Wednesday, April 8th, 2020
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै ५० दिनदेखि बन्द चीनतर्फको रसुवागढी र तातोपानी नाका खोल्न सरकारले गृहकार्य थालेको छ ।चिनियाँ पक्षले माघ १५ देखि बन्द यी दुई नाका खुलाउनुपर्ने दबाब बढाएपछि त्यसको गृहकार्य सुरु भएको हो ।

– कोभिड–१९ को संक्रमण भित्रिने हो कि भन्ने डरले पछिल्लो समय काठमाडौं उपत्यकाबाट घरतर्फ जानेहरू बढेका छन् । काठमाडौंका नयाँ बसपार्क, कोटेश्वर, कलंकी र सुन्धारालगायत काउन्टरमा टिकट काट्ने यात्रुको भीड छ । पछिल्लो दुई दिनयता टिकट काट्ने यात्रुको संख्या ह्वात्तै बढेको यातायात व्यवसायी बताउँछन् ।

– कोभिड–१९ को त्रास फैलिएसँगै पर्यटक आउन छाडेपछि धेरै होटल तथा रेस्टुरेन्ट क्षेत्र समस्यामा परिरहेका छन् । धेरैले कामदार तथा कर्मचारी कटौती गरी सामान्य सेवा सञ्चालन गरिरहेकामा केही दिन अघिदेखि भने पूर्ण रूपमा बन्द नै गर्नुपरेको छ ।

– डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा परेका उद्योगहरूको विद्युत् तत्काल नकाट्न तीन मन्त्रीस्तरीय समन्वय समितिले निर्देशन दिएको छ । डेडिकेटेड र ट्रंक लाइनको अतिरिक्त विद्युत् महसुल नतिरेको भन्दै विद्युत् प्राधिकरणले विराटनगरका दुई उद्योगको विद्युत् बुधबार काटिदिएको छ ।

– सरकारले इन्धनको मूल्य घटाएसँगै निजी वायुसेवा कम्पनीहरुले आन्तरिक उडानतर्फको भाडादर घटाएका छन् ।अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएसँगै इन्धनको मूल्य घट्दा हवाई इन्धनको मूल्य पनि घटेको हो ।

– उद्योग वाणिज्य महासंघले चैत २८ र २९ गर्ने भनिएको चुनाव स्थगित गरेको छ । सरकारले कारोना भाइरस ९कोभिड–१९० रोकथामका लागि कडाई गरेपछि महासंघले चुनाव स्थगित गरेको हो ।

– सरकारले दश बजार मेट्रिक टन चामल खरिद प्रक्रिया अघि बढाएको छ । बजारमा अत्यावश्यक बस्तुमा हुने कालोबजारीमा हस्तक्षेप गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिद प्रक्रिया अघि बढाएको हो । करिब ४३ करोड रुपैयाँ बराबरको उक्त परिमाणको चामल खरिदका लागि बोलपत्र आहृवान गरिसकिएको कम्पनीले जनाएको छ ।

– सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

– कोरोना भाइरस (कोभिड १९) का कारण असामान्य बनेको बजारलाई व्यवस्थित गर्न सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। पसल बनेपा, सूर्यविनायक, जडीबुटी, सतुंगल र कालीमाटीमा शुक्रबारदेखि यस्तो पसल सञ्चालन गरिनेछ।आइतबादेखि मोबाइल भ्यानमा पनि सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना छ।

– अमेरिकी डलरको भाउ हालसम्मकै उच्चविन्दुमा पुगेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय २० रुपैयाँ २८ पैसा बिक्रीदर तोकेको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो । अमेरिकी डलर बलियो बन्दा नेपाली रुपैयाँ भने इतिहासकै कमजोर बनेको छ ।

– अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना प्रभावित अर्थतन्त्र पुनर्स्थापना योजना अघि सारेका छन्। आपूर्ति शृंखलाको अवरोध, पर्यटन र वैदेशिक रोजगारमा परेको असरको मार खेपिरहेको नेपाली अर्थतन्त्र छिट्टै पुनस्र्र्र्थापना गर्न सकिने उनले बताए। पर्यटन उद्योगलाई राहत दिने तथा वैदेशिक रोजगारको असर न्यूनीकरण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बढी अवसर सिर्जना गर्ने तथा कल्याणकारी कोष परिचालन गरिने उनले बताए।

– सोलुखुम्बुस्थित पर्यटकीय क्षेत्र नाम्चेका होटल तथा लज अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । विश्वव्यापी रूप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणप्रति सतर्क रहँदै नाम्चेमा रहेका होटल तथा लज बन्द गरिएको हो ।

– नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान चैत ७ गतेको मध्यरातदेखि लागु हुने गरी स्थगित गरेको छ। कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयअनुसार ती दुई गन्तव्यको नियमित उडान चैत ३० गतेसम्म स्थगित गरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

– सरकारको काम गरेर भुक्तानीका लागि काटिएका मध्ये गत आर्थिक वर्ष एक अर्ब रुपैयाँका चेक साटिएनन्। भुक्तानीमा ढिलाइ र समयमा सम्बन्धितसम्म निकायमा चेक नपुगेकाले नसाटिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

Share This: