Tuesday, February 25th, 2020
डण्डीफोरको प्रकृति अनुसार सही उपचार

डण्डीफोरको प्रकृति अनुसार सही उपचार

गलत खानपान, प्रदूषण, धेरै मेकअप प्रयोग गर्नु वा बढी तनाव लिनुले गर्दा अनुहारमा डण्डीफोर आउनु सामान्य बन्दै गई रहेको छ । प्रायः सबैको अनुहारमा डण्डीफोर आउने गर्छ तर त्यो डण्डीफोरको आकार भने फरक हुन्छ । प्रायः हामी सबै प्रकारको डण्डीफोरको उपचार भने एकै तरीकाले गर्न खोज्छौ, जुन गलत हो । अनुहारमा आएको डण्डीफोर कस्तो प्रकारको हो, त्यो थाहा पाएर मात्र यसको उपचार गर्नु उपयुक्त हुन्छ । गलत उपचार गरियो भने डण्डीफोर निको हुनुको सट्टा झन् ठुलो हुन सक्छ । त्यसैले सर्वप्रथम डण्डीफोरको बारेमा जान्नु आवश्यक हुन्छ ।

डण्डीफोरको प्रकार

१. पेप्युल्स

२. पुस्टुल

३. नोडुल्स

४. अल्सर वा शिष्ट

५. ब्ल्याकहेड्स

६. व्हाइटहेड्स

डण्डीफोर अनुसारको सही उपचार

पेप्युल्सः अनुहारमा रातो सानो दाना जुन धेरै चिलाउँछ, यसलाई पेप्युल्स भनिन्छ । यस्तो डण्डीफोर अनुहारको रोम छिद्र बन्द हुनाले आउँछ । यस्तो डण्डीफोरमा पटक पटक हातले छुनु हुँदैन । यस्तो डण्डीफोर हटाउन स्याउको भिनेगर लगाउन सकिन्छ । स्याउको भिनेगरले ब्याक्टेरिया समाप्त पारी छालाको पिएचलाई सन्तुलित राख्छ साथै यसको रोमछिद्रको पनि सरसफाइ हुन्छ । अनुहार पखाले पछि भिनेगरमा पानी मिसाई फेसवासको रूपमा अनुहारमा लगाउनुहोस् र १० मिनेट पछि अनुहार पखाल्नुहोस् ।

पुस्टुलः ठुलो आकारको डण्डीफोर जसको टुप्पोमा हल्का पहेँलो हुन्छ, यसलाई पुस्टुल भनिन्छ । यसलाई सावधानी पूर्वक फुटाएर भित्रको पीप निकालेर निको पार्न सकिन्छ । तर यसो गर्दा पीप वरिपरिको छालामा दलिएर ब्याक्टेरिया फैलिन्छ, जसले गर्दा अरू ठाउँमा पनि डण्डीफोर आउन सक्छ । यस्तो अवस्थामा यसलाई हटाउन घरेलु उपाय अपनाउनु उपयुक्त हुन्छ । निमको पात यस्तो डण्डीफोरबाट मुक्ति पाउने उपयुक्त तरिका हो । यसका लागि निमको पात पानीमा उमालेर दिनमा ३, ४ पटक डण्डीफोर सफा गर्नुहोस् वा निमको पात पिसेर पेस्ट बनाई अनुहारमा लगाउनुहोस् ।

नोडुल्सः नोडुल्स वा ब्लाइन्ड पिम्पल एक्नेको खतरनाक रूप हो । यो छालाको बाहिर होइन भित्र हुन्छ । यस्तो डण्डीफोरको मुख कतै देखिँदैन । धेरैजसो यस्तो डण्डीफोरमा पीप हुँदैन र यो कडा हुन्छ । डण्डीफोर थिच्दा दुख्ने गर्छ । यदि डण्डीफोर दुख्छ भने बरफले मसाज गर्नुहोस् र सलिसीक्लिक क्लिन्जरले अनुहार सफा गर्नुहोस् । त्यसपछि आइस ब्याग १ घण्टामा २, ३ पटक डण्डीफोरमा दल्नुहोस् । यसबाट डण्डीफोर चिसो हुन्छ र दुखाई कम हुन्छ ।

अल्सर वा शिष्टः यस्तो डण्डीफोर छाला भित्र आउँछ र यसमा पीप हुन्छ । त्यसले गर्दा अनुहार हलुका सुन्निएको जस्तो देखिन्छ । यो दुख्ने हुन्छ । यस्तो डण्डीफोरमा अलिकति तेल वा बेसार तताई लगाउनुहोस् । यसमा भएको एन्टीसेप्टीक गुणले दुखाई कम गर्न‘का साथै पिम्पल पनि हटाउँछ ।

ब्ल्याकहेड्सः नाकमा देखा पर्ने ब्ल्याक हेड्स रोमछिद्रमा सिबम जम्मा हुनाले देखा पर्छ । यसमा डण्डीफोरको मुख खुल्ला हुन्छ र यो अन्य पिम्पल जस्तो सुन्निँदैन । सर्वप्रथम यसमा एन्टीसेप्टीक क्रिम लगाउनुहोस् वा केही घरेलु उपाय अपनाउनुहोस् । यसका लागि १÷४ कप दलिया, २ चिया चम्चा दही, २ चिया चम्चा मह र २ चिया चम्चा जैतुनको तेल मिसाई पिसेर पेस्ट बनाउनुहोस् । उक्त पेस्ट अनुहारमा लगाउनुहोस् । ५, ७ मिनेट पछि सफा पानीले अनुहार पखाल्नुहोस् ।

व्हाइटहेड्सः व्हाइटहेड्स छालाको बाहिरी आवरणमा हल्का सेतो आवरण जस्तो हुन्छ । यसलाई बन्द कोमडोन पनि भनिन्छ । यसबाट छुटकारा पाउन एन्टीसेप्टीक क्रिम वा चन्दन पाउडर प्रयोग गर्न सकिन्छ । यसका लागि १÷२ चिया चम्चा चन्दन पाउडरमा १ चिया चम्चा डिस्टिल वाटर हालेर मिसाउनुहोस् । अब यसलाई निधार तथा चिउँडोमा लगाएर ५ मिनेट त्यतिकै छोड्नुहोस् । त्यसपछि
मनतातो पानीले पखाल्नुहोस् ।

Share This: