Saturday, February 22nd, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले शुक्रबार आफैंलाई पेटमा गोली हानी गम्भीर घाइते भएका हुन् ।

– मोरङको छुट्टा छुट्टै स्थानमा दुई जना पुरुषको शव फेला परेको छ । पथरी शनिश्चरे नगरपालिका – ४ स्थित सम्झना चोकमा रहेको बजारमा स्थानीय ५५ वर्षिय प्रबल गिरी बिहीबार मृत भेटिएका हुन् । त्यस्तै शुक्रबार लेटाङ १ धोबीघाटका ६४ वर्षीय बलबहादुर लामिछाने मगर मृत भेटिएका छन् ।

– खोला उत्खननको बिरोध गर्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका दिलीपकुमार महतोको हत्यामा संलग्न आरोपित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । क्रसर उद्योगी बिपिन महतो, टिपर चालक मुनिन्द्र महतो र लोडर चालक जितेन्द्र महतोलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । यस्तै, रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतोलाई २५ हजार धरौटी लिएर साधारण तारेखमा रिहा गर्ने आदेश दिइएको छ ।

– धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट स्कुटर चालक सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका–१ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमै मृत्यु भएको र स्कुटरमा पछाडि सवार एक घाइते भएका छन् ।

– कैलालीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-६ बनभेडास्थित पूर्वपश्चिम राजमार्गमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-४ रामशिखरझालाका २८ वर्षीय भुवन चन्दको मृत्यु भएको हो ।

– धनुषाको महेन्द्रनगरमा तीन जनाको ज्यान जाने गरी दुई महिना अगाडि भएको बम बिष्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ सदस्य इन्दल प्रसाद साह छन् ।

– डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेली २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले कावासोती नगरपालिका–८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट उक्त रकम घुस लिइसकेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको हो ।

– कैलालीको धनगढीमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१५ का २२ वर्षीय बिछोड चौधरी रहेका छन् । धनगढी उपमहानगरपालिका-१ वसन्त टोलमा घर निर्माणको काम गरिरहेका बेला अचानक करेन्ट लाग्दा उनी घाइते भएका थिए ।

Share This: