Tuesday, February 25th, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– बलिउड नायिका कल्की कोलचिन विवाहै नगरी आमा बनेकी छिन्। उनी गाय हर्षबर्गसँगका प्रेममा छिन्। यी जोडीको बिहे भने भइसकेको छैन। विवाह नभए पनि उनले आफू आमा बन्ने तयारीमा रहेको आफैंले सार्वजनिक गरेकी थिइन्। ३६ वर्षीय कल्कीले गोवाको एक अस्पतालमा छोरी जन्माएकी हुन्।

– दक्षिण भारतिय चलचित्र ‘अर्जुन रेड्डी’मा काम गरेर चर्चामा आएका अभिनेता विजय देवरकोंडा बलिउड चलचित्रको तयारी गरिरहेका छन् । पुरी जगन्नाथको निर्देशनमा बन्न लागेको ‘फाइटर’बाट उनले बलिउडमा डेब्यु गर्न लागेका हुन् । चलचित्रमा विजयको जोडी बन्नको लागि निर्माण पक्षले आनन्या पाण्डेलाई पक्का गरेको छ । आनन्या चलचित्रको कथाबस्तु राम्रो भएका कारण चलचित्रमा काम गर्न तयार भएको बताउँछिन् । उनीहरुबीच लिखित सम्झौता पनि भइसकेको छ । चलचित्र अब पूर्ण रुपमा छायांकनको लागि तयार भएको छ ।

– बलिउड अभिनेता कार्तिक आर्यन आफ्नो रिलिजको तयारीमा रहेको चलचित्र ‘लभ आजकल’को प्रचारमा व्यस्त छन् । यस चलचित्रमा कार्तिकले सारा अलि खानसँग जोडी बाँधेका छन् । लभ स्टोरी चलचित्रको लागि कार्तिक निकै राम्रो कलाकार भएको चलचित्रका निर्देशक इम्तियाज अलिले बोलेका छन् । इम्तियाजले कार्तिकको तुलना रोमान्टिक अभिनेता शाहरुख खानसँग गरिदिएका छन् । कार्तिक भने आफूलाई शाहरुखसँग तुलना नै गर्न नमिल्ने बताउँछन् । शाहरुख रोमान्सको बादशाह भएको भन्दै आफूले कहिल्यै शाहरुखको स्तरमा रोमान्स गर्न नसक्ने कार्तिकले बताए ।

– चलचित्र ‘सेन्टी भाइरस’को प्रमोशनल गीतको छायांकन सकिएको छ । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा गीतको छायांकन गरिएको हो । प्रचार-प्रसारमा सहयोग पुग्ने हिसाबले ‘पार्टी जिताइदे’ बोलको गीत तयार गरिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु कुन्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राईलाई फिचर गरिएको छ । चलचित्रमा दयाहाङ राई, सिताराम कट्टेल ‘धुर्मुस’, बुद्धि तमाङको पनि मुख्य भूमिका रहेको छ ।

– एभरेष्ट सूर्य बोहराको निर्देशनमा चलचित्र ‘ओ प्रिय’ बन्ने भएको छ । मंगलबार कमलादी मन्दिरमा पूजा गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । ’सिनेम्याक्स लण्डन’को ब्यानारमा बन्ने यस चलचित्रमा ‘विरन्जना इन्टरटेन्टमेन्ट’ र ’इबिएस फिल्मस्’ले सहकार्य गरेका छन् । निर्देशक बोहराकै लेखन रहने उक्त चलचित्रकी मुख्य निर्मात्री हिराल जोशी हुन् । सृजना जोशी कार्यकारी निर्माता रहने यस चलचित्रमा सबिता गुरुङ सह–निर्माताको रुपमा रहेकी छिन् ।

– ‘म राजकुमार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको भिडियोमा वेभ सिरिजका लोकप्रिय कलाकार र कार्टुन्ज क्रुलाई एकसाथ प्रस्तुत गरिएको छ । सहिन प्रजापतिको निर्देशनमा बनेको भिडियोमा जिवेश गुरुङ, सहिन प्रजापति र कुशल विष्ट, सुनिशा बजगाईंसँगै कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ । भिडियोमा राजकुमार बन्न गरिरहेको होडबाजीलाई देखाइएको छ ।

– प्रद्युम्न मिश्रको निर्देशनमा तयार भएको चलचित्र ‘धुलो’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । फागुन १६ लाई रिलिज मिति पक्का गर्दै चलचित्रको फस्टलुक सार्वजनिक गरिएको हो । समाजिक बिषयबस्तुमा निर्माण भएको चलचित्रमा रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई मुख्य बिषयबस्तु बनाइएको छ । चलचित्रमा बुद्धि तामाङ, सृजना सुब्बा, अग्रज केसी, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्कीको अभिनय रहेको छ । नीर शाह, सुशिल पोखरेल र लक्ष्मी बर्देवा विशेष भूमिकामा देखिनेछन् ।

– गायक राजु लामाको नयाँ गीत ‘घामपानी’ सार्वजनिक भएको छ । गायक लामाले मङ्गलबार आफ्नै युट्युब च्यानलमार्फत् नयाँ गीत सार्वजनिक गरेका हुन् । ‘मङ्गोलियन हार्ट भोलुम सेभेन’ एल्बम्मा समावेश गीत ‘घामपानी’ लाई लामाले भिडियोसहित सार्वजनिक गरेका हुन्। भिडियोमा गायक लामासँगै, कुन्साङ तामाङ, बबी लामा, सेन्सी पेमा वाइबा र किरण नगरकोटीको अभिनय रहेको छ ।

Share This: