Tuesday, February 25th, 2020
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– अघिल्लो आर्थिक वर्षको पुससम्म २९ प्रतिशत बढेको बैंकहरूको खुद नाफा यस वर्ष साढे ६ प्रतिशतमा सीमित भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २७ वाणिज्य बैंकले ३२ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्षको दोस्रो त्रैमासको तुलनामा गत पुससम्मको नाफा करिब साढे ६ प्रतिशत मात्र बढेको हो ।

– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ मध्ये ६२३ पालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न एक साताभित्र २ अर्ब ६३ करोड रुपैयाँ निकासा गर्ने भएको छ । मन्त्रालयमा कार्यक्रम पेस नगरेका १३० पालिकाले भने कार्यक्रमको बजेट तत्काल नपाउने मन्त्रालयले बताएको छ । अर्थ मन्त्रालयले श्रम मन्त्रालयको प्रस्तावलाई यसै साता स्वीकृत गरी रकम निकासा गर्ने निर्णय गरेको छ ।

– नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमले ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन खुलाएका छन् । विद्युत प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्म र वायुसेवा निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्म स्थायी कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशित गरेका हुन् । दुवै संस्थामा एसएलसी वा सो सरहको तह उत्तीर्ण गरेकालाई समेत अवसर छ । प्राधिकरण र निगम दुवैमा यही २२ गतेभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ ।

– चुनावमा जाँदा तत्कालीन एमाले र माओवादी केन्द्रले संयुक्त घोषणापत्रमा आफ्नो सरकार बने दुई वर्षभित्र भूकम्पछिको पुनर्निर्माण सक्ने प्रतिबद्धता जनाएका थिए । तर सरकारको दुईवर्षे कार्यकाल पूरा हुँदै गर्दा पुनर्निर्माणको काम भने बल्ल ६२ प्रतिशत मात्र सकिएको छ । २५ प्रतिशत काम जारी छ भने १३ प्रतिशत काम सुरु भएको छैन ।

– दुर्घटनाबाट मृत्यु वा घाइते भएमा यात्रुले पाउने बिमा रकम बढाउने भनिए पनि त्यसको प्रक्रिया अघि बढेको छैन । यातायात क्षेत्रको सिन्डिकेट खारेजीपछि यात्रु बिमा नीति परिमार्जन गरी बिमा रकम (बिमांक) बढाउने सरकारको तयारी थियो । त्यसका लागि यातायात व्यवस्था विभाग र बिमा समितिबीच छलफल पनि भएको थियो । तर पछिल्लो समय सो प्रक्रिया अघि बढ्न सकेको छैन । लामो समयसम्म प्रक्रिया अघि बढ्न नसक्दा यात्रु बिमाको सीमा वृद्धि अन्योलमा परेको हो ।

– बजारमा ‘एयर–फिल्टर मास्क’ को माग बढ्दो छ । चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्कको माग बढेको सरोकारवाला बताउँछन् । भाइरसको प्रकोपकै कारण दुई सातायता मास्क आयात हुन सकेको छैन । बजारमा मास्क पाइँदैन पनि । अहिले नेपालमा दुई उद्योगले मात्र मास्क उत्पादन गरिरहेका छन् । तिनले यहाँको माग भने धान्न सकेका छैनन् । त्यसैले आयातकै भर पर्नुपरेको उद्योगीहरू बताउँछन् ।

– मुलुकमा लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि प्रतिव्यक्ति ऊर्जा खपत पनि बढेको छ । तीन वर्षअघि प्रतिव्यक्ति ऊर्जा खपत एक सय ५० युनिट रहेकोमा चालु आर्थिक वर्षको (आव) पहिलो ६ महिनामा बढेर दुई सय ६७ युनिट पुगेको हो ।

– बागमती प्रदेश सरकारले किसानलाई ठूलो अंकको अनुदान रकम वितरण गर्ने सम्झौता गरेको छ । भूमि, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय हेटौंडाले व्यावसायिक रूपमा काम गर्ने १० कृषि फार्मलाई एक करोड रुपैयाँका दरले अनुदान वितरण गर्न लागेको हो ।

– कालीमाटी तरकारी तथा फलफूल बजारमा शुक्रबार गरिएको नमूना परीक्षणमा तरकारीहरुमा विषादी प्रयोगको मात्रा न्यून मात्रामा पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौ, घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वर, खाद्य प्रविधि तथा गुण नियान्त्रण विभाग, विषादी अवशेष मापन केन्द्र र काठमाडौं महानगरपालिको संयुक्त टोलीले गरेको गरेको निरीक्षणमा तरकारीमा विषादीको मात्रा न्यून रहेको पाइएको हो ।

– अर्थतन्त्र सुस्ताउनुमा अमेरिकी सहयोग भित्र्याउने प्रक्रिया ढिलाइ एक प्रमुख कारण भएको अर्थमन्त्री डा।युवराज खतिवडाले बताएका छन्। उनले बुधबार सार्वजनिक गरेको यो वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा मिलेनिएम च्यालेन्ज कर्पोरेसन (एमसीसी) रोकिनुलाई बजेट खर्च घट्नुको प्रमुख कारण मानिएको छ।

– महाशिवरात्रि सप्ताहको अवसरमा फागुन ६ गतेदेखि सिम्रिक एयर हेलिकप्टरले गोसाइँकुण्डको आरामदायी यात्रा सुरु गर्ने भएको छ । सिम्रिक एयरले प्रति व्यक्ति १९ हजार ९ सय ९९ रुपैयाँ टिकट दर तोकेको छ। जसमा बुढानिलकण्ठ, रुद्रेवर चोकबाट बन्देलीको हेलीप्याडसम्म दुई तर्फी हुनेछ । साथै भक्तजनका लागि खानाको समेत व्यवस्था गरिएको छ ।

– महोत्तरी जिल्लाको हाटबजारमा सिक्का पैसा चल्न छाडेको छ। जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडिएको उपभोक्ताले गुनासो गरेका छन्।

– स्थापनाको २ वर्षपछि बागमती प्रदेशले बल्ल गति लिन थालेको छ । प्रदेश सरकारले ऐनकानुन निर्माण र सरकार व्यवस्थापन सकेको छ भने महत्त्वाकांक्षी योजना निर्माण सुरु गरेको छ । बागमतीले सरकारलाई स्थायित्व, प्रदेशको नाम र राजधानी टुंगो लगाउनुलाई प्रदेश सरकारले मुख्य उपलब्धि भनेको छ । प्रदेश सरकारले बुधबार दोस्रो वार्षिकोत्सव मनाएको छ ।

– सरकारले कुल खर्चमध्ये ६७ प्रतिशत राजस्व स्रोतबाट बेहोर्ने भएको छ। अर्थ मन्त्रालयले यसअघि ६४ प्रतिशत खर्च राजस्वबाट व्यहोर्ने अनुमान गरेको थियो। बजेटको मध्यावधि समीक्षा गर्ने क्रममा यसलाई बढाएर ६७ प्रतिशत पुर्याएको हो।

– सरकारले शिशिरकुमार ढुंगानालाई अर्थसचिवमा पदस्थापना गरेको छ। माघ २२ मा अर्थसचिव राजनखनाल सेवानिवृत्त भएपछि ढुंगानालाई नियुक्त गरिएको हो। ढुंगाना यसअघि राजस्व सचिवका रूपमा अर्थ मन्त्रालयमा कार्यरत थिए। ढुंगाना कात्तिकको पहिलो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थ मन्त्रालयमा राजस्व सचिवका रूपमा भित्रिएका थिए।

Share This: