुने गथ्र्यो । यसको कारण रोबर्टले वितिय साक्षरताको ज्ञान नहुनुलाई दिएका छन् ।

रोबर्टका अनुसार गरीब र मध्यमवर्गीय व्यक्तिहरु पैसाका लागि काम गर्छन् भने धनी व्यक्तिहरुको पैसाले उनीहरुको लागि काम गर्छ । गरीब व्यक्तिले पैसा कमाउन मेहनतलाई प्राथमिकता दिन्छन् । त्यसैले उनीहरुको मनमा असुरक्षाको भावना हुन्छ । धनी व्यक्तिहरु काम सिक्ने इच्छा लिएर काम गर्छन् र काम सिके पछि पैसा आफै आउछ । त्यसैले धनीहरु कुनै कुराको वास्ता नगरीकन कामको नयाँ नयाँ तरीका खोजी रहन्छन् ।

रोबर्टका अनुसार नानीहरुलाई विद्यालयमा पनि वितिय साक्षरताको पाठ पढाउनु पर्छ । नानीहरुलाई आजको सूचना यूगका लागि तयार गरिनु पर्छ, औद्योगिक यूगको जस्तो स्कूलमा राम्रो अंक ल्याएर पास भएर मात्र केही हुँदैन । साथै मानिसहरु घरलाई आफ्नो सबैभन्दा ठुलो पूँजी सम्झिन्छन् । जबकी त्यसैका लागि उनीहरुको गोजीबाट सबैभन्दा धेरै पैसा निक्लिन्छ । रोबर्टका अनुसार सम्पत्ति त्यो हो, जसले तपाईको गोजी भरोस् , यो होइन कि गोजी नै रितियोस् ।

Share This: