Tuesday, February 25th, 2020
राजनीतिमा आज

राजनीतिमा आज

– वामगती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त भएका छन् । फुयाँलको आजै अपराह्न ४ बजे सपथग्रहण तय भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेपछि यो मन्त्रालय मुख्यमन्त्रीसँगै थियो ।

– नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् । गृह मन्त्रालयमा मंगलबार बिहान आयोजित औपचारिक समारोहबीच गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

– अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) नेतृत्वको ९ दलीय गठबन्धनले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार सिंहदरवारस्थित कार्यकक्षमै भेटेर सभामुख सापकोटालाई ९ दलीय गठबन्धनले ज्ञापन पत्र बुझाएको हो ।

– चीनको वुहानबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न सरकारले १ सय ९९ वटा बेड तयार पारेको छ । कोरोना भाइरस संक्रमित क्षेत्रबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ वटा बेड तयार पारेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

– पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन रोक लगाएकी छन् । पाल्पाको तिनाल गाउँपालिकाबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद पनेरुलाई अध्यक्ष पाण्डेले हाजिर गर्न रोक लगाएकी हुन् ।

– ‘प्रतिपक्षीलाई ठोक्ने, आफ्नालाई बोक्ने’ षड्यन्त्र रचेको भन्दै कांग्रेसले प्रदेश १ संसद्मा सरकारको चर्को आलोचना गरेको छ। मंगलबार बसेको संसद् बैठकमा बोल्दै कांग्रेस सांसदले ललिता निवास जग्गा प्रकरण मुद्दाको विषयमा तटस्थ बस्ने संवैधानिक अंगलाई नै प्रभाव पारेर सरकारले गलत नजिर स्थापित गरेको आरोप लगाए।

– अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ। एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरूलाई अमेरिकाको धारणा प्रस्ट पारेका हुन्।

– राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार गर्ने र गराउने दुबै देशका शत्रु रहेको बताएकी छन् । उनले भ्रष्टाचारको स्वरुप र शैलीमा परिवर्तन हुँदै गएको बताउँदै यस्तो प्रवृत्तीलाई निरुत्साहित गर्नुपर्ने आवस्यकतासमेत औंल्याइन् ।

– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाउनुभएको छ । मंगलबार गृहमन्त्रालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाईँ नभनी तिमी भन्ने गरेकामा असन्तुष्टि जनाउनुभएको हो ।

– भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा २२.१६ प्रतिशतमात्रै विकास खर्च गर्न सकेको छ। उसले चालू आर्थिक वर्षको लागि पूँजीगततर्फ एक अब करोड १३ लाख ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। जसमा गएको पुससम्ममा २५ करोड १० लाख ९५ हजार रुपैयाँमात्रै खर्च भएको हो ।

– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाण्डौमा क्रान्तिकारी बहस गरेर व्यावहारिक रुपमा महिला सशक्तिकरण नहुने बताउनु भएको छ । राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘सूचनाको हकका लागि महिला सशक्तिकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले काठमाण्डौमा गरिने बहसले छाउपडी र बोक्सी प्रथा अन्त्य नहुने भन्दै सम्बन्धित क्षेत्रमा गएर बहस चलाउन आग्रह गर्नुभयो ।

– काभ्रे जिल्लाको रोशी गाउँपालिका मंगलबार साक्षर घोषणा गरिएको छ। रोशी गाउँपालिकामा ९८.९७ प्रतिशत नागरिक साक्षर भएसंगै गाउँपालिका साक्षर घोषणा भएको हो। उक्त गाउँपालिकामा २८ हजार ७ सय ४६ जनसंङख्य रहेको मध्ये २८ हजार ४ सय ५२ जना साक्षर भएसँगै एक कार्यक्रमको बीच गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो।

– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर सिके राउतले प्रदेश–२ मा भ्रष्टचारी र गुण्डाको जंगलराज रहेको आरोप लगाएका छन् । वीरगन्जमा मंगलबार जनमत पार्टीले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै राउतले यस्तो बताएका हुन्। समाजवादी पार्टी र राजपाले भ्रष्टचारी, तस्कर, गुण्डालाई संरक्षण दिएर मधेसमा लुटतन्त्र मच्चाइरहेको आरोप उनको छ।

– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद योशोदा गुरुङ (सुवेदी)ले स्वस्थानी व्रतकथा र ऋषिपञ्चमी व्रतकथाका पाना च्यात्न माग गरेकी छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मंगलबार सांसद सुवेदीले यस्तो माग गरेकी हुन्। संसदको शून्य समयमा बोल्दै उनले छाउपडी जस्तो संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रतकथा र ऋषिपञ्चमी व्रतकथाका पाना च्यात्न माग गरेकी हुन्।

– तिलोत्तमा नगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याएको छ । बढ्दो शहरीकरणसँगै घर संख्या बढ्दै जाने अवस्थामा पनि नगरवासीका घर सहजै पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।

– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद विन्दा पाण्डेले यति होल्डिङ्सबारे श्वेतपत्र जारी गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा पाण्डेले दैनिक जसो समाचार बनिरहेको यति होल्डिङ्सको बारेमा श्वेतपत्र जारी गरी वास्तविकता केहो भन्ने बारेमा आम नागरिकलाई जानकारी गराउन नेपाल सरकारसँग माग गर्नु भएको हो ।

– विप्लव समूहका तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते जनयुद्ध दिवसको अघिल्लो दिन मंगलबार राति तनहुँको जामुनेबाट उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार राति १२ बजे जामुनेमा जनयुद्ध दिवसको पोष्टर टास्दै गर्दा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

– नेकपाको देशव्यापी अभियानको शुरुवात प्रदेश ५ को कोहलपुरबाट हुने भएको छ । केन्द्रीय सचिवालयले बुटवलबाट गर्ने भने पनि नेकपाको प्रदेश ५ को मंगलबार बुटवलमा बसेको कार्यालय बैठकले बाँकेको कोहलपुरबाट शुरु गर्ने निर्णय गरेको हो ।

– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा सचेतना जगाउन सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको बताएका छन् । उनले व्याप्त कुरीतिहरुको न्यूनीकरणमा सामुदायिक रेडियोहरुले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताए ।

– प्रदेश सांसद मोहनकुमार खड्काले ६ महिनाअघि जिल्ला प्रशासन कार्यालयमा एक उजुरी दर्ता गरे । आफूखुसी सरकारी सम्पत्ति वितरण गरेको भन्दै उनले जिल्ला समन्वय समितिविरुद्ध उजुरी दर्ता गरेका थिए । उनको उजुरीका आधारमा अनुसन्धान प्रक्रिया लम्बिँदै जाँदा थप अनियमितता खुल्दै गएको छ । जिल्ला प्रशासन हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले आफैं अनुसन्धान अघि बढाएको छ ।

Share This: