Wednesday, April 8th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले भक्तपुरमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ खानिखोला गाउँपालिका-१० घर भइ भक्तपुर मध्यपुरठिमी–१ लोकन्थली बस्ने ३६ वर्षीय अप्सरा बास्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका-२ घर भइ लोकन्थलीमै बस्ने ३४ वर्षीय सुनिता सुब्बा र १८ वर्षीय एनिहा सुब्बा रहेका छन् । खोटाङको दिक्तेल-३ पिनालाखा घर भइ मध्यपुरठिमी-१ मनहरामा बस्दै आएकी ३५ वर्षीय विमला राईलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

– पर्साको पकहामैनपुर गाउँपालिका–१ धोरेबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प पकहा मैनपुरले धोरेको दक्षिणतर्फ रहेको झाडीबाट पेस्तोल बरामद गरेको हो ।

– यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएको आरोपमा प्रहरीले काठमाडौंबाट २३ जनालाई पक्राउ गरेको छ । काठमाडौं बाहिर जाने यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएको आरोपमा बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेशप्रसाद साह लगायत २३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

– कोरोना भाइरस संक्रमणको त्रासको असामान्य अवस्थामा नेपालका दुई दर्जन भन्दा बढी साप्ताहिक पत्रिका बन्द हुने भएका छन् । पत्रिकाका सम्पादकले सामूहिक सूचना निकालेर कोरोना भाइरस त्रासका कारण उत्पन्न परिस्थितिका कारण पत्रिका बन्द गरेको जानकारी गराएका छन् । यसरी बन्द हुने पत्रिकामा जनआस्था, दृष्टि, देशान्तर साँघु, बुधबार, तरुण, हाँक, घटना र विचार, जनआह्वान, तामाकोशी, राष्ट्रवाणी, समयवद्ध, मधेशवाणी, जनधारणा, पिपुल्स रिभ्यू, नेपालीपत्रलगायत रहेका छन् ।

– प्रहरीले वीरगञ्जबाट चार लाख ४४ हजार अवैध रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला रक्सौल–१४ बस्ने २४ वर्षीय बब्लु राज रहेका छन् । अवैध हुण्डी कारोबार गरी राखेको छ भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले बिहीबार साँझ ५ बजेतिर उनलाई पक्राउ गरेको हो ।

Share This: