Tuesday, February 25th, 2020
विदेशमा आज

विदेशमा आज

– जापानमा कोरोना संक्रमण भएकी एक वृद्धाको मृत्यु भएको छ । जापानका स्वास्थ्यमन्त्री कातसुनोबु कातोका अनुसार ८० वर्ष पार गरेकी ती वृद्धा टोकियो सिमा पारी रहेको कानागावाकी हुन्।

– चीनको हुबेइ प्रान्तको वुहानबाट शुरु भएको कोरोनाभाइरसबाट सङ्क्रमित भई ज्यान गुमाउनेको संङ्ख्या शुक्रबारसम्म करिब १ हजार ४ सय पुगेको छ। शुक्रबार चीनको भाइरस महामारीको कारण मर्नेको संख्या १ हजार ३ सय ८० पुगेपछि अमेरिकाले बेइजिङबाट पारदर्शिताको अभाव भएको गुनासो गरेको छ। पछिल्लो समयमा निको भएर घर फर्किएका बाहेक हाल सङ्क्रण भइ उपचार गराइरहेका बिरामीको सङ्ख्या झन्डै ६५ हजार पुगेको छ।

– ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ७० पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले यो ज्वरोबाट ज्यान जानेको सङ्ख्या थप बढ्न सक्ने जनाएको छ। यहाँ उक्त ज्वरोको प्रकोप प्रतिदिन बढ्दो मात्रामा रहेको पनि बताइएको छ।

– टर्कीका सैनिकले सिरियाको इदलिबमा गरेको आक्रमणमा ५५ सिरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । सिरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा भएको घटनामा परी उनीहरू मारिएको टर्कीका अधिकारीले जानकारी दिएका छन् ।

– कोरोना भाइरसको महामारी फैलिएको चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ । पछिल्लो समय चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेपछि अस्ट्रेलियाले उक्त निर्णय गरेको जनाएको छ ।

– बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ऋषि सुनकलाई अर्थमन्त्रीको रुपमा नियुक्त गरेका छन् । ३९ वर्षीय सुनक यसअघि मुख्यसचिवको भुमिकामा थिए । सजिद जबिदले राजीनामा दिएपछि सुनक अर्थमन्त्रीको रुपमा आएका हुन् । जबिदले यही बिहीबार राजीनामा दिएपछि सुनकले नयाँ जिम्मेवारी पाएका हुन् ।

– लिबियन सेनाले संयुक्त राष्ट्रसंघीय उडानलाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ । त्रिपोलीको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई यहाँको सेनाले राष्ट्रसंघलाई प्रयोग गर्न नदिने भनेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले युद्धरत देशले युद्धविराम घोषणा गर्नुपर्ने संकल्प प्रस्ताव पास गरेको केही घण्टामै लिबियन सेनाले नयाँ घोषणा गरेको हो ।

– अफगानिस्तानको दायकुन्डी प्रान्तस्थित हिम पहिरोका कारण सात जनाको मृत्यु भएको छ । जसमध्ये चारजना एकै परिवारका छन् । सोही परिवारका एकजनाको भने उद्धार गरिएको छ । पहिरोमा दुईजना वेपत्ता छन् । सोही क्षेत्रमा अर्को हिमपहिरोमा तीनजनाको मृत्यु भएको हो । राजधानी काबुलबाट २ सय ९० किलोमिटर टाढा पर्ने एक गाउँमा बुधबार राति हिमपहिरो आएको थियो ।

– पाकिस्तान एयरफोर्सको जहाज दुर्घटना भएको छ । दुई महिनाभन्दा छोटो समयमै एयफोर्सको यो तेस्रो दुर्घटना हो । पाकिस्तानी एयरफोर्स प्रवक्ताका अनुसार उक्त जेट तालिमका लागि उपयोग गरिएको थियो । खैबर पख्तुनवा प्रान्तस्थित मर्दन जिल्लाको तख्त भाइ क्षेत्र नजिकै जेट दुर्घटना भएको हो ।

– भारतको फिरोजाबादस्थित आगरा–लखनऊ सडकखण्डमा बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । दिल्लीबाट बिहारको मोतिहारी आउँदै गरेको बस एक्कासी ट्रकको पछाडि ठोक्किँदा ट्रकका चालकसहित बसमा सवार १३ जनाको मृत्यु भएको हो ।

– कुबेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको मृत्यु भएको छ । दुई जना नेपालीहरु घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मृतक अन्य दुई जनाको भने विवरण स्पष्ट भएको छैन । यसैगरी धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् ।

– वैज्ञानिकहरुले अन्टार्क्टिकामा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको बताएका छन् । अन्टार्क्टिका महाद्वीपमा पहिलो पटक २०.७५ डिग्री सेल्सियस (६९.३५ डिग्री फहरेनहाइट) मापन गरिएको अनुसन्धानकर्ताहरुले बिहीबार जानकारी दिएका छन् ।

– अफगानिस्तानको विद्रोही समूह तालिवान तत्कालका लागि हिंसात्मक कारबाही रोक्न सहमत भएको छ । अमेरिकासँगको वार्ताका क्रममा तालिवानले हिंसात्मक घटना रोक्ने तथा स्थायी शान्ति स्थापनाका लागि क्रियाशील रहनेबारे प्रस्ताव गरेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्विटरमार्फत जनाएका छन् ।

– चीनले हङकङ र मकाउ मामिला हेर्ने आफ्ना उच्च अधिकारीलाई बर्खास्त गरेको छ । हङकङ र मकाउ मामिला कार्यालय ९एचकेएमएओ० का निर्देशक झाङ सियाओमिङलाई हटाएर सिया बाओलङलाई ल्याइएको मानव संसाधन मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै महिना हुने भारत भ्रमणमा सुकुम्बासी बस्ती नदेखियोस् भनेर अहमदाबादमा धमाधम पर्खाल लगाइँदै छ । ट्रम्प दुईदिने भ्रमणका लागि फेब्रुअरी २४ मा भारत आउँदै छन् । ह्युस्टनमा गत सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘हाउडी मोदी’ भन्दै स्वागत गरेका ट्रम्पको स्वागतमा अहमदाबाद रंगशालामा ‘केम छो ट्रम्प (हाउ आर यु, ट्रम्प) कार्यक्रम हुने तय गरिएको छ ।

Share This: