Tuesday, February 25th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । संक्रमित भेटिएको स्थान चीनसँगको सीमानजिकै पर्छ । गुम्बाबस्तीका करिब १०० जनामा कोरोना भाइरसका बिरामीमा जस्तो लक्षण देखिएको बताइएको छ ।

– पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ३ छरछरेमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । दुर्घटनामा परी बुलिङटार गाउँपालिका ३ निवासी २२ वर्षीय नरबहादुर सुस्लिङ्ग, बुलिङ्गटार ३ निवासी ५९ वर्षीय यमान सिंङ सुस्लिङ, बुलिङ्गटार ३ निवासी ४० वर्षीय पूर्णबहादुर थापा, २५ वर्षीय लिलाबहादुर सारुको मृत्यु भएको हो ।

– धरानको विजयपुर अस्पतालबाट विराटनगर रेफर गरिएकी ५ महिने शिशुको बाटोमा लाँदै गर्दा निधन भएपछि अस्पताल तोडफोडको प्रयास गरिएको छ । रेफर गर्नुपर्ने बिरामीलाई अस्पतालले ढिलाइ गरिदिँदा निधन भएको आफन्तको आरोप छ । सुनसरी रामधुनी–७ पञ्चायनकी ५ महिने शिशु साहिरा कार्कीको विरानटगर लाने क्रममा मृत्यु भएको हो ।

– कैलालीमा नक्कली प्रहरी बनेर रकम असुल्ने तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङ खप्तड छान्ना गाउँपालिका १ घर भएका आल धनगढी उप-महानगरपालिका-७ मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका ५ हसनपुर बस्ने ३५ वर्षीय गौरव हमाल र कन्चनपुर पुनर्वास नगरपालिका ५ घर भइ धनगढी उप महानगरपालिका १ बस्ने ३३ वर्षीय किशन सिजापती पक्राउ परेका हुन्।

– काठमाडौंको दरबारमार्गबाट स्कुटर चोरी गरेर लैजाँदै गरेको अवस्थामा कलंकीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोर्खाको सुलीकोट गाउँपालिका–१ का मिलन न्यौपाने रहेका छ्न् ।

– एचआइभी संक्रमणबाट रुपन्देहीमा एक वर्षमा ३४ जनाको मृत्यु भएको छ । एचआइभी एड्सको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एड्स हेल्थ फाउण्डेसन क्षेत्रीय कार्यालय बुटवलका अनुसार मृत्यु हुनेमा २७ पुरुष र ७ जना महिला छन् । मृत्यु हुनेमा ८० प्रतिशत बढी रुपन्देहीमा रहेका फाउण्डेसनले बताएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापित एआरटी सेन्टरमा १ हजार २ सय २० जना एचआइभी संक्रमितले नियमित औषधी सेवन गरिरहेका र ती मध्ये ९ सय ७३ जना रुपन्देहीका हुन् ।

– आज विहान साढे १ बजे इटहरी ९२ आँपगाछीस्थित कोशी राजमार्गमा काठमाण्डौबाट खाँदबारी जाँदै गरेको बस अनियन्त्रित भई दुर्घट्ना हुँदा ६ जना घाइते भएका छन् । उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । संखुवासभाका ४ जना, तेह्रथुम १ र धरानको १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

– सूचना पाएको आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको दरबारमार्गबाट राति हराएको मोटरसाइकल बिहान ३ः०० बजेको समयमा कलङ्कीमा फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा गोरखाका मिलन न्यौपाने रहेका छन् ।

– पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरको पछाडि सवार बेलबारी नगरपालिका–१ बस्ने ५९ वर्षीय दिलबहादु खड्का रहेका छन् । ट्रकको ठक्करबाट स्कुटर चालक सोही ठाउँ बस्ने ५५ वर्षीय नरबहादुर खड्का पनि घाइते भएका छन् ।

– पुस्तकमा कर लगाउने सरकारको निर्णयविरुद्ध विद्यार्थी आन्दोलित भएका छन् । पुस्तक आयातमा सरकारले १० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेपछि त्रिचन्द्र कलेजका विद्यार्थीले बुधबार सडकमै सरकारविरुद्ध प्रदर्शन गरेका छन् । विद्यार्थीले कर लगाउन नहुने भन्दै हस्ताक्षरसमेत संकलन गरेका छन् ।

Share This: