Saturday, February 22nd, 2020
राजनीतिमा आज

राजनीतिमा आज

– राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा शुक्रबार निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट थलिएका उनको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको प्रदेशसभा सदस्य फकरुद्दिन खानले जानकारी दिए।

– प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गर्ने भनिएको सम्बोधन सरेको छ । नेपाली काङ्ग्रेसका राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएपछि २ बजे बस्ने बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाका सचिवले जानकारी दिनुभयो ।

– नेपाली सेनाको मुख्यालय पुनर्निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ। जंगी अड्डा मुख्यालय निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको उजुरीपछि समितिले चासो देखाएको हो।

– सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँँस्कोटाले सीजी टेलिकमलाई दूरसञ्चार पूर्वाधार विकासका लागि उपलब्ध गराएको रकमबाट भएको कामको छानविन हुने बताउनुभएको छ । सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले विश्व बैंकसँग ऋण सहयोग लिएर उपलब्ध गराइएको एक करोड १८ लाख ६५ हजार अमेरिकी डलरबाट भएको कामकारबाहीको विवरण खोजिने बताउनुभएको हो ।

– पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालाबारे दिएको अभिव्यक्तिमाथि कांग्रेसले आपत्ति जनाएको छ । नेपाली कांग्रेसले बिहीबार विज्ञप्ति निकाल्दै प्रचण्डको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाका अध्यक्ष प्रचण्डलेले बिहीबार तत्कालिन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफूलाई फौजी आक्रमण बढाइदिन आग्रह गरेको दावी गरेका थिए ।

– सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण १५ दिनभित्र पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।

– प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरुलाई शुक्रबार ललिपुरमा दर्ज्यानी चिन्ह प्रदान गदैं प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुशासित युवाको आवश्यकता रहेको बताए ।

– मुख्यमन्त्री लालबाबु राउतले महिला र पुरुष समान ढंगले अगाडि नबढेसम्म समाजको विकास हुन नसक्ने बताएका छन् । गोतामे पत्रकारिता स्वर्ण पदक वितरण समारोहमा बोल्दै मुख्यमन्त्री राउतले दुवैलाई समान ढंगले अगाडि बढाउन प्रदेश सकारले प्रयास गरिरहेको बताए ।

– कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकको समाचार संकलन गर्न पत्रकारहरुलाई रोक लगाइएको छ । कृषि समितिको बैठक औपचारिक रुपमा सुरु नहुँदै फोटो र भिडियो खिच्न दिएर पत्रकारहरुलाई बाहिर निकालिएको छ ।

Share This: