Tuesday, February 25th, 2020
विदेशमा आज

विदेशमा आज

– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनसहित विश्वका दुई दर्जन बढी मुलुकमा फैलिएको कोरोना भाइरसबाट लाग्ने रोगको नामाकरण गरेको छ । रोगको औपचारिक नाम ‘कोभिड–१९’ दिइएको छ । कोरोनाको संक्रमण जटिल बन्दै गइरहेका बेला डब्लूएचओले नयाँ नाम दिएको हो ।

– कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बुधबारसम्म एक हजार एक सय ७ पुगेको छ । मंगलबार मात्रै हुबेईमा ९४ जनाको भाइरसका कारण मृत्यु भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । कोरोना भाइरस संक्रमण भएका व्यक्तिको निको हुने दर बढेको चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले सोमबार बताएको छ । जनवरी २७ मा १।३ प्रतिशत संक्रमित निको भएकोमा त्यो बढेर ८।२ प्रतिशत पुगेको उसको भनाइ छ ।

– चीनले कोरोना भाइरस नियन्त्रणमा खटिएका केही वरिष्ठ अधिकारीलाई बर्खास्त गरेको छ । भाइरसको उद्गस्थल हुबेई प्रान्तको स्वास्थ्य आयोग प्रमुख झाङ जिन र आयोगका लागि चिनियाँ कम्युनिस्ट पार्टी सचिव लियु इङ्गीलाई कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै बर्खास्त गरिएको हो । उनीहरूको ठाउँमा राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक एवं कम्युनिस्ट पार्टीका प्रान्तीय कमिटी सदस्य वाङ हेसेङलाई ल्याइएको छ ।

– भारतको केन्द्र अर्थात् दिल्लीको विधानसभा चुनावी लडाइँमा आम आद्मी पार्टी (आप) ले फेरि जित हासिल गरेको छ । मत परिणामअनुसार आपले अघि सारेको विकासका नारासामु भारतीय जनता पार्टी (भाजपा)को चर्का राष्ट्रियता र सुरक्षाका नारा फिक्का सावित भएका छन् । दिल्लीमा आपका संयोजक अरविन्द केजरीवाल पुनः मुख्यमन्त्री बन्ने भएका छन् ।

– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यही फेब्रअरीमा भारत भ्रमणमा आउने भएका छन् । भारतीय अधिकारीहरुले यसबारे जानकारी दिएका हुन् । हालै जारी गरिएको विज्ञप्ति अनुसार ट्रम्प यही फेब्रुअरी २४ गते दुई दिने भ्रमणका लागि भारत आउने कार्यक्रम छ । ट्रम्पसँगै उनी पत्नी मेलानिया पनि आउने बताइएको छ । भारतमा छँदा उनीहरुले गुजरातको अहमदाबाद भ्रमण गर्ने तालिका छ ।

– अफगानिस्तानको काबुलस्थित रक्षा मन्त्रालयलाई लक्षित गर्दै भएको आत्मघाती आक्रमणमा पाँचजनाको मृत्यु भएको छ । तीनजना सैनिकसहित पाँचजनाको मृत्यु भएको छ । दुईजना आम नागरिक भएको बताएको छन् । विस्फोटमा १२ जना घाइते छन् । जसमध्ये पाँचजना सर्वसाधारण हुन् । सैनिक प्रशिक्षालयको गेटमै हमला भएको थियो । ‘मर्सल फहिम मिलिटरी एकेडेमी’को गेट नजिकै हमला भएको बताइएको छ ।

– बंगलादेशमा रोहिंग्या समुदायका शरणार्थी चढेको डुंगा पल्टिँदा १५ जनाको मृत्यु भएको छ । अरु दर्जनौं हताहत भएका छन् । काठको डुंगामा चढेर १ सय ३० रोहिंग्या शरणार्थीहरु बंगालको खाडी हुँदै मलेसिया तर्फ जाँदै थिए । कम्तीमा ७० जना मानिसको उद्धार भएको छ ।

– भारतको गुजरातस्थित कांग्रेसका युवा नेता हार्दिक पटेललाई गत जनवरी १८ मा प्रहरीले गिरफ्तार गरेको थियो । देशद्रोहको मुद्दा लगाएर उनलाई प्रहरीले पक्राउ गरे पनि परिवारलाई यसबारे औपचारिक रुपमा जानकारी दिएको छैन । हार्दिककी पत्नीले आफ्ना पति वेपत्ता भएको प्रतिक्रिया दिएकी छन् । गत १८ जनवरीदेखि आफ्ना पतिको कुनै खोजखबर नभएको हार्दिककी पत्नीले बताएकी हुन् ।

Share This: