Wednesday, April 8th, 2020
राजनीतिमा आज

राजनीतिमा आज

– प्रधानमन्त्री केपी ओलीले आइतबार अपरान्ह मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीले आइतबार पहिलोपटक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। बैठक दिउँसो ४ बजे बस्ने जनाइएको छ। बैठकले गत शुक्रबार प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको घोषणालाई पनि अनुमोदन गर्ने छ। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका थप निर्णय गर्न प्रधानमन्त्रीले बैठक बोलाएको स्रोतले बतायो।

– कोरोना भाइरस (कोभिड १९) को जोखिम कम गर्न तथा रोकथामका लागि आइतबारदेखि अत्यावश्यक बाहेकका कार्यालय केही दिनका लागि बन्द गरिने भएको छ । कोरोनाको जोखिम कम गर्न आइतबारदेखि चैत २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने सरकारले निर्णय गरेको हो । २५ जनाभन्दा धेरै व्यक्तिलाई एकै ठाउँमा जम्मा नहुन पनि सरकारले आग्रह गरेको छ ।

– नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा सरकारसँगै रहेको जनाएको छ । कांग्रेसले कोरोना भाइरसविरुद्ध सरकारले अघि सारेका रणनीतिहरुको पालना गर्ने प्रतिबद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएको छ ।

– सरकारले लामो दूरीमा चल्ने निजी सवारीलाई नरोक्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको सम्बोधनमा चैत १० गतेबाट लामो दूरीका सबै किसिमका यात्रुबहाक सवारीलाई रोक्ने घोषणा गरेका थिए । यसलाई स्पष्ट गर्दै प्रधानमन्त्री कार्यालयले लामो दूरीमा यात्रा गर्ने यात्रुबाहक निजी सवारीलाई नरोक्ने बताएको छ । यसअघि यातायात व्यवस्था विभागले लामो दूरीमा कार र मोटरसाइकलमा पनि यात्रा गर्न नपाइने भनेको थियो ।

– कोरोना उपचार र रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री निर्यातमा सरकारले रोक लगाएको छ । सम्भावित जोखिममा आभाव नहोस भन्दै औषधि, मास्क, सेनिटाइजर, पीपीई र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पन्जा निर्यातमा रोक लगाएको भन्सार विभागले जनाएको छ ।

– कोरोना संक्रमण फैलिन नदिन प्रदेश २ का सीमानाकाहरु बन्द गरिएको छ । केहीलाई मात्र खुल्ला राख्दै अधिकांश सीमा नाकाहरु आइतबार बिहानैदेखि बन्द गरिएको हो । सप्तरीका कुल आठमध्ये ७ वटा सीमानाका बन्द गरिएको छ । कुनौली भन्सारबाहेकका सबै सीमानाका आइतबारदेखि बन्द गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

– सरकारले भारतीय सीमाबाट भित्रिएका सबै नेपाली नागरिकलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । त्यस्ता नागरिकको निगरानी गर्न नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई पनि आइतबार निर्देशन दिइएको हो ।

– विश्वभर फैलिएको कोभिड-१९ को महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवालाई बन्द गर्ने निर्णय गरेसँगै चन्द्रागिरि हिल्सले पनि आफ्नो केबुलकार सेवालाई बन्द गरेको छ ।

– सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैमा आग्रह गरेका छन् । प्रचण्डले आइतबार विज्ञप्ति जारी गरी विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायलाई अपिल गरेका हुन् ।

– नेकपाका सांसद पदम गिरीले जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब बुझाउने घोषणा गरेका छन् । नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य गिरीले आइसोलेसन वार्ड स्थापनाका लागि ३ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

Share This: