Tuesday, February 25th, 2020
खेलकुद

खेलकुद

– आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकामाथि ८ विकेटको शानदार जित निकालेको छ। अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो।

– न्यूजिल्याण्डले तेस्रो खेल ५ विकेटले जित्दै भारतविरुद्धको एकदिवसीय क्रिकेट श्रृङ्खला ह्वाइटवास गरेको छ । तेस्रो ओडीआईमा लोकेश राहुलले शतक प्रहार गरे पनि भारतलाई हार टार्न पर्याप्त भएन । भारत ३ दशकयता पहिलो पटक सिरिजमा विपक्षीबाट ह्वाइटवास भएको हो ।

– साविक विजेता मनाङ मर्स्याङ्दी क्लब केही घण्टापछि नै सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत मंगलबार
भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै मनाङले थ्री स्टारलाई अंक तालिकामा पछि पारेको हो ।

– ज्ञान निकेतन र आयोजक इनोभेटिभ नवौं इनोभेटिभ कप अन्तरस्कुल बास्केटबलमा च्याम्पियन बनेका छन् । मंगलबार ज्ञान निकेतन ब्वाइज र इनोभेटिभ गर्ल्समा च्याम्पियन भएका हुन् ।

– स्थानीयस्तरमा खेलको विकास र खेलाडीको पहिचान गर्ने उद्देश्यले पञ्चकन्या गाउँपालिकामा सञ्चालित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगितामा आयोजक टिम विजयी भएको छ । मंगलबार पञ्चकन्याले म्यागङ गाउँपालिकालाई २५–२३, २५–२१, २५–२१ ले हराउँदै उपाधि जित्यो । दुप्चेश्वरले शिवपुरी गाउँपालिकालाई हराएर तेस्रो भयो ।

– नेपालका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिताउन सफल बक्सर सुशील घिमिरे अहिले चन्दा संकलन गरेर कभर्डहल निर्माणमा जुटेका छन् । हेटौंडा–५ पिप्लेस्थित बालज्योति माविको मैदानमा एक महिनायता चन्दा संकलन गरेर कभर्डहल निर्माण कार्यमा उनी लागिपरेका हुन् ।

– थ्री स्टार क्लब शहीद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ । १२औं चरणको खेल अन्तर्गत मंगलबार भएङ्को खेलमा एनआरटीलाई १–० ले पारजित गर्दै थ्री स्टार तेस्रो स्थानमा उक्लेको हो ।

– भारतका कप्तान विराट कोहलीले दबाब सामना गर्ने क्षमता नरहेको भन्दै आफ्ना खेलाडीको आलोचना गरेका छन् । न्युजिल्यान्डसँग तेस्रो तथा अन्तिम एकदिवसीयमा ५ विकेटको हारसँगै शृंखलामा भारतले ‘क्लिन स्विप’ बेहोरेपछि कोहली आक्रोशित बनेका हुन् ।

– सूर्य नेपाल वेस्टर्न ओपन गल्फ बुधबार पोखरामा सुरु हुँदै छ । उपाधि उचाल्न र इतिहास रच्न गल्फरहरू यतिखेर पोखरामा छन् ।पोखराको छिनेडाँडास्थित हिमालयन गल्फ कोर्समा उपाधिका लागि ३२ प्रो र १६ एमेच्योर खेलाडी उत्रँदै छन् ।

– सन्दीप लामिछाने नेपालका लागि ओडीआई क्रिकेटमा एकै खेलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी बनेका छन् । नेपालमा भइरहेको आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सन्दीपले अमेरिकाविरुद्ध ६ विकेटको कीर्तिमान बनाएका हुन् ।

– भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश १ कमिटिको आयोजनामा फागुन ६ गतेदेखि सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आयोजना हुन लागेको हो । खेलकुदलाई प्रयर्टनसँग जोड्दै मदन भण्डारी स्मृति कप तेस्रो संस्करणमा प्रदेश १ का १४ जिल्लाका भलिबल टिम सहभागी रहने आयोजकले जनाएको छ।

– शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत १२ औं चरणको अन्तिम खेल आज हुँदैछ । जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब आज खेल्दैछन् । खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

Share This: