Wednesday, April 8th, 2020
जीतका लागि संघर्ष

जीतका लागि संघर्ष

जीवन फूल जस्तो हुँदैन र जीवन काँडा पनि होइन । जीवन एउटा संघर्षको यात्रा हो, जसमा हिड्दा अवरोध त आउँछ नै । जसले ति अवरोधलाई बेवास्ता गरि अघि बढ्छ , उहि नै विजेता कहलाउँछ । विभिन्न प्रसिद्ध व्यक्तिहरुको ईतिहास हेर्ने हो भने यसको उदाहरण प्रशस्तै भेटिन्छ ।

अब्राहम लिंकनले २१ वर्षको उमेरमा व्यापार गरेका थिए तर असफल भए । त्यस पछि विद्यानसभाको चुनावमा लडे तर त्यहाँ पनि हारे । पूनः एक पटक फेरि व्यापार गर्ने प्रयास गरे तर भाग्यले साथ दिएन । त्यसबेला उनी २४ वर्षका थिए । त्यसको दूई वर्ष पछि उनको श्रीमतीको मृत्यु भयो । त्यसको एक वर्ष पछि २७ वर्षको उमेरमा लिंकनको नर्वस ब्रेक डाउन भयो, जुन निको हुन केहि वर्ष लाग्यो । त्यसपछि उनले फेरि अमेरिकन काँग्रेसको चुनाव लडे र हारे । त्यसबेला उनी ३४ वर्षका थिए । त्यसपछि ४५ वर्षकोउमेरमा उनले सीनेटको चुनाव लडे तर हारे । फेरि अमेरिकाको उपराष्ट्र पदका लागि प्रयास गरे तर असफल रहे । त्यसको दूई वर्ष पछि फेरि सीनेटको चुनाव लडे र फेरि हारे । उनको हिम्मत लगातार ३१ वर्ष असफल हुँदा पनि डगमगाएन र अन्त्यमा ५२ वर्षको उमेरमा अब्राहम लिंकन संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बने र देशको सर्वोच्च संवैधानिक पदमा विराजमान भए ।

थोमस एल्वा एडीसनलाई स्कूलबाट निकालिएको थियो । अध्यापकहरुका अनुसार उनी मूर्ख थिए, जसले पढ्नै सक्दैन थियो । उही थोमस एक महान बैज्ञानिकका रुपमा चिनिन सफल भए । जसले अनेकौ नयाँ आविष्कार गरे ।

बीथोवन लाटो र बहिरो थिए । किशोरावस्थामा हुँदा उनलाई संगीतमा निकै रुचि थियो । उनी एक संगीतकार बन्न चाहन्थे तर संगीतका उस्तादका अनुसार उनमा एउटा कुशल संगीतकारमा हुने कुनै संभावना थिएन तर संघर्ष यस्तो शक्ति हो, जसका कारण उनले संसारलाई श्रेष्ठ संगीत दिन सफल भए ।

पौडी खेलाडी शैलिमान सानैमा पोलियो ग्रस्त थिइन् । उनलाई ५ वर्षकै उमेरमा पौडिन सिकाइयो । जसबाट उनको मांसपेसी र स्नायू प्रणालीमा संचार होस् र शरिरमा केहि बल मिलोस् । पौडिदा पौडिदै उनको बालमनमा एक कुशल पौडी खेलाडी बन्ने चाहना पलायो र तिनै पोलियो ग्रस्त शैलिमानले अन्तर्राष्ट्रिय स्तरको पौडी खेलमा ३ पटक विश्व रेकर्ड कायम राखिन् । उनले १९५६ को मेलबोर्न
ओलम्पिकमा स्वर्ण पदक पनि जितेकी थिइन् ।

यस्तै कथा रहेको छ विल्मा रुडोल्फको निकै गरिब घरमा जन्मिएकी रुडोल्फ ४ वर्षको हुँदा निमोनिया भयो । तीव्र ज्वरोका कारण उनी पोलियो ग्रस्त भइन् । सन् १९६० को ओलम्पिकमा उनी १०० मीटरको दौडमा प्याराल्याटिक खेलाडीको रुपमा सहभागी भइन् र जितिन् । उनले आफूलाई एक श्रेष्ठ धावकका रुपमा चिनाइन् ।

हाम्री नेपाली चेली झमक घिमिरेको संघर्षको कथा पनि केहि हद सम्म यस्तै नै रहेको छ । मध्यमवर्गीय परिवारमा जन्मिएकी उनी पनि सानैमा मष्तिस्क पक्षघातबाट पीडित भइन् र बोल्ने शक्ति गुमाउनुका साथै हात पनि नचल्ने भयो । आफ्नै प्रयासमा खुट्टाले क ख लेखेकी उनले नेपाली साहित्यमा ठूलो योगदान दिएकी छिन् । उनी नेपालका विशिष्ट लेखकहरुमा पर्छिन् । उनले मदन पुरस्कार सहितका अन्य अनेकौ पुरस्कारहरु जितेकी छिन् । आज उनी शारीरिक रुपमा कमजोर भए पनि बौद्धिक रुपमा आम नेपाली भन्दा धेरै अगाडि छिन् । यी सबको पछाडि उनको लगातारको संघर्ष रहेको छ । जसले उनलाई सफल बनायो । यस्ता अनेकौ उदाहरण यस संसारमा छ । जहाँ मेहनत र निरन्तर अभ्यासबाट मानिसले विजय प्राप्त गरेका छन् । यसबाट प्रष्ट हुन्छ कि जीवनमा सफलता प्राप्त गर्नुको मूल मन्त्र निरन्तर संघर्ष गरिरहनु हो ।

मैदानमा लडिरहनु लाई P. Q. (Persistnce  quotient) भनिन्छ । हाम्रो मैदानमा रहिरहने क्षमता कति प्रतिशत छ त्यो जान्न P. Q. को मूल्यांकन गरिन्छ । यसको गणना घटना र उदाहरणको आधारमा हुन्छ । भनिन्छ वुद्धि भन्दा P. Q. वढि छ भने सफलता र उपलब्धीको अवसरमा वढि हुन्छ ।

Share This: